टेलिफोन नम्बर : ०२६–५२९११५
म धनकुटामै हुर्के–बढे पनि पाख्रीबासमा पाइला भने दुलहीको भेषमा टेकेँ। पहाडको सुन्दर ठाउँ। सिरेटो चल्ने। बाह्रै महिना न्यानो लुगा चाहिने ठाउँ। पाख्रीबास बजारको बीचतिर हाम्रो घर। घरमै किराना पसल। र, हाम्रो ०२६–५२९११५ नम्बरको टेलिफोन बुथ।
म बिहे गरेर २०५९ सालमा त्यहाँ जाँदा हाम्रोबाहेक अरू दुईवटा टेलिफोन नम्बर थिए। टेलिफोनमा मेरी नन्द (भगवती अधिकारी) बस्नुहुन्थ्यो। प्रायः उहाँ नै फोनमा बस्नुको कारण पनि छ। गाउँगाउँदेखि फोन गर्न मान्छे आउँथे। कतिका विदेशबाट त्यो नम्बरमा फोन आउँथ्यो। त्यही भएर सबैलाई चिन्ने मान्छे फोनमा बस्नुपथ्र्यो।
टेलिफोन महसुल सस्तो नभएकाले सेकेन्ड सेकेन्डको महŒव हुन्थ्यो। फोन आइसक्ता मान्छे चिनेर रिसिभर दिइहाल्न सक्ने मान्छे पनि चाहिन्थ्यो। अलि पछिपछि मैले पनि मान्छे चिन्न थालें। उहाँको विवाहपश्चात् त्यो नम्बरमा म बस्न थालेँ।
माओवादी द्वन्द्व चर्किरहेको बेला थियो। सेनाले गस्ती गरिरहन्थ्यो बाक्लै। हाम्रो टेलिफोनतिर पनि उनीहरूको विशेष निगरानी हँुदो रैछ। किनकि, माओवादीले फोन गर्ने गर्दा रहेछन्। त्यो कुरा हामीलाई भने वास्ता हुन्थेन। हाम्रा लागि सबै ग्राहक। को माओवादी, को सर्वसाधारण !
माओवादीहरूलाई उनीहरूका कुराहरू सैनिककहाँ पर्याएको हामीले नै हो भन्ने लाग्दो रहेछ। उनीहरूले हामीलाई ‘सुराकी’ ठान्दा रहेछन्। माओवादीलाई किन पनि यस्तो लाग्दो रहेछ भने मेरा ससुरा बुवा पहिले राजनीति गर्नुहुँदो रहेछ, नेपाली कांग्रेसबाट। त्यो बेला माओवादीले कांग्रेसलाई आप्mनो शत्रु ठान्ने गरेका थिए। हाम्रो कुराको जासुसी गर्ने त्यही कांगे्रसी हो भनेर उनीहरू बुवाको नामै किटेर भन्दा रहेछन्।
यसै बीच मुगास्थित सूर्यबहादुर थापाको पुख्र्यौली घरमा राति माओवादीले आगजनी गरेछन्। बिहान हाम्रै टेलिफोनबाट कसैले थापा निवास काठमाडौँमा फोन गरेर जानकारी गराएछ।
बजारमा गुरुङहरू धेरै थिए। बाहुन भने हामी मात्र थियौं। बुवालाई ‘बाहुन बाजे’ भनेर पनि सम्बोधन गर्थे। मलाई ‘बाहुनकी बुहारी’ भन्थे प्रायःले। एकदिन बाहुन बाजेलाई माआवादीले मार्ने लिस्टमा राखेको छ भन्ने सुन्यौं। हामी सबै थुरुरु काम्यौँ। ओठ–मुख सुक्यो, के के भयो के के !
दुई–तीन दिनपछि दुई केटा र तीन जना केटी आए। बुवा पसलमै बसिरहनु भएको थियो। ‘तपाईंसँग केही कुरा गर्नु छ, पछाडि आउनुस्’ उनीहरूले भने। घरको पछिल्तिर जान बाहिरबाट घुमेर जानुपथ्र्यो। सानो गल्लीबाट भित्र छिर्न सानो गेट पनि राखिएको थियो।
तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर रजिस्टर गरिएको छैन।
गेट पार गर्नासाथ टिनले बारेर बनाइएको पसलको गोदाम आउँथ्यो। त्यसकै अगाडिपट्टि तीन–चारवटा कुर्सी अट्ने ठाउँ थियो। बुवालाई दमको रोग थियो। अलिकति चिसो भयो कि दमले सताइहाल्ने। सायद बुवालाई त्यस बेला अलि चिसोले सताएको रहेछ क्यारे। उहाँ बेस्सरी खोक्तै उनीहरू भएको ठाउँमा पुग्नुभएको थियो।
‘के हो तपाईं त सुराकी गर्नुहुँदो रहेछ नि ? ’ ठूल्ठूला आँखा, ठूलो स्वरमा केटीले भनी।
‘मैले किन र कसरी तपाईंहरूको सुराकी गर्नु ? के फाइदा मलाई ? ’ बुवाको स्वर मलिनो थियो। बुवालाई जतिसुकै रिस उठे पनि ठूलो स्वरमा बोलेको कहिल्यै सुनिनँ मैले।
‘तपाईंले ककसलाई फोन गर्नुहुन्छ, सबै हामीसँग रेकर्ड छ।’ अर्काे केटो पनि उफ्रियो। ऊ भन्दै थियो, ‘तपाईं कालोबजारी पनि गर्नुहुन्छ रे। हामीले पत्ता लगाइसक्यौें।’
बुवा मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘म जिरा, तेल, नुन बेचेर बस्ने सामान्य मान्छे, के कालोबजारी गर्नु र ? ’
‘हामीलाई सबै थाहा छ, तपाईं केके गर्नुहुन्छ,’ उनीहरू पेल्दै थिए, ‘अब तपाईंले चन्दा दिएर सहयोग गर्नुपर्छ हामीलाई।’
‘मेरो त्यत्रो हैसियत छैन बाबु। म रोगी मान्छेले सानोतिनो पसल गरी छोराछोरी पढाएँ, बिहेदान गरेँ। म सामान्य काम गरेर खाने मान्छे,’ बुवा नम्र भएर बोलिरहनु भयो।
‘तपाईं हाम्रो नजरमा परिसक्नुभएको छ,’ धम्क्याउँदै हिँडे उनीहरू।
दुई तीन दिनपछि सूर्यबहादुर थापाकै आफन्त पर्ने रामजी थापालाई माओवादीले हत्या गरे भन्ने हल्ला सुनियो। हाम्रोमा नियमित फोन गर्न आउने हुनाले म राम्रोसँग चिन्थे उहाँलाई। उहाँलाई सम्झेर धेरै दुःख लाग्यो र मुटुमा ढ्याङ्ग्रो पनि बज्यो। किनकि बुवा पनि त्यही लिस्टमा हुनुहुन्थ्यो।
श्रीमान् काम विशेषले प्रायः घर बाहिर नै हुनुहुन्थ्यो। अब बुवा यहाँ बस्नु ठीक हुँदैन भन्ने हामी परिवारको निष्कर्ष निस्कियो। यसै पनि बुवालाई दमले दिनदिनै निक्कै गाह्रो बनाइरहेको थियो।
तर रोगी मान्छे जाने कहाँ ? वर्षौंदेखि बसिरहेको ठाउँ छोडेर हिँड्ने कसरी ?
एक दिन आर्मीको एक झुण्ड हाम्रो घर अगाडि देखापर्यो।
‘अलि पर हिँड्नुस्, तपाईंसँग केही कुरा छ,’ एकजना जवान अगि सरेर भने।
‘किन र बाबु ? के भन्नु छ ? यहीँ भन्नु, म के हो भनिहाल्छु नि ? ’
‘होइन एकान्तमा कुरा गर्नु छ। हिँड्नुस्,’ उनीहरू मान्नेवाला थिएनन्।
‘काँ जाने हो र ? ’ आमा पसलमा हुनुहुन्थ्यो। आतिँदै बाहिर निस्कनु भयो।
‘आमा, केही होइन एकैछिनमा आइहाल्नुहुन्छ,’ अर्का जवानले भने।
हिजो माओवादीले बाजेलाई लिस्टमा राखेका छन् भनेर सुनाउने छिमेकीहरू पनि छक्क परी मुखामुख गर्न थाले।
एक बजे हिँड्नु भएको बुवा साँझसम्म नआउँदा हामी डरायांै। रात छिप्पियो, बुवा आउनुभएन।
छिनछिनमा तातो पानी चाहिने मान्छे, खानेकुरामा पनि नब्बे प्रतिशत बार्नुपर्ने मान्छे। हामी पिरोलियौँ।
बिहानको नौ बजेतिर बुवा देखिनु भयो। निन्याउरो, चिन्तित, मलिन अनुहारमा।
‘तपाईंले माओवादी पालेर राख्नुभएको रहेछ। उनीहरूका हरेक गतिविधि तपाईंकै फोनबाट रिले हुँदो रैछ। अब यस्तो नहोस् तपाईं बिरामी भएको कारण हामीले चेतावनी मात्र दिएर अहिले छोडेका छांै। बाँकी तपाईं आफैं बुभ्mनुहुन्छ।’ सेनाको टोलीले भनेको कुरा बुवाले सुनाउनु भयो।
चट्ट छोडेर हिँडौँ त गरी खाने भाँडो यही छ। बसौं त ज्यानै जाने भयो। हाम्रो आयस्रोतको बाटो पसल थियो। सल्लाह भयो, घर–पसल बेचांै र कतै गएर बसौं। पसल नजिककै एक जनालाई दिने टुङ्गो भयो। उनीसँग पनि पैसा नभएका कारण बिस्तारै दिने सर्तमा पसल छोडियो। घर पनि त्यहीँ सुन पसल गरेर बस्ने दाइले लिने हुनुभयो।
यो कुरा माआवादीले थाहा पाएछन्। घर किनबेच भए बम हानेर उडाइदिने भन्दै बजारमा हल्ला गर्दै हिँडेछन्।
बजारको हल्ला लिएर ती दाइ थरथरी काम्दै आउनुभयो। बुवालाई हामीले इटहरीस्थित बुवाकै दाजुभाइका घरमा पठाइसकेका थियौं।
अब सासू–बुहारी र दश महिनाको मेरो ठूलो छोरो मात्र घरमा थियौं। हामीले टेलिफोन पनि बाहिर निकालेर चलाउन छोडिसकेका थियौं। आफैैं मात्र चलाउथ्यौैं र छिमेकीको अर्जेन्ट फोन आउँदा मात्र हामीले बोलाइदिने गरेका थियौंै।
एकदिन बेलुकीको नौ बज्न लागेको थियो होला। बाहिर बुटको आवाज आयो। आवाज सुन्दा आर्मी नै हुन् भन्ने थाहा भयो। गस्तीमा होलान् भनेको होइन रहेछ। हाम्रो घरको ढिक पो ढ्याक ढ्याक पार्न थाले। सानो छोरो सुतेकै थिएन। चिसो सिरेटो चलिरहेको थियो। त्यो सिरेटो भन्दा मेरो मुटु जोडसँग चल्न थाल्यो। आमा पल्लो कोठामा हुनुहुन्थ्यो। उठेर हातले इसारा गर्दे यतै आउनुभयो। मैले इसाराले नै चुप लागौं भने। हामी सास दबाएर बस्यौं।
‘को छ घरमा ? हामी खानतलासी गर्न आएका छिटो खोल्नुस् नभए ढोका नै फोर्छौं।’ बाध्य भएर हामी तल झर्यौं। छोरो पनि बाकेरै झरेकी थिएँ म।
‘खोइ घरमा लोग्ने मान्छे छैनन् ? ’
‘हुनुहुन्न कोही।’
‘तपाईंहरूको टेलिफोन खोई ? आज यहाँबाट ककसले कहाँ–कहाँ फोन गरे ? देखाउनुस् सबै।’
‘हाम्रो फोन बिग्रेको निक्कै भयो’ भन्न आएछ। बोलिसकेपछि पो डर लाग्यो। अब झुट बोल्नुको परिणाम के होला भनेर ढुकढुक पनि भएँ।
हतारमा फोनको छेउमा पुगें। यताउता हेरी फोनको छेउमा रहेको ब्लेडले सानो झ्यालबाट छिराइएको टेलिफोनको तार काटिदिएँ। अनि लामो सास फेर्दै बाहिर निस्केँ। केही छिनमा फोन भएको ठाउँ आएर उनीहरूले चेक गरे। ‘ए हो रैछ, फोन चलेको रैनछ त।’ यसो भनेको सुनेर छिटो–छिटो चलिरहेको मुटु केही शान्त भयो।
‘ल चिया पकाएर खुवाउनुस् अब,’ एउटा खाइलाग्दो सैनिक बोल्यो। म त अक्क न बक्क परे। त्यो चिसो रातमा लगभग ४०–५० जनालाई चिया पकाएर खुवाउन न भाँडो नै थियो हामीसँग, न त जनशक्ति नै। सानो बच्चा पिठ्युँमा निदाइरहेको देख्ता पनि कसरी त्यस्तो बोल्न सके होलान् भन्ने मात्र सोचें।
‘ल ल जाऊँ अब’ भन्दै केही सैनिक बाहिर निस्किए। त्यसपछि अरु पनि बुट बजार्दै निस्किए।
बिहानै उठेर तार जोडें। श्रीमान् र बुवालाई फोन गरें। उहाँहरू पनि हाम्रो कुरा सुनेर डराउनु भयो। अब जे–जे हुन्छ सासू–बुहारी पनि त्यहाँबाट निस्कने, विराटनगरमा कोठा भाडामा लिई बस्ने। यस्तै सल्लाह भयो। ज्यान जोगिए जे पनि गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्यौं।
एघार महिनाको छोरो र पचास वर्षकी सासूसहित हामी भारी मनले थातथलो छोडेर हिँड्यौँ।
०००
धेरै वर्षपछि अर्थात् आजभन्दा दुई वर्षअघि मात्र म त्यहाँ पुगेँ। ०२६–५२९११५ नम्बरको टेलिफोन राख्ने रुमको नामो–निशाना थिएन। म त्यहीँ टक्क उभिएँ र डायल गरेँ। जवाफ आयो, ‘तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्बर रजिस्टर गरिएको छैन।’