कोरोनाको विश्वव्यापी प्रभाव

कोरोनाको विश्वव्यापी प्रभाव

दिनेश गौतम/सुनिता कार्की। काठमाडौं : विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारी फैलिएरहेका बेला नेपालमा सतर्कताका लागि तयारी कमजोर देखिएको छ। नेपाल कोरोनाको उच्च जोखिममा रहे पनि पूर्वाधारलगायतका तयारी सुस्त छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमणको सम्भावित स्वरूप, परीक्षण, निदानलगायतमा सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। गृह मन्त्रालयका अधिकारीहरू चीन, भारत, युरोप, अमेरिकाजस्ता सम्पन्न देशबाट स्वास्थ्य जाँचका कयौं प्रक्रिया पार गरेर पर्यटक आउने हुँदा आत्तिनु नपर्ने बताउँछन्। प्रवक्ता केदारनाथ शर्माले विकसित मुलुकबाट भित्रिने पर्यटक पूर्ण चेकजाँच भएर आउने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘द्रुत गतिमा सतर्कता अपनाउनुपर्नेछ। पूर्वाधारलगायतका सवालमा युद्धस्तरमा तयारी गर्नुपर्ने खाँचो छ।’

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. हेमन्तचन्द्र ओझाले दैनिक नेपाल भित्रिने १० देखि १२ फ्लाइटका प्रत्येक यात्रुलाई थर्मल स्क्यानरले जाँच गर्ने बताए। उनका अनुसार त्रिभुवन विमानस्थलले प्यासेन्जर लोकेटर फर्म ल्याउने तयारी गरेको छ।

त्रिभुवन विमानस्थलमा ५ वटा हेल्थ डेस्कमा पर्यटकको परीक्षण भइरहेको छ। ज्वरो आएका र श्वासप्रश्वासमा समस्या देखिएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिन्छ। चीनबाट आएका एक जना नेपाली विद्यार्थीमा एक महिना अघि भाइरस पोजेटिभ देखिएको थियो। ३२ वर्षीय ती युवा अहिले स्वस्थ रहेको जनाइएको छ।

‘नेपाल भाइरसमुक्त भएको छैन’

कोरोना भाइरसको जोखिमबाट नेपाल मुक्त नभइसकेको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए। उनले भने, ‘सतर्कता र पूर्वतयारीका कार्यक्रम आवश्यक छ।’

आयातनिर्यातमा असरछिमेकी मुलुकमा कोरोनाको संक्रमण बढेपछि नेपालको आयात निर्यात, पर्यटन, वैदेशिक लगानी, रेमिट्यान्स र विकास निर्माणका क्षेत्रमा असर देखिन थालेका छन्। चीन, दक्षिण कोरिया, जापानलगायतका मुलुकमा संक्रमण बढेपछि श्रमबजारमा समेत प्रत्यक्ष असर देखिएको छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘न त हामी पर्यटक आवागमन रोक्न सक्छौं, न त आयात नगरी बाँच्न सक्छौं। परनिर्भर मुलुक भएकोले चुनौती धेरै छ।’

यस्तो छ तयारी संक्रमण प्रभावित मुलुकबाट उद्धार गरिएका नेपाली र पर्यटकको त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गरिन्छ। उपचारका लागि अस्पतालसम्म लैजान चौबीसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ।

उद्धार गरी ल्याइएका र पर्यटकका रुपमा आएका व्यक्तिको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरणपछि स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।

चीनबाट फर्किएका १ सय ७५ जना नेपाली अहिले भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेको क्यारेन्टाइनमा छन्। उनीहरुको थ्रोट स्वाव परीक्षण गर्दा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए।

नेपाल पनि जोखिममा

डब्लूएचओले नेपालले पनि कोभिड १९ सँग भिड्न साधनस्रोतको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको औल्याइएको छ। डब्लूएचओका अनुसार ४७ देशका ८२ हजार २९४ जना कोरोना १९ बाट संक्रमित छन् भने २८०४ जनाको मृत्यु भइसकेको छ।

डब्लूएचओका महानिर्देशक टेड्रस एडहानोम गेहबे्रयससले संक्रमणविरुद्धको लडाइँ निर्णायक चरणमा पुगेको बताएका छन्। उनले भनेका छन्, ‘चीनबाहिरको संक्रमणले चिन्ता बढाएको छ। कुनै पनि मुलुकले आफ्नो देशमा यो भाइरस पस्न सक्दैन भनेर बस्न मिल्दैन।’

डब्लूएचओले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, भुटान उच्च जोखिममा रहेको जनाएको छ। ‘विभिन्न मुलुकको स्वास्थ्य प्रणाली र पूर्वाधार क्षमतालाई दृष्टिगत गरेर नै जोखिमको वर्गीकरण गरिएको हो। आत्तिहाल्नुपर्ने अवस्था छैन ’, महानिर्देशक  श्रेष्ठले भने।

हुबेईमा हिँडडुलमा रोक

कोरोना भाइरसको केन्द्रविन्दु हुबेई प्रान्तमा बाहिर हिँडडुल गर्ने रोक लगाइएको छ। आपत्कालीन अवस्थामा बाहेक सार्वजनिक स्थानमा कोही जाँदैनन्। झन्डै डेढ महिनापछि चीनमा कोरोना संक्रमण दर घट्न थालेको डब्लूएचओले जनाएको छ। अन्य मुलुकमा संक्रमण बढेको छ।

भाइरस संक्रमणबाट चीनमा २७ सयभन्दा बढीको ज्यान गएको छ। दक्षिण कोरियामा कार्यरत राजेशचन्द्र जोशीले संक्रमणबाट ११ जनाको ज्यान गइसकेको जानकारी दिए। उनले भने, ‘ज्येष्ठ नागरिकहरू संक्रमणको उच्च जोखिममा छन्।’

रोग प्रतिरोधात्मक क्षमता न्यून भएका र दीर्घ बिरामीलाई भाइरस लागेमा तत्काल ज्यान जाने गरेको छ। श्वासप्रश्वासजन्य समस्या भएका, दम, फोक्सो, मिर्गौलाका बिरामीलाई भाइरसविरुद्ध लड्न गाह्रो हुने डा. जोशीले बताए।

चीन र दक्षिण कोरियाको उपचार व्यवस्था प्रभावकारी भएका कारण संक्रमणपछि निको हुने व्यक्तिको संख्या बढिरहेको छ। त्यसैले पनि डब्लूएचओले यी मुलुकलाई उच्च जोखिमा राखेको छैन।

चीनको वुहानस्थित औषधि पसलबाट आफन्तका लागि औषधि लैजाँदै सामाजिक कार्यकर्ता। तस्बिर : सिन्ह्वा

यी मुलुकले संक्रमणको व्यवस्थापनमा खेलको प्रभावकारी भूमिका, निदान, उपचारलगायतका प्रभावकारी व्यवस्था र सबल स्वास्थ्य प्रणालीका कारण मध्यम जोखिमको श्रेणीमा परेको हो।

युरोपमा संक्रमण बढ्यो

युरोपेली मुलुकमा समेत संक्रमण बढेको छ। इटाली, क्रोएसिया, स्विट्जरल्यान्ड लगायतका मुलुकमा संक्रमित फेला परेका छन्। इटलीमा संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ भने तीन सयभन्दा बढी संक्रमित छन्।

स्वास्थ्य संगठन र पर्यटन संगठनबीच सहकार्य

विश्व स्वास्थ्य संगठन र विश्व पर्यटन संगठनले कोरोना भाइरसको महामारीबाट जोगिन सहकार्य गर्ने भएका छन्। कोरोनाले विश्व पर्यटनलाई प्रत्यक्ष असर पारिरहेको सन्दर्भमा मिलेर अघि बढ्ने निर्णय दुवै संघको छ। भाइरसका कारण कुनै देश वा व्यक्तिको स्वास्थ्य संकटमा नपरोस् भन्ने उनीहरूको उद्देश्य छ। यसका लागि राष्ट्रसंघीय यी निकाय छलफलमा जुटिरहेका छन्।

भ्रमणमा रोक

धेरै मुलुकले कोरोना प्रभावित देशका बासिन्दालाई आफ्नो देश भ्रमण गर्न अस्थायी रूपमा रोकेका छन्। भारतले बिहीबारदेखि जापान र दक्षिण कोरियाका नागरिकलाई अन अराइभल भिसा बन्द गरेको छ। भारतले चिनियाँ नागरिकको भ्रमणलाई यसअघि नै अस्थायी प्रतिबन्ध लगाइसकेको छ।

संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन ्। चीनमा निर्मित सामान आयातमै पनि कतिपय मुलुकले प्रतिबन्ध लगाएका छन्। चीन आफैंले पनि प्रभावित प्रान्तमा आवागमनमा रोक लगाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.