रुकुमको कम्युनिस्ट इतिहास

रुकुमको कम्युनिस्ट इतिहास

आजभन्दा ५२ वर्षअघि रुकुममा कम्युनिस्ट पार्टीको बीजारोपण गरेका संस्थापकत्रयको यो बयान :


अस्ति भर्खरजस्तै लाग्छ— वासुदेव गौतम, ७५, लाई रुकुम जिल्लामा कम्युनिस्ट पार्टी स्थापनाका लागि खटिएको। दाङबाट उनी ६ दिन पैदल हिँडेरै २०२३ सालमा खलंगा पुगेका थिए। त्यस बेला कम्युनिस्ट पार्टीको दाङ जिल्ला सदस्य रहेका शिक्षक उनी कम्युनिस्ट पार्टीको ‘भू्रण’ छर्ने योजनासाथ खलंगा उक्लिएका थिए।

अहिले पश्चिम रुकुमको सदरमुकाम रहेको मुसीकोट (खलंगा) त्यस बेला जिल्ला सदरमुकाम भएको थिएन। रुकुमकोट त्यहाँको सदरमुकाम थियो। २०३० सालपछि मात्र खलंगामा जिल्ला सदरमुकाम सारिएको थियो। खलंगा माविमा पढाउन पुगेका उनले त्यहाँ झन्डै एक वर्ष कम्युनिस्ट पार्टी गठनका लागि कोसिस गरे।

‘विभेदविरुद्ध लड्न कम्युनिस्ट बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न मलाई झन्डै एक वर्ष लाग्यो’, रुकुम कम्युनिस्ट पार्टीका संस्थापक गौतम भन्छन्, ‘सुरुमा चार÷पाँचजनाको सानो सेल कमिटी बनाउँदै पार्टी संगठन जोड्न थालेका थियौं।’

२०२४ सालमा पहिलो पटक उनले स्कन्द शर्मा (जनार्दन शर्मा ‘प्रभाकर’का बाबु), तारा घर्ती, धुव्रजंग मल्ल र डिल्लीबहादुर मल्लसहितको कम्युनिस्ट पार्टीको बीजारोपण गरेका थिए। त्यसका नेता चुनिएका थिए, उनै गौतम।

रुकुममा २०२४ सालमा कम्युनिस्ट पार्टी गठन भएको भए पनि उनलाई पूरा मितिचाहिँ ठ्याक्कै याद थिएन। उनी मात्र होइन, अन्य संस्थापक र यहाँका अन्य कम्युनिस्ट नेतालाई पनि पार्टी स्थापनाको इतिहास ‘ठोकुवा’ गर्न मुस्किल परिरहेको थियो।

२०७६ माघ २९ मा श्रीमतीसहित गौतम मुसीकोट (खलंगा) पुगे। अन्य संस्थापक नेताहरू (तारा घर्ती, डिल्लीबहादुर मल्ल र धुव्रजंग मल्ल) पनि त्यहाँ जम्मा भइसकेका थिए। स्कन्द शर्मा दिवंगत भइसकेका छन्। अन्य संस्थापकसँग गौतमको भेटघाट नभएको लामो समय भएको थियो। संस्थापकहरूलाई एकै ठाउँमा भेला हुने गरी व्यवस्थापन मिलाएका थिए— नेकपाका स्थायी समिति सदस्य तथा पश्चिम रुकुमका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ले।

२०७६ फागुन १ को बिहान शर्माले जिल्लामा पार्टी स्थापनाको मिति पहिल्याउने उद्देश्यले संस्थापकहरूलाई एकै ठाउँमा राखेर मुसीकोटमा छलफल चलाए। सबैले त्यस बेलाको कमिटी गठन गर्दाको स्मरण गर्न खोजे। करिब तीन घण्टाको भलाकुसारीपछि स्थापनाको एउटा मिति जुर्‍यो— २०२४ मंसिर २९।

‘हामी त्यस बेलाका साथीहरूकै बीचमा २०२४ सालमा रुकुममा पार्टी जन्माएको विषयमा विवाद थिएन, तर कुन महिना र गते भन्नेमा आआफ्नै तर्क थिए। अन्तिममा हामी सबैले निकै सोचविचार गरी २९ मंसिर भन्ने तय गर्‍यौं’, गौतम भन्छन्, ‘५२ वर्षपछि पार्टी स्थापना मिति तय भयो।’ त्यसपछि फागुन १ को ‘जनयुद्ध’ दिवसका अवसरमा मुसीकोटमा आयोजित सभामा सामूहिक रूपमा यही मिति घोषणा गरियो।

०००

गौतमलाई संगठन विस्तारका लागि पहिलो पटक रुकुम पुग्दा ‘सहयोगी–सहयोद्धा’ खोज्न सिला खोजेजस्तै अप्ठ्यारो परेको थियो। ‘कसलाई विश्वास गर्ने, कसलाई नगर्ने, साह्रो अप्ठ्यारो थियो त्यसवेला, तर अहिले कम्युनिस्टको आधार क्षेत्र रुकुम बनेको देख्दा छाती गर्वले फुल्छ’, गौतम भने।

रुकुमले पछिल्लो ‘जनयुद्ध’मा पाँच सय ८२ जनाको बलिदानी दियो। अहिले यो क्षेत्र कम्युनिस्टको गढ बनेको छ। स्थानीय, प्रदेश र संघ तीनवटै तहमा नेकपा (त्यसभित्र पनि पूर्वमाओवादी)कै एकछत्र राज छ।

रुकुम अहिले पूर्वी र पश्चिम गरी दुई जिल्लामा मात्र विभक्त छैन, दुई प्रदेशमा विभक्त छ। पूर्वी रुकुम ५ नम्बर प्रदेशमा र पश्चिम रुकुम कर्णाली प्रदेशमा।

पाँच दशकअघि आफैंले कम्युनिस्टको ‘भू्रण’ छोडेका गौतम अहिलेको रुकुम देखेर चकित छन्। २९ वर्षपछि   श्रीमतीसहित रुकुम टेकेका उनी भन्छन्, ‘त्यो बेलाको रुकुम र अहिलेको रुकुम निक्कै फेरिएछ। रुकुममा पढाउन छोडेपछि २०४६ सालको जनआन्दोलनअघि प्रचण्डको नेतृत्वमा चारवटा साना कम्युनिस्ट घटक मिलेर नेकपा एकता केन्द्र बन्दा त्यसको घोषणासभाका लागि रुकुम आएको थिएँ, त्यसपछि आउने मेसो मिलेको थिएन।’

संगठन गर्न पनि नपाइने, राजा–महाराजाका विषयमा बोल्न पनि नपाइने बेलामा शिक्षकको ‘भेष’मा पार्टी संगठन जन्माउन गौतमलाई पार्टीले रुकुममा परिचालन गरेको थियो।

रामनारायण श्रेष्ठ त्यस बेला राप्तीका अञ्चलाधीश थिए। एक दिन तिनै अञ्चलाधीश खलंगामा आमसभाका लागि पुगे। त्यही खलंगा माविमा आमसभा आयोजना गरिएको थियो। त्यहाँ गौतमलाई पनि बोल्ने मौका मिल्यो। उनले भने, ‘मैले त्यस बेला यहाँका जनता भोकमरीले मरिरहेका छन्, यी जनताका निम्ति सहयोग गर्नुको साटो राज्य मूकदर्शक बनिरहेको छ। राज्यको व्यवहारप्रति जनता चुप बस्नुहुन्न, विद्रोह बोल्नुपर्छ भनेर भाषण गरेँ।’

उनी कम्युनिस्ट रहेको उनको भाषणको लवज र झल्कोबाटै थाहा पाइहाले, त्यस बेलाका अञ्चलाधीशले। उनलाई भाषण बीचमै रोक्न लगाउन खोजे तर त्यो सम्भव देखिएन। त्यसपछि उनलाई स्कुलबाटै निकाल्ने योजना बन्यो।

‘स्कन्द सामान्य किसान थिए, सादगी जीवन थियो, परि श्रम गरेर जीवन बिताउँथे। मैले उनीसहित तारा, धुव्र र डिल्लीको साथ लिएर रुकुममा कम्युनिस्ट पार्टी गठन गरेको थिएँ’, गौतम भन्छन्, ‘खुसी पनि लाग्छ, त्यस बेला यो अवस्थामा रहेको कम्युनिस्ट पार्टी अहिले रुकुमका घरघरमा जरा गाडेर मजबुत देखिँदा।’

त्यो बेलाको रुकुम र अहिलेको रुकुममा आकास–पातालको अन्तर छ। ‘त्यो बेला बाटाघाटा केही थिएनन्। बिजुली बत्ती केही थिएन, सञ्चारका साधन केही थिएनन्। पैदल जाने आउने गर्नुपथ्र्यो, नुन–तेल गर्न रुकुमबाट नेपालगन्ज, कोइलाबास, कृष्णनगर, बुटवलसम्म धाउनु पथ्र्यो। जाने–आउने, मान्छे बिरामी भए डोकामा बोकेर लानुपथ्र्यो, त्यसमा अहिले व्यापक सुधार आएको देखेँ, खुसी लाग्छ यहाँको विकास देख्दा’, गौतम त्यस बेलाको रुकुम सम्झछन्।

०००

रुकुम कम्युनिस्ट संस्थापकमध्येकै अर्का हुन्– धु्रवजंग मल्ल, ७६। उनी पनि गौतमजस्तै २९ माघमै १९ वर्षपछि रुकुम टेक्न पुगेका थिए। रुकुमकै तत्कालीन चाफा गाविस खलंगाको ६ नम्बर वडामा पहिले उनको घर थियो। हाल उनी दाङ बसाइँ सरेका छन्।

माओवादी युद्धका बेला उनलाई रुकुम जाने र माओवादीको राजनीतिक प्रभाव प्रत्यक्ष नियाल्ने हुटहुटी जाग्यो। उनी २०५६ सालमा रुकुम पुगे। तर एक दिन भन्दा बेसी समय रुकुममा बिताउन सकेनन्। तत्कालीन राज्य पक्षले पुराना कम्युनिस्ट जिल्लामा आएको भन्दै व्यापक खोजी गरेपछि बोहोरागाउँमा लुकेर भोलिपल्टै उनी दाङ फर्केका थिए।

‘रुकुमबाट बसाइँ सरेर म दाङ झरे पनि रुकुमसँगको नियमित सम्पर्कमा थिएँ। म सरकारी जागिरे भएका कारण माओवादीको जनयुद्धमा जान सकिनँ। पेन्सन पाकिसक्न लागेको थियो। तर भित्रबाट सहयोग गर्थंे’, मल्ल भन्छन्।

२०२४ सालतिरै रुकुममा कम्युनिस्टको जग बसाल्नु फलामको चिउरा चपाउनुजस्तो कठिन भएको अनुभव छ, मल्लसँग। ‘यो ठाउँ राजा–रजौटाहरूको ठाउँ थियो। उनीहरूले कम्युनिस्ट भनेपछि फुटेको आँखाले पनि हेर्दैनथे। साँघुरो विचार थियो, बोल्न सक्ने क्षमता थिएन, मान्छेहरू अशिक्षित थिए। यस्तो बेला कम्युनिस्ट जन्माउन खोज्नु चानचुने कुरा थिएन’, उनी भन्छन्, ‘रुकुमकै भए पनि पीबी (पृथ्वीबहादुर) मल्ल रूपन्देही–कपिलवस्तुमा किसान आन्दोलनमा डा. केशरजंग रायमाझी, कमल शाहसँग मिलेर आन्दोलनमा हुनुहुन्थ्यो, कामी बुढा केआई सिंहको पार्टीबाट संघर्षमा उत्रेका थिए, पछि हुम्लाको गांैडाबाट पक्राउ गरेर मारियो। यो ठाउँमा कम्युनिस्ट छिर्न दिनु हुँदैन भनेर प्रशासन त्यसरी लागेका बेला हामीले कम्युनिस्टको जग बसालेका थियौं।’

अहिले कम्युनिस्ट पार्टीका सामान्य समर्थक मात्र रहेका उनको जनार्दन शर्मा (प्रभाकर)सँग भने नियमित सम्पर्क भइरहन्थ्यो। तीन महिनाअघि काठमाडौं गएका बेला उनलाई जनार्दनले भेट्न बोलाए। ‘बुवा एकचोटि भेट्न आउनुपर्‍यो’ भनेर खबर पठाएका रहेछन्। किन बोलाए ?   उनलाई खुल्दुली पर्‍यो। उनी भेट्न पुगे। जिल्लामा पार्टी स्थापना मितिबारे छलफल चल्यो।

१९ वर्षपछि रुकुम आउँदा उनले रुकुमका जनताको राजनीतिक चेत निकै माथि पुगेको अनुभव गरे। रुकुम आएकै दिन त्रिभुवन जनता माध्यमिक विद्यालय (जहाँबाट उनले २०२४ सालमा एसएलसी गरेका थिए) मा उनी सबैभन्दा पहिले पुगे।

‘स्कुलका अहिलेका सरहरूसँग भेटँे, आँखाबाट आँसु चुहिएलाजस्तो भयो, पुराना कोही पनि भेटिएनन्। स्कुलमा पनि धेरै विकास भइसकेछ’, मल्ल भन्छन्, ‘बाटाघाटा, स्कुल, अस्पताल खुलेका भेटिए, विकास गाउँमा आइपुगेछ।’

गौतम पनि आफूले पढाएको खलंगा मावि पुगेनन् मात्र, अहिले पूर्वी रुकुममा रहेको ‘कोल’सम्म पनि पुगे। ‘त्यहाँ म हेर्डमास्टर भएर बसेको थिएँ एक वर्ष। त्यहाँको स्कुल मेरै पालामा स्वीकृत भएको हो। ४० सालमा त्यहाँ छोडेको’, गौतम खुल्दै गए, ‘त्यहाँ पुगेर आफूले पढाएको स्कुल हेरेँ, आफूले चिनेजानेका साथी भेटेँ, साँच्चै रुकुम धेरै बदलिएछ।’

०००

रुकुमबाट तीन पटक निर्वाचित सांसद जनार्दन शर्मा रुकुमका जनता यथास्थितिको पक्षमा नरहेकै कारण परिवर्तन र विकासले रुकुमलाई प्रगतिपथमा लगेको बताउँछन्। भन्छन्, ‘रुकुम जिल्लाका जनता सधैं परिवर्तनको पक्षमा छन्। यथास्थितिको विपक्षमा छन्। कामी बुढादेखि सुरु भएको आन्दोलन आजसम्म आउँदा त्यो प्रमाणित भएको छ। परिवर्तनको अर्थ, समाजको समृद्धि, विकास, शान्ति, समानता र सांस्कृतिक रूपान्तरण हो। यसको पक्षमा रुकुमेली जनता छन्। चाहे जनयुद्ध होस् या जनआन्दोलन, चाहे विकास निर्माण, जनताले नै पहल लिएका छन्।’

०००

रुकुमका कम्युनिस्ट संस्थापक गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तत्कालीन एकताकेन्द्रमा रहँदा ०४६ सालदेखि ०५२ सम्म एकै कमिटीमा बसेर काम गरे। प्रचण्डले आफ्नै पार्टी (मोटो मशाल) विघटन गरी एकताकेन्द्र निर्माण गर्दा गौतम तत्कालीन नेकपा चौमका पोलिटब्युरो सदस्य थिए।

उनी चौमको केन्द्रीय समितिमा २०४२ सालमै पुगेका थिए। राप्तीका इन्चार्ज पनि थिए। चितवनमा माओवादी गठन गर्न २०५२ मा विस्तारित बैठक गर्दासम्म गौतम प्रचण्डकै पार्टीमा थिए। त्यसपछि भने नारायणकाजी श्रेष्ठ, अमिक शेरचनहरूसित रहे। माओवादी १० वर्षे युद्ध गरेर शान्ति प्रक्रियामा आएपछि २०६५ मा उनी रहेको एकताकेन्द्रले माओवादी पार्टीसँग एकता गर्‍यो।

त्यसपछि उनी पनि बने— माओवादी। तर पनि प्रचण्डसँग प्रत्यक्ष देखेभेट हुन पाएको छैन। प्रचण्डसँगको भेटमा के कुरा होला त ?  फिस्स हाँस्दै भने, ‘हेरौं अब के हुन्छ ?  कुन परिस्थितिमा भेट हुन्छ ? ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.