भाट–भटेनी नेपालगन्जमा पनि
नेपालगन्ज : भाट–भटेनीको १८औं सुपर स्टोर शुक्रबारदेखि नेपालगन्जमा सञ्चालन भएको छ। काठमाडौं उपत्यका बाहिर सञ्चालनमा ल्याइएको यो ७औं सुपर स्टोर हो। भाट–भटेनीका काठमाडौं उपत्यकामा मात्र ११ वटा सुपर स्टोर छन्। प्रदेश ५ को भने यो तेस्रो सुपर स्टोर हो। यसअघि भैरहवा र बुटवलमा खुलिसकेका छन्। राजधानीभन्दा बाहिर सबैभन्दा पहिले पोखरा र त्यसपछि चितवन हुँदै कान्छो सुपर स्टोर नेपालगन्जमा खुलेको हो।
नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोमा १३ कठ्ठा ५ धुर क्षेत्रफलमा एक लाख ५५ हजार स्क्वायर फिटमा भाट–भटेनी निर्माण गरिएको छ। यसको निर्माण लागत जग्गासहित डेढ अर्ब रहेको छ। निर्माण सुरु भएको १० महिनामै सन्चालनमा ल्याइएको हो।
जहाँ खाद्यान्न, फलपूmल, लत्ताकपडा, इलेक्ट्रोनिक समान, भाँडावर्तन, लुगा, खेलौना, जुत्ता चप्पललगायत सामान एकै ठाउँमा पाइनेछन्। चार सय जना अट्ने दुई वटा फिल्म हल पनि बनेका छन्। ‘हल सञ्चालनमा आउन अझै ६ महिना जति लाग्नसक्छ’, भाट–भटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अन्नपूर्णसँगको भेटमा भने, ‘स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य हो। अहिलेसम्म २५ प्रतिशत स्वदेशी उत्पादन बिक्री गरिरहेका छौं।’
नेपालगन्ज सुपर स्टोरमा मात्र पाँच सय जनालाई रोजगारीको अवसर दिएको बताउने गुरुङले देशैभरि गरी १० हजार जनाले रोजगारी पाएको दाबी गरे। उनी ५० हजारलाई रोजगारी दिने लक्ष्य रहेको बताउँछन्।
नेपालगन्ज भाट–भटेनीले खसीको मासु, तरकारीलगायत कृषिजन्य उत्पादन देशका अन्य सुपर स्टोरमा पठाउने जनाएको छ। भाट–भटेनीको माग दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायतका सहरमा भए पनि अध्यक्ष गुरुङले चाँडै इटहरी र हेटौंडामा दुई वटा सुपर स्टोर सञ्चालनको तयारी भइरहेको बताए। उनले भावी योजना सुनाए, ‘सरकारले अनुमति दिएमा यूपी र बिहारमा पनि भाट–भटेनी खोल्ने हाम्रो लक्ष्य हो। नेपालीले पनि व्यवसाय गर्न सक्छन् भन्ने हामी गरेरै देखाइ दिन चाहन्छौं।’