संस्कारले बनेको देश
म यो के लेख्दै छु ? हामी यति सामान्य कुरा देखेर पनि किन चकित छौं ? किनकि, हामीलाई सामान्य के हो भन्ने नै भान भएन र हामी सामान्यभन्दा पनि निकै तल गिरिसकेका रहेछौं।
युद्ध चलिरहेको थियो, जमिनमा आक्रमण अनि बम–बारुदहरू बर्सिंदै थिए। जापानका सैनिकहरूलाई जमिनमा युद्ध गर्न गाह्रो हुँदै गयो। उनीहरूले आफू बच्नका लागि सुरुङ खन्न थाले। त्यहीँबाट युद्ध रणनीति बनाउन थाले। त्यो सीप नै जापानको विकासको महत्वपूर्ण आधार बन्यो। माथि पच्चीस तलाको भवन छ। त्यसको तल ‘बेसमेन्ट’ छ। त्यसको तल दुईतीन तहमा रेल कुदेको छ। त्यही जमिनमुनि ढल तथा वर्षाको पानी निकास पाइपहरू, ग्यास पाइप अनि वायरिङ छन्। जमिनमाथिको विकास त देखिएकै थियो। तल पनि झन् अर्को विकास छ। युद्ध, पीडा र आवश्यकताले जापानलाई विकास सिकाएको थियो।
जापानबारे मलाई बच्चामा ‘जा, पान लिएर आ’ भनेर साथीहरूसँग जिस्कने गरेको सम्झना छ। अर्को, बुवाले पानासोनिक (जापानिज) रेडियो हामीले चलाउँदा बिग्रेला भनेर गाली गर्ने गरेको अझै स्मरण छ। जापानको सामान सक्कली हुन्छ भन्ने थियो। गत महिना म पहिलोपल्ट जापान घुम्न गएँ। हामीलाई जापान ५९ वर्षे कान्दा सतोरुले घुमाउँदै थिए। उमेरले ५९ भने पनि उनी हामीभन्दा निकै फुर्तिला देखिन्थे। जापानीहरू संसारमै बढी बाँच्ने मानिसहरू हुन्। त्यसको कारण मैले कान्दालाई सोध्दा उनले भने, ‘खानपिनमा ध्यान दिन्छौं अनि निरन्तर काम गर्छौं त्यही भएर होला।’ जापानमा म जति दिन बसेँ, धुवाँ–धुलो भेटिनँ। मौकाको फाइदा उठाउँदै मैले पनि एक–दुई हप्तालाई पुग्ने गरेर स्वच्छ सास फेरेर फर्केको छु। खोज्दा पनि बाटोमा कुनै फोहोर भेट्टाउन सकिनँ। फोहोर नहुनुको कारणचाहिँ, जापानीहरूलाई सफा रहने संस्कार बच्चा बेलादेखि नै सिकाएको हुने रहेछ। विद्यार्थीले नै स्कुल सफा राख्ने प्रचलन रहेछ। घरको अगाडि मात्र होइन पछाडि पनि सफा राख्ने जापानीहरूको संस्कार नै रहेछ।
घुमाइको पहिलो दिन हामीलाई माउन्ट फुजी लगियो। जापानीहरू माउन्ट फुजीलाई आफ्नो सबैभन्दा महत्वपूर्ण गहना ठान्दा रहेछन्। उनीहरूले माया गरेकै कारणले होला, पर्यटकहरू पनि माउन्ट फुजी हेर्न धेरै आउने रहेछन्। माउन्ट फुजीको बारेमा गाइडले तारिफ गरिरहँदा मलाई भने भित्र भित्र पोल्थ्यो। ३७ सय मिटरको हिमालको त्यो उचाइ छ, हाम्रा सयौं हिमाल बिचल्लीमा छन्। मेरो मनमा हामीले हाम्रा हिमालहरूको प्रचार गलत शैलीमा गरेछौं जस्तो लाग्यो। हामी नेपाल भनेको सगरमाथा भन्ने बुझाउन खोज्छौं। सगरमाथा जो कोही पनि चढ्न सक्दैनन्। काठमाडौं वा पोखरा आएर देखिने पनि होइन। फोटै हेर्न त, जहाँबाट हेरे पनि भयो नि। गुगल छँदै छ। हामीले सगरमाथालाई मात्र ब्रान्ड गर्यौं, त्यस्ता सयौं हिमालबारे बोलेनौं जहाँ एउटा पर्यटक जान सकोस्। हिमाल चढ्न सकोस्। हेर्न अनि रमाउन सकोस्। अनुभूति गर्न सकोस्। अब हामीले हाम्रो प्रकृति अनि पर्यटकको चाहनालाई बुझ्न जरुरी छ। नेपालले उत्कृष्ट प्रकृति अनि संस्कृति पायो तर यी प्रकृति अनि सम्पदाले राम्रो सक्षम संरक्षक पाएनन्।
जापानमा जे हुनुपर्छ, त्यो हुन्छ। लेनमा गाडीहरू गुड्छन्। साइकल लेन, पैदल यात्रुका लेनलाई निकै प्राथमिकता दिएको छ। दृष्टिविहीनलाई समेत प्राथमिकता दिएर पैदल लेन बनाइएका छन्। लिफ्टहरूमा दृष्टिविहीनका निम्ति ब्रेल प्रणाली पनि निर्माण गरिएको छ। ट्राफिक कहीँ पनि देखिँदैनन्, सबैले ट्राफिक नियम पालना गरेका छन्। गाडी आएको होस् वा नहोस्, सबैले जेब्रा क्रस पालना गरेका छन्। सडकहरू सफा छन्, अधिकांश ठाउँमा हरियाली छ। ठाउँठाउँमा पार्क छन्। म यो के लेख्दै छु ? हामी यति सामान्य कुरा देखेर पनि किन चकित छौं ? किनकि, हामीलाई सामान्य के हो भन्ने नै भान भएन र हामी सामान्यभन्दा पनि निकै तल गिरिसकेका रहेछौं।
टोकियोको अर्को रोचक स्थानचाहिँ मलाई सिबुया स्टेसन नजिकैको सिबुया क्रस लाग्यो। यो क्रस (जेब्रा क्रस)बाट दैनिक २४ लाख मानिसले बाटो काट्दा रहेछन्। एक चोटि बाटो काट्दा २५ सय मानिसले बाटो काट्दा रहेछन्। यो निकै अनौठो दृश्य हो। अझ मलाई थप रोचकको यही क्रस नजिकै रहेको ‘हाचिको’ (कुकुर)को मूर्तिको कथा लाग्यो। १९२३ मा जन्मिएको हाचिको हरेक दिन आफ्ना मालिक प्राध्यापक उएनो हिदेसाबुरोलाई छाड्न सिबुया स्टेसनसम्म आउँथ्यो। हाचिको दुई वर्षको हुँदा एक दिन उसको मालिकको पढाउँदा पढाउँदै मृत्यु भयो। त्यो दिन पनि हाचिको मालिकलाई लिन स्टेसन गयो तर निराश भएर फर्किनु पर्यो। त्यो दिनपछि हरेक दिन हाचिको स्टेसन गयो अनि निराश भएर फर्कियो। यसरी लगातार प्रत्येक दिन नौ वर्ष नौ महिना पन्ध्र दिन स्टेसनमा आफ्नो मालिकलाई लिन आएर माया अनि ममताको अद्भुत उदाहरण प्रस्तुत गर्यो। हाचिकोकै सम्झनामा अहिले त्यही स्टेसनबाहिर उसको मूर्ति छ। त्यो मूर्तिसँग फोटो खिचाउने मानिसहरूको भीड छ।
०००
जापानको संस्कारको कुरा सुरु गर्नुअघि मलाई सधैं प्रेरित गर्ने स्विडेनको एउटा संस्कारको चर्चा गरौं। ‘जन्तलगेन’ भन्ने परम्पराअनुरूप उनीहरू आफ्नो सम्पत्ति अरूलाई भन्दैनन्, त्यसको बारेमा धाक दिँदैनन्। यो परम्पराले सम्पत्तिको मात्र होइन, आफू ठूलो देखाउनु हुँदैन भन्ने सिकाएको छ। लेखक एक्सेल स्यान्डिमोजले १९३३ मा आफ्नो उपन्यासमा अरूभन्दा आफू उच्च देखिन नहुने नियमबारे लेखेका थिए। पछि त्यो अभ्यास अनि संस्कारकै रूपमा उक्त समाजमा रहिरह्यो।
नागरिकको संस्कारले नै देश कता जाने भन्ने निर्धारण गर्छ। जापानमा आरिगातो गोजाइमास (धन्यवाद) त प्रत्येक नागरिकको मुखमा झुन्डिएको हुन्छ। यही विनम्रताले नागरिकलाई जिम्मेवार बनाएको छ। हामीले हाम्रो गाइड ‘कान्दा’लाई टिप्स दिन खोज्यौं तर उनले मरी गए पनि टिप्स लिएनन्। एअरपोर्ट नजिक ट्याक्सीलाई ट्याक्सीमा जानका लागी सोधेको, ‘एक छिनमा बस आउँदै छ, बसमा जानुहुन्छ कि ट्याक्सीमा ? ’ भनेर ट्याक्सी ड्राइभरले हामीलाई नै सोध्छन्। अनि, साँच्चि ट्याक्सी मिटरमै जाने रहेछ। अब मलाई चाहिँ ट्याक्सी मिटरमै जाँदा पनि ठूलो कुरा लाग्न थालेको छ। जापानीहरूमा अरूको हित नहुने काम नगर्ने संस्कार रहेछ। नागरिकले नियम खासै तोड्दा रहेनछन्। ट्रेनमा पहिला ओर्लने ओर्लिएपछि मात्र चढ्ने नियम हरेकले पालना गरेका छन्। यसलाई विवेक भनौं, र्यासनल थिंकिङ भनौं या लाभ लाभको सिद्धान्त भनौं— हरेकजसो जापानिजको मस्तिष्कमा विज्ञान र विवेक दुवै छ। ट्रेनमा अरूलाई डिस्टर्ब हुन्छ भनेर कोही पनि बोल्दैनन्। यी सामान्य अनुशासनका कुरा हुन्। हामी यिनै सामान्य कुरा पनि गर्न सकिरहेका छैनौं। उनीहरूले गरे, त्यसैले उनीहरू बने।
म हेर्न गएको सरकारी स्कुलमा अंग्रेजीका पूर्वशिक्षक हामीलाई स्टेसनसम्म लिन आउनुभयो। उहाँले त्यहाँ लामो समय पढाउनुभएको रहेछ। उहाँ अहिले सेवानिवृत्त भएपछि पनि दिनको चार घण्टा स्वयंसेवा गर्न स्कुल आउनुहुँदो रहेछ। सेवाको भाव जापानीमा राम्रोसँगै रहेको पाइयो। जापानको अर्को महत्वपूर्ण कुरा भनेको काममा सामूहिक भाव हो। स्कुलदेखि नै त्यहाँ समूहमा काम गर्न सिकाउने गर्छन्। तपाईं एक्लै उत्कृष्ट भएर काम छैन, टिमलाई राम्रो बनाउन तपाईंको भूमिका के रह्यो, त्यसको अर्थ हुन्छ त्यहाँ। काममा पनि अनुभव खोज्ने भन्दा पनि सामूहिक कार्य हेर्ने रहेछन्। सहयोगको भाव धेरै राम्रो रहेछ त्यहाँ।
कुनै पनि देश समयको कदर नगरी बन्दैन। जापान समयको कदर गरेरै बनेको हो। बस कुनै पनि स्टेसनमा जति समयमा भनेको छ, त्यति समयमै आउँछ। मिनेटमा पनि होइन सेकेन्डमा पनि ढिलो प्रायः हुँदैनन्। भनेको समयभन्दा ढिलो भयो भने, ठूलो समाचार बन्छ। उनीहरूको समयमा भएन भने समाचार बन्छ, हाम्रोमा समयमा भयो भने समाचार बन्छ। कति समयमा गन्तव्यमा पुगिन्छ त्यो पहिले नै ट्रेनमा थाहा हुन्छ। भेट्न आउँछु भनेको मान्छे टाइममा आउँछ। जाम भयो भन्ने बहाना बनाउँदैन।
बस पनि ड्राइभरले सबैलाई बसाएर सिट बेल्ट बाँधेपछि मात्र अगाडि बढ्छ। जापानमा ड्राइभरहरू कडा कानुन पालना गर्दा रहेछन्। जापानले सन् १९७० मा कारको संख्या धेरै भएर दुर्घटना भएपछि दुर्घटनासम्बन्धी कडा कानुन बनाएको थियो। अहिले दुर्घटना निकै कम हुन्छ अनि मदिरा पिएर सवारी चलाउनेलाई जेल सजाय हुन्छ। जापानीहरू नियम मान्ने, समयलाई आदर गर्ने, काममा गम्भीर हुने गर्छन्।
ट्रेनमा भने सबै आफ्नै धुनमा हुन्छन्। व्यक्तिगत गोपनीयताको एकदम ख्याल राखिने रहेछ। तर, कहिले कहिले जापानीहरूले हँसिलो मुस्कानले आफ्नो मनको पीडा लुकाएको हो कि झैं लाग्ने। अहिले आत्महत्याको दर पनि बढ्दै रहेछ। कामको तनावले आत्महत्या भएको अनुमानसहित अहिले धेरै काम गर्न नपाइने नियम ल्याउन लागिएको रहेछ। मलाई अर्को रमाइलो लागेको नियमचाहिँ कसैले विवाहपश्चात् अन्य पुरुष वा महिलासँग सम्बन्ध राख्छ भने अनि प्रमाणित हुन्छ भनेचाहिँ ३० लाख जरिवानाको कडा नियम रहेछ। त्यो प्रमाण खोज्न सहयोग गर्ने जासुस कम्पनीहरू नै रहेछन्। अपराध कम, विनम्रता, कामको सम्मान नै उनीहरूको परिचय बनेको रहेछ। देश प्रणालीले पनि बन्ला तर संस्कारले दिगो बनाउँछ।
०००
यातायातको सवालमा जापानले गर्न के बाँकी छ र जस्तो लाग्ने ? हवाई, ट्रेन, बस, पानीजहाज, केबल कार, ट्याक्सीदेखि मान्छेले तानेर चलाउने गाढासम्म सबै सुलभ छ, नागरिकको पहुँचमा छ। ट्रेन पनि मेट्रो, मोनो रेल अनि बुलेट ट्रेन सबै रहेछ। ट्रेनकै कुरा गर्दा लोकल ट्रेनहरूचाहिँ अफिस टाइममा निकै भीड हुने रहेछ, टोकियोमा। मैले नेपालमा त्यसरी काठमाडौंको माइक्रोमा कोचिनु परेको थिएन जसरी त्यहाँ कोचिनु परेको थियो। यो फरक अनुभूति पनि रह्यो। ट्रेन कार्डले नै अटोमेटिक भुक्तानी गर्ने हुँदा सहचालकसँग झगडा हुने कुरा भएन। प्रायः जापानीहरू एउटा झोला बोकेर काममा गइरहेको अवस्थामा भेटिन्छन्। जापानीहरू ट्रेनमै सुत्छन्। यस्तो लाग्छ यी जापानीहरू कैयौं पुस्तादेखि देश बनाउन सुतेकै छैनन्।
एक जना साथीको आफन्तको घर गयौं। त्यो घरको निर्माण गरेको देखेर अचम्म लाग्यो। केही भएर घर ढल्यो भने भनेर लाइफ ज्याकेट, रुम रुममा ग्यास सल्किएर आगो लाग्यो भने बचाउनको लागि सेफ्टी। जापानको ‘विडेट’ ट्वाइलेटचाहिँ संसारमै फरक छ। दिसा गरेपछि आफ्नै अटोमेटिक धोइदिने ट्वाइलेटले गर्दा जापानमा तपाईंलाई छुट्टै अनुभूति हुन्छ। सार्वजनिक ट्वाइलेटभित्र नै आमाहरूका लागि सानो बच्चा राख्न मिल्ने मेच जस्तो हुने रहेछ। यसले जापानीहरूको फराकिलो सोच दर्शाउँछ। जापानीहरू हरेक दिन कामबाट फर्केपछि बाथटबमा डुबेर आराम गर्ने रहेछन्। यसलाई ओफुरो भनिने रहेछ। हरेक धारामा खाने पानी आउँदा मैले ३० वर्षदेखि मेलम्चीको आशामा बिहान ३ बजेदेखि पानी थाप्न उठ्ने मेरा काठमाडौंबासीलाई सम्झन्थेँ।
ठाउँठाउँमा लभ पार्क, बच्चाहरू खेल्ने ठाउँ, आराम गर्ने ठाउँ, धूमपान गर्ने छुट्टै ठाउँ। एअरपोर्टको धूमपान गर्ने ठाउँ त, म कहिल्यै चुरोट नखाने मानिसलाई पनि चुरोट खाऊँ खाऊँ जस्तो लाग्ने आकर्षक रहेछ। एअरपोर्टको स्तनपान गराउने कोठा, प्रार्थना गर्ने कोठा, आराम कक्ष देख्दा उनीहरू काम गर्दा कति गहिराइमा गएर गर्छन् भन्ने दर्शाउँछ। हामी यहाँ एउटा एअरपोर्ट बनाउन पनि पण्डित बनेर झगडा गरेर बसेका छौं, उनीहरूले हामीले ५० वर्षमा पनि भेट्टाउन मुस्किल प्रगति गरिसके।
त्यहाँ मानिसहरू प्रायः उठेर काम गर्दा रहेछन्। वडा अफिसमा उठेर काम गर्ने अनि नागरिकलाई ढोकामै आएर कर्मचारीले सत्कार गर्ने प्रचलनले नै होला, सरकार त्यस्तो चुस्त बनेको। जापान ‘अटोमेटिक देश’ रहेछ। ढोका आफैं खुल्छ। ‘भेन्डिङ मसिन’देखि सबै कुरा आफैं हुन्छ। हामीले यो जापान वा आजको नेपाल होइन, १०० वर्षपछिको संसार सोचेर विकासको खाका कोर्न जरुरी छ। जोशमा आएर भाषणमा रेल ल्याएर मात्र हुनेवाला केही छैन।
०००
सन् २०१९ मा ग्लोबल पिस इन्डेक्सको सूचीमा जापान नवौं स्थानमा छ किनकि त्यहाँ बच्चालाई बाल्यकालदेखि नै अपराधविरुद्ध सिकाइन्छ। त्यसको जस धेरै हदसम्म शिक्षालाई जान्छ। ‘थ्यांक यु अनि सरी’को संस्कार स्कुलमै सिकाउने रहेछन्। मैले त्यहाँ रहँदा टोकियो विश्वविद्यालय, एउटा प्राइभेट स्कुल अनि एउटा सरकारी स्कुलबारे बुझ्ने मौका पाएँ। उनीहरू व्यापार होइन, साँच्चै शिक्षाका लागि लागिपरेको भान हुन्थ्यो। मैले सरकारी स्कुलका प्रधानाध्यापकलाई सोधेँ, ‘प्राइभेट अनि सरकारी स्कुलमा के फरक हुन्छ ? ’ उनले उत्तर दिए, ‘खासै हुँदैन, यहाँ शिक्षाको स्ट्यान्डर्ड एउटै हुन जरुरी छ।’ अनि मैले उनलाई नै सोधेको थिएँ, ‘तपाईंहरूकहाँ विद्यार्थीलाई कसरी मापन गर्नुहुन्छ ? ’ उनले भनेका थिए, ‘कुनै एउटा राम्रो गर्नु पर्यो। खेलमा होस् वा कुनै विषयमा।’
स्कुलमा एक जनालाई होइन सबलाई राम्रो गराउनुपर्छ भन्ने सोचेर काम गर्दा रहेछन्। हाम्रोमा त ९० प्रतिशत ल्याएको एक जना विद्यार्थीको फोटो झुन्ड्याएर व्यापार गर्छन्। त्यही स्कुलमा सयौं असफल विद्यार्थीबारे कोही जवाफदेही हुँदैन। खैर, जापानमा ४ कक्षासम्म आत्मानुशासन, आचरण अनि संस्कार सिकाउन जोड दिँदा रहेछन्। विद्यार्थीलाई लामो समय त जुत्ता राख्न मात्र सिकाइने रहेछ। कक्षामा खाजा बाँडेर खानेदेखि स्कुल सफा गर्ने जिम्मेवारी पनि विद्यार्थीकै हुने रहेछ।
सबै स्कुलमा स्विमिङ पुल अनिवार्य गरेको रहेछ। १० वर्षको उमेरपछि स्पोर्ट्स क्लब छिर्नैपर्ने रहेछ किनकि त्यसले उत्कृष्टता, अनुशासन, सामूहिक भाव र राष्ट्रप्रेमलाई एकसाथ लैजान्छ। खेल अनि अन्य क्रियाकलापलाई निकै महत्व दिँदा रहेछन्। विद्यार्थी अनि शिक्षकबीचको सम्बन्ध पनि निकै आत्मीय हुने रहेछ। म प्रिन्सिपलसँग कक्षाकोठा हेर्दै हिँडिरहेको थिएँ, एक जना विद्यार्थी प्रिन्सिपलसँग जिस्केर मज्जाले कुरा गर्दै थिइन्। हामी भने विद्यार्थीलाई तर्साएर नै राख्छौं। शिक्षक त साथीजस्तै हुँदा रहेछन्।
०००
चुनावका बेला पैसा र कटहर बाँडेको आरोप लागेपछि जापानका अर्थमन्त्रीले राजीनामा दिएको एक हप्ता नबित्दै केही महिनामै न्याय मन्त्रीले पनि राजीनामा दिएका छन्। जापानमा पनि हालका जापानी प्रधानमन्त्री अघिका अधिकांश सरकार अस्थिर थिए। राजनीति जहाँ पनि अस्थिर नै हो तर विधिमा चल्ने देश अनि संस्थाहरू बलियो भएको देशमा नेता वा राजनीति हावी हुँदैनन्, नागरिकले नै पेल्छन्।
जापान होस् वा अन्य देश, देश नेताले बनाउने होइन। नेताले ऊर्जा भर्ने हो, विश्वास दिलाउने हो। नेताले प्रणाली बनाउँछन्, काम त्यही प्रणालीले गर्छ। शक्ति सन्तुलन राख्छन्। नागरिकले जब नेतालाई सम्झिन्छन् तब नेताको समर्पण देखेर नागरिकभित्र पनि समर्पणको भावना जाग्न जरुरी छ। नेतालाई सबै थाहा हुनुपर्छ भन्ने पनि छैन। कसलाई के थाहा छ भन्नेचाहिँ नेतालाई थाहा हुनुपर्छ। त्योअनुरूप नेतृत्वले जिम्मेवारी दिने हो, परिचालन गर्ने हो। आज ली क्वान युको फोटो एउटा ड्राइभरले पनि आफ्नो ट्याक्सीमा राख्छ किनकि उसलाई उसको नेताले ऊर्जा दिन्छ। त्यो नेता उखुको मूल्य, दूधको मूल्य, गोलभेडाको मूल्य नपाउँदा नागरिकसँग उभिन्छ, माफियासँग होइन। किसानले मेहनत गर्दा भोकै मर्नु पर्दैन। सरकार छ भन्ने अनुभूति प्रत्येक कुरामा प्रत्येक चोटि दिलाउँछ।
जापानीले युद्धपछि भने शिक्षा अनि पूर्वाधारमा व्यापक लगानी गरे। जापानको विकास दिगो त्यहाँको संस्कारले भएको हो। एउटा यथार्थ संवादसँगै बिट मार्छु। हामी खाना खान एकजना भिनाजुको घर गएका थियौं। लामो छलफलपछि मैले हिँड्ने बेलामा भिनाजुलाई सोधेँ, ‘भिनाजु नेपाल नफर्कने ? ’ भिनाजुको उत्तर थियो, ‘छोरो ८ मा पढ्छ। छोरी १० मा। नेपाल लगेर कहाँ पढाउनु ? अनि, अब त बूढो पनि भइयो। मधुमेह लाग्न सक्छ, मुटुको रोग लाग्न सक्छ। अस्पताल कहाँ जानू ? ’ केही सेकेन्डको मौनतासँगै फेरि भिनाजुले भन्नुभयो, ‘नेताहरू नै उपचार गराउन यहाँ आउँछन्, अनि हामीचाहिँ उपचार गराउन यहाँबाट नेपाल जानु ? ’
त्यसमै दिदीले थप्नुभयो, ‘नेपालमा त जे काम गराउन पनि मान्छे चाहिन्छ भन्छन्। हाम्रो त्यस्तो पहुँच भएको काम गरिदिने मान्छे नै को छ र ? ’