‘आधुनिक’ शिक्षाको जग
संस्कृत शिक्षा–प्रणालीको चर्चा गर्दै माननीय शिक्षामन्त्रीज्यूले भन्नु भयो कि नेपाली भाषाको जरा नै संस्कृत हो। त्यसलाई अवहेलना गर्न सकिंदैन तर हाम्रो भाषामा बोझको रूपमा आउन नपावोस् भन्ने ख्याल राख्नु पर्दछ।
नेपालमा ‘आधुनिक’ भनेर जानिने शिक्षाको इतिहास लामो छैन। राणा शासनका प्रणेता जंगबहादुरले युरोप भ्रमण गरेर फर्केपछि आफ्ना भाइ–छोराहरूको शिक्षाको प्रयोजनका लागि खोलेको ‘स्कुल’लाई नेपालको पहिलो आधुनिक स्कुल भन्ने गरिएको छ। यो स्कुलमा बिस्तारै भारदारहरू र अन्य सम्भ्रान्तका बच्चाहरूको पनि पहुँच पुग्यो। तर मूलतः राणाकालमा शिक्षा, अझ त्यसमा पनि ‘आधुनिक’ शिक्षामा, सर्वसाधारणको सहज पहुँच थिएन, नियन्त्रण गरिएको थियो। हुन पनि २००७ सालमा नेपालबाट राणा शासन फ्याँकिँदा यहाँको साक्षरता दर दुई प्रतिशतभन्दा कम थियो। साक्षर हुनु भनेको फगत साधारण पढ्न–लेख्न जान्नु मात्रै हो। त्यस बेला, मुलुकभरमा एउटा मात्र कलेज थियो, अनि जम्माजम्मी ११ वटा हाइस्कुल थिए।
राणा काल सकिएर प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव भएपछि नेपालमा सबैभन्दा ठूलो परिवर्तन कुनै क्षेत्रमा आयो भने त्यो सम्भवतः शिक्षा क्षेत्रमै आयो। धेरैले नेपालको इतिहासमा २००७ साललाई ‘टर्निङ प्वाइन्ट’ वा पानी ढलोका रूपमा लिन्छन्, जहाँबाट मुलुकले ठूलै फड्को मार्यो। आफ्नो विद्यावारिधि अनुसन्धानका क्रममा मैले थुप्रै मानिससँग कुराकानी गर्दा उनीहरू सबैले २००७ साललाई क्रमभंगकै हिसाबले व्याख्या गर्थे। उनीहरूले कुन हिसाबमा क्रमभंग भनेका हुन् भनेर मैले थप जान्न खोज्दा करिबकरिब सबैले औंल्याएको एउटा विषयचाहिँ शिक्षा–विकास–विस्तार नै थियो।
हो पनि, २००७ सालपछि प्रत्येकजसो गाउँमा विद्यालय खोल्ने लहर चलेको थियो। गाउँलेहरू आपसमा मिलेर विद्यालयबाहेक पुस्तकालय, चारपाते क्लब, टोल सुधार समिति लगायतका संस्था पनि गाउँमा स्थापना गरे। सहरबजारमा र खास गरी केन्द्रमा भने सबै खाले राजनीतिक दल र सामाजिक संघ–संगठन खुले। र, धार्मिक पनि। विचार मिल्ने मानिसहरू मिलेर आफ्ना ससाना रुचि र सरोकार अघि बढाउन संघटित भइहाल्ने परिस्थिति तयार भयो। समग्रमा समाज निकै ज्वलन्त, जीवनयुक्त (भाइब्रेन्ट) भयो। प्राध्यापक कमलप्रकाश मल्लले सात सालपछिको एक दशकलाई ‘डिकेड अफ एक्स्ट्रोभर्सन’ भनेका छन्।
यद्यपि, सात सालपछिको राजनीतिक स्थिति भने गन्जागोलपूर्ण नै थियो, स्पष्ट गोरेटो पक्डन सकेको थिएन। सत्ताको तख्ता पल्टाउने मुख्य आन्दोलनकारी शक्ति नेपाली कांग्रेस पनि ‘राजनीतिक दल’मा रूपान्तरण भइसकेको थिएन। न उसको विचारधारा प्रस्ट थियो, न पार्टी–संगठन बलियो थियो। अरू त अरू भइहाले— तीमध्ये धेरै विभिन्न स्वार्थ समूहका फगत स–साना झुण्ड मात्र थिए। अर्कोतर्फ, विभिन्न स्वदेशी र विदेशी शक्तिको चलखेल आफ्नै थियो।
यसरी राजनीतिले स्पष्ट बाटो लिन नसकेको अवस्थामा शिक्षा क्षेत्रलाई पनि राज्यले प्रस्ट दिशानिर्देश गर्न सकेन। नेपालमा पहिलेदेखि चलिआएको संस्कृत शिक्षा छँदै थियो, अनि देवशमशेरको पालाको भाषा शिक्षाको अवशेष पनि थोरबहुत बाँकी नै थियो। चन्द्रशमशेरको पालादेखिको नेपाली ‘बाबु’ तयार गर्ने स्रेस्ता पढाइ त झन् हुने नै भयो। पद्मशमशेरले रैतीलाई ‘उपयुक्त’ शिक्षा दिनका लागि लागू गरेको गान्धी–प्रणित आधार शिक्षा पनि अद्यापि राज्य–पोषित थियो। तर सात सालको आन्दोलनपछि रैतीबाट जनता भएकाहरूले मूलतः ‘आधुनिक शिक्षा’ रुचाएकाले यसले बाँकी सबैखाले पढाइलाई उछिनेर विस्तारै अघि पुग्यो। सहर–बजार, गाउँ जताततै यही शिक्षा चल्न थाल्यो। सँगै ‘नेपाली’ शिक्षाका लागि पनि केहीले जोडबल नगरेका होइनन्, तर तिनले खासै प्रभाव पार्न सकेनन्।
राजनीतिक उतारचढावबीच मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए। रुद्रराज पाण्डेको अध्यक्षतामा नेपाल शिक्षा बोर्ड गठन भयो। तर यो बोर्डले खासै केही गर्न सकेको देखिँदैन। २०१० सालको मंसिरमा फुलब्राइट कार्यक्रमअन्तर्गत पटना, भारतमा काम गर्न आएका ओरेगन विश्वविद्यालयका शिक्षाका प्राध्यापक ह्यु बी उड र उनकी श्रीमती नेपाल र सांग्रिला घुम्न आएका थिए। उडलाई त्यति बेला नेपालमा अमेरिकी मिसनको नेतृत्व गरिरहेका पाउल रोजले प्रधानमन्त्री कोइराला र शिक्षामन्त्री डिल्लीरमण लगायतसँग भेट गराए। प्रधानमन्त्री र मन्त्रीले नेपालको शिक्षा विकासउपर चासो राखेपछि उडले शिक्षाको योजनाबद्ध विकासबारे आफ्ना कुरा राखे। भोलिपल्टै नेपाली पक्षले रोजलाई शिक्षा क्षेत्रमा सहयोग गर्न अनुरोध गर्यो। सोही क्रममा उड् नेपालमा अमेरिकी शिक्षा सल्लाहकारका रूपमा केही महिनापछि (चैतमा) फर्किए।
यसबीच शिक्षा बोर्ड (? )ले शिक्षा मन्त्रालयलाई ‘शिक्षा मन्त्रालयलाई शिक्षासम्बन्धी भइरहेका सुविधाहरूको जाँच गरेर नेपालमा देशव्यापी राष्ट्रिय शिक्षाको योजना तयार पार्नको लागि राष्ट्रिय शिक्षा योजना आयोग नियुक्त गर्न सिफारिस गर्यो।’ सोहीअनुरूप राष्ट्रिय शिक्षा आयोग गठन हुन पुग्यो। रुद्रराज पाण्डेले नै यो आयोगको नेतृत्व गर्ने भए। नेपालमा शिक्षाको योजनाबद्ध विकास गर्ने परियोजनाको ‘सल्लाहकार’ हुने गरी अमेरिकी प्राध्यापक ह्यु उड नेपाल फर्के। आयोगमा अध्यक्ष पाण्डेबाहेक अरू ३५ सदस्य मनोनयन गरियो, जसको नाम गोरखापत्रको यहाँ उद्धृत समाचारमा पनि दिइएको छ। आयोगमा त्यति बेलाका जाने–मानेका मानिस, शिक्षाविद्हरू राखेको देखिन्छ। त्यस्तै, चार–पाँच जना महिलालाई पनि आयोगका सदस्य बनाइएको थियो। यद्यपि, गोरखापत्रमा दिइएका सदस्यहरूको नामावली र आयोगले तयार गरेको प्रतिवेदनमा उल्लिखित केही नामहरूमा भिन्नता पाइन्छ।
आयोग संघटित हुनेबित्तिकै नेपाल सरकारको शिक्षा मन्त्रालयले सिंहदरबारको ग्यालरी बैठकमा चैत ९, २०१० देखि पाँचदिने शिक्षा–सम्मेलन आयोजना गर्यो। यस किसिमको सम्मेलन नेपालमा ‘पहिलो पटक’ भइरहेको थियो। ‘सम्मेलन हेर्न चाहनेहरूलाई पासको व्यवस्था’समेत गरिएको थियो। ‘यो सम्मेलन नेपालका लागि शैक्षिक कार्यक्रमको योजना तयार पार्ने उद्देश्यले आयोजना गरिएको’ र सम्मेलनमा देशका विभिन्न भागबाट आएका शिक्षा विशेषज्ञहरूले पनि भाग लिँदै’ गरेको गोरखापत्रमा लेखिएको छ।
वैठकले तत्कालैदेखि तदारुकताका साथ काम गर्न सुरू गरेको देखिन्छ। पहिलो बैठकबाट तीन उपसमिति गठन गरिएको र समितिले दुई महिनाभित्र ‘आफ्नो व्यापक रिपोर्ट तयार पार्ने आशा गरेको’ गोरखापत्रले छापेको थियो। सम्मेलनले प्रमुख ‘विचारणीय’ ठानेका तीन विषय थिए— १) शिक्षाका दृष्टिकोणबाट भाषाको समस्या, २) स्त्री शिक्षा, र ३) वर्तमान अवस्थानुसारको शिक्षा प्रणालीमा विचार। तर यी विषयउपर तत्काल निर्णय नलिई ती विषयका ‘महŒवलाई हेरेर यिनीहरूको निर्णय पछि गर्ने ठहर’ गर्यो। सो सम्मेलनले प्रमुख विषय ठानेका तीन विषयमा ‘जनताको राय जान्नका लागि जनतामा प्रचारार्थ एउटा प्रश्नावली’समेत तयार पारेको थियो, र सोका लागि एउटा ‘प्रचार बोर्ड’ पनि संघटित गरेको थियो। सो राय लिने काम उसले दुई महिनामा सक्ने निर्णय गरे पनि बाटोघाटोको असुविधा भएको तत्कालीन नेपालमा त्यति समयमा सो काम सम्पन्न हुन सक्थेन। र, भएन पनि।
आयोगले लगनसाथ काम गरेर करिब एक वर्षभित्र एउटा रिपोर्ट तयार गरेर सरकारलाई बुझायो। सरकारले आयोगका सुझाव कार्वान्वयन गर्न पनि थालेको थियो। आयोगको एउटा मुख्य चासो रहेको विषय शिक्षाको माध्यम–भाषा थियो। यस विषयमा नेपालीको रुचि स्थानीय र मातृभाषामा पढाउनेतर्फ भए पनि आयोगका अमेरिकी सल्लाहकार उड सुरुदेखि नै नेपालभरि एउटै भाषामा पढाउनुपर्ने विचार राख्थे। उनले एउटा साझा भाषालाई प्राधान्य दिँदाको तीन लाभ यसरी गिनाएका थिए— एक त, ‘भाषाको एकताबाट राष्ट्रिय एकता मजबुत हुन्छ।’ दोस्रो, ‘पुस्तकहरू र शिक्षकहरूको किफायती हुनेछ।’ तेस्रो, ‘सानो अवस्थामा केटाकेटीले जति चाँडो अरू भाषा सिक्न सक्छन्, त्यति पछि सक्दैनन्। यस कारण प्रारम्भिक शिक्षा राष्ट्रभाषामा भयो भने केटाकेटीहरू सानै अवस्थादेखि राष्ट्रभाषा राम्रो बुझ्ने हुन जान्छन्।’ अन्ततः यो विषयमा उड नै हावी भए। उडको यो विचारलाई तत्कालीन शासक महेन्द्रले टपक्क टिपे, र लागू गरे, जसको व्यापक मात्रामा विरोध पनि भएको थियो।
नेपालको पहिलो शिक्षा आयोगका गठन, त्यसको उद्घाटन, त्यहाँ दिइएका भाषण र तिनका गतिविधिबारे गोरखापत्रमा चारवटा सामग्री छापिएका छन्। तीमध्ये चार रिपोर्ट यहाँ जस्ताको–तस्तै दिइएको छ— हिज्जे र व्याकरण र भाषा सम्पादन गरिएको छैन, छपाइ नबुझिने ठाउँमा कोष्ठकभित्र प्रश्नवाचक चिह्न राखिएको छ। यी रिपोर्टको अन्तमा रे.ने. लेखिएकाले यी सामग्री पहिले रेडियो नेपालले बजाएको र त्यहीँबाट गोरखापत्रले लिएको हुनसक्ने देखिन्छ। यी सामग्रीले तत्कालीन नेपालको पत्रकारिता र खास गरी रिपोर्टिङको शैलीबारे त बताउँछन् नै, नेपालको शिक्षाको डिस्कोर्सलाई बुझ्न पनि सघाउँछन्।
(पराजुली मार्टिन चौतारीसँग आबद्ध ऐतिहासिक समाजशास्त्री हुन्)
गोरखापत्र, चैत्र ११, २०१०, पृ. १ र ४।
नेपाली शिक्षासमितिको तत्वावधानमा शैक्षिक सभा
०देश विदेशका विभिन्न विद्वान्हरूको भाषण : ३५ जनाको समिति संघटित
काठमाडौं, चैत्र ९ गते। आज काठमाडौंको सिंहदरबार ग्यालरी वैठकमा नेपाल शिक्षा समितिको तत्वावधानमा एक शैक्षिक सभा भएको थियो। नेपाल शिक्षा समितिका अध्यक्ष सरदार श्रीरुद्रराज पाँडे सभापति हुनुहुन्थ्यो। सभामा नेपाल शिक्षा समितिका सदस्यहरूको अतिरिक्त धेरै गण्यमान्य विद्वान्हरू पनि हुनुहुन्थ्यो। त्यसमा(? ) माननीय प्रधानमन्त्री श्रीमातृकाप्रसाद कोइराला, गृहमन्त्री श्रीटङ्कप्रसाद आचार्य, शिक्षा मन्त्री श्रीदिल्लीरमण रेग्मी, मा. यातायात मन्त्री श्रीभद्रकाली मि श्र, अमेरिकाका शिक्षा सम्बन्धी सल्लाहकार डा. उड र अमेरिकी (Operating Mission) का डाइरेक्टर Mr. Powl w. Roseपनि हुनुहुन्थ्यो।
सभामा भाषण गर्दै माननीय शिक्षामन्त्रीले नेपालको यस समयको शिक्षा सम्बन्धी स्थितिको चर्चा गर्नुभयो। वहांले भन्नुभयो कि ‘हामीले प्रथम(? ) गरेको कामहरूमा मात्र निर्भर रहन हुँदैन। नेपालमा शिक्षित त केकुरा थोरै पढेलेखेका मानिसको संख्या पनि सार्है थोरै छ। यस तर्फ विशेष प्रगति पनि भएको छैन।’ उहाँले भन्नुभयो— नेपालमा स्कूल कलेजको संख्या पनि साहै्र थोरै छ।
उहाँले सम्मेलनको अगाडि आईराखेका कामहरूको चर्चा गर्दै भन्नुभयो— हालैमा नेपाल सरकार र अमेरिका सरकारका बीच नेपालको शैक्षिक विकाशको निमित्त एउटा सम्झौता माथि हस्ताक्षर भएको छ, जसको अन्तरगत नेपालले दुइ लाख रुपियाँ र अमेरिका सरकारले ३४ हजार डालर खर्च गर्नेछन्।
माननीय शिक्षामन्त्री श्रीरेग्मीले नेपाल शिक्षा विकाशको नवीनमार्ग पैल्याउन नसकेको कारण पनि बताउनु भयो। उहांले भन्नुभयो मुलुकको शैक्षिक योजना बहुमुखी हुनुपर्दछ र साथै राष्ट्रिय उमङ्गमा आधारित हुनुपर्दछ।
उहाँले सम्मेलनमा भाग लिन आउनु भएका अमेरिकाको ओरगिन विश्वविद्यालयका शैक्षिक सल्लाहकार डाक्टर उडको परिचय दिँदै भन्नुभयो कि ‘नेपालको शिक्षासम्बन्धी काममा उहाँ नेपाल आउनु भएको यो दोस्रो पटक हो।’ शिक्षामंत्रीज्युले डाक्टर उड्को सुझावको प्रशंसा गर्नुभयो। डाक्टर उड्ले सुझाव दिनुभएको थियो ‘कि शुद्ध शिक्षा प्रणालीको बाहिरबाट आयात गर्न हुँदैन, मुलुककै इच्छा र परम्पराबाट उपयुक्त शिक्षाप्रणाली बसाल्नु पर्दछ।’
उहाँले यो पनि सुझाव दिनुभयो कि हामीले आफ्नो खुट्टामा उभिने बानी बसाल्नु पर्दछ। धनी मानिसहरूले शैक्षिक संस्थाहरूलाई चन्दा दिएर सहयोग गर्नु पर्दछ भन्ने कुरा माथि पनि उहाँले जोड दिनु भयो।
माननीय शिक्षामंत्रीज्युले(? ) भन्नुभयो(? ) जनताबाट प्रसंशा पाएका मानिसहरू अगाडि आउने बेला आएको छ।
उहांले प्रस्तावित योजनालाई मुलुकको शिक्षालाई उपयुक्त बनाउने काममा सम्मेलनले विशेष पहल गरोस् भन्ने सुझाव पनि दिनुभयो।
उहाँले भन्नुभयो–– स्वावलम्वी हुन सिकाउने कुरामा विशेष जोड दिनु पर्दछ ताकि लडका लडकीहरूले स्कूलबाट निस्कनासाथ कमाउन सकून्।
उहाँले महात्मा(? ) गान्धी(? ) शिक्षा प्रणालीको पनि चर्चा गर्नु भयो र यहाँका आधार स्कूलहरू राम्ररी चलेका छैनन् भन्नुभयो। उहांले आधार स्कूलहरू राम्ररी चल्न नसकेका केही सम्भावित कारणहरू माथि सम्मेलनको ध्यान आकर्षित गर्नुभयो।
संस्कृत शिक्षा–प्रणालीको चर्चा गर्दै माननीय शिक्षामन्त्रीज्यूले भन्नु भयो कि नेपाली भाषाको जरा नै संस्कृत हो। त्यसलाई अवहेलना गर्न सकिंदैन तर हाम्रो भाषामा बोझको रूपमा आउन नपावोस् भन्ने ख्याल राख्नु पर्दछ।
संस्कृत शिक्षा–प्रणालीको पुनस्संस्थान ? गर्न हाल के कति आवश्यक छ भन्ने कुरा सम्मेलनले विचार गरोस् भन्ने कुरा पनि उहांले बताउनु भयो।
उहांले नेपाली भाषामा लेखिएका पुस्तकहरूको चर्चा गर्दै भन्नु भयो कि भारतको प्रादेशिक भाषामा गत ५० वर्ष भित्रमा जति प्रगति भएको छ त्यति हाम्रो भाषामा भएको छैन।
अन्तमा उहांले शैक्षिक योजना पूरा व्यावहारिक हुनुपर्दछ भन्ने कुरामा जोड दिनुभयो।
ओरेगीन विश्वविद्यालयका शैक्षिक सल्लाहकार डाक्टर उड्ले सम्मेलनमा बोल्दै अमेरिकी शिक्षा–प्रणालीको चर्चा गर्नु भयो र साथै राम्रो शिक्षा प्रणाली कस्तो हुनुपर्दछ भन्ने कुराबारे भाषण गर्नुभयो।
उहांले भन्नु भयो—छात्रहरूको वास्तविक चाहना मुताविकको शिक्षा हुनु पर्दछ। छात्रहरूलाई बोझ हुने किसिमको शिक्षा प्रणाली हुनु हुँदैन।
उहांले भन्नुभयो, राष्ट्रिय शिक्षा प्रणाली तय गर्नुभन्दा पहिले देशको शिक्षा सम्बन्धी समस्याहरू र संस्कृतिको राम्रो अध्ययन गर्नु पर्दछ।
सामाजिक(? ) तथा व्यक्तिको आवश्यकताको अध्ययन गरेर कस्तो किसिमको शैक्षिक कार्यक्रम अपनाउनु पर्दछ जसबाट जीविका चलाउन सकून् पनि भन्नु भयो।
उहाँले भन्नु भयो, शिक्षकहरूलाई तालीम गर्ने कुरालाई पनि कार्यक्रममा महत्वपूर्ण स्थान दिनु पर्दछ।
डाक्टर उड्ले आफ्नो भाषणमा यो पनि भन्नु भयो कि नेपालमा भर्खर प्रजातन्त्र आएको छ तसर्थ अहिले नेपालले अरूले गरेका भूललाई हटाएर राम्रो व्यवस्था अपनाउन सक्तछ।
त्यस अवसरमा भाषण दिनेहरूमा अमेरिकाको Operating Mission का डाइरेक्टर Mr. Powl w. Rose ले पनि भाषण दिनु भएको थियो। उहांले भन्नुभयो कि शिक्षाको विभिन्न विकास योजनासंग सम्बन्ध हुनै पर्दछ र शिक्षाको मुख्य साध्य(? ) नै विकाश योजनामा हुनुपर्दछ।
उहांले भन्नुभयो, शिक्षकहरू बेकारमा बसिरहेका व्यक्तिहरू ? हेरेर प्रभावित हुनु पर्दछ र सबै अवस्थाहरूलाई बुझ्ने तथा मर्मज्ञ हुनु पर्दछ।
सभामा सभापति पदबाट भाषण गर्दै नेपाल शिक्षा समितिका अध्यक्ष सरदार श्रीरुद्रराज पाण्डेले कला, संस्कृति र शिक्षा क्षेत्रमा नेपालको गौरवमय इतिहासको उल्लेखका साथसाथै वर्तमान स्थितिको पनि चर्चा गर्नु भयो। वहाँले आफ्नो भाषणमा यो कुरा पनि देखाउनु भयो कि नेपाली इतिहासको आदिकाल र मध्यकालमा अनेकौं राजा तथा विद्वान्हरूले कसरी साहित्य, कला र शिक्षाको रचना तथा उन्नति गरी नेपालको गौरव बढाएका थिए—
उहाँले भन्नुभयो कि इतिहास कालमा नेपाल उत्तरी र दक्षिणी विचारधाराको संगम थियो। यहाँ नै हिन्दु संस्कृति र बौद्ध संस्कृतिको समन्वय भयो। नेपालले इतिहासको धेरै शङ्कटपूर्ण स्थितिमा दक्षिणतिरका धेरै विद्वान्हरूलाई आ श्रय दिएको थियो र धेरै कलात्मक तथा सांस्कृतिक ग्रन्थहरूलाई बचाएर पनि राख्यो। यी कुराहरूबाट यो स्पष्ट हुन्छ कि नेपाल ऐतिहासिक कालमा शिक्षा संस्कृति र साहित्यको दृष्टिबाट कति उन्नत थियो।
‘तर’ श्रीरुद्रराज पाण्डेले भन्नुभयो— ‘पछि आपसी द्वेष र वैमनस्यताको वातावरण उत्पन्न हुन गएकाले समय अनुसार प्रगति हुन सकेन। जसबाट आज नेपालमा शिक्षाको धेरै कमी देखिन गएको छ। प्रारम्भिक शिक्षासम्म पनि नेपालव्यापी हुन सकेको छैन। आधार शिक्षाको प्रादुर्भाव भएको छ। तर त्यसको अङ्गपूर्ण हुनसकेको छैन। भाषाको विभिन्नताले पनि शिक्षालाई गतिहीन तुल्याइ राखेको छ। संस्कृत अव्यवहारिक भनी त्यसको प्रचार हुन सकेको छैन। न पाठ्यक्रम र पाठ्यपुस्तककै राम्रो बन्दोवस्त हुन सकेको छ।’
उहाँले आफ्नो भाषणको अन्तमा सबै शिक्षित जनतासँग ? आफ्नो राष्ट्रिय संस्कृति तथा साहित्यलाई पुनजीवित गरी त्यसलाई गति दिन सहयोग गर्न अपील गर्नुभयो।
शिक्षा विभागका डाइरेक्टर श्रीजितेन्द्र बहादुर शाहले सभामा शिक्षा विभागको कार्यविधि संबन्धी रिपोर्ट सुनाउँदै शिक्षा तथा शिक्षण संस्थाहरूको वर्तमान रूपरेखा दर्शाउनु भयो।
बेलुकी पख समितिका सदस्यहरूको वैठक भएको थियो। वैठकमा ३ वटा उपसमिति गठन गर्ने काम भयो। समितिले २ मास भित्र आफ्नो ब्यापक रिपोर्ट तयार पार्ने आशा गरेको छ।
नवगठित नेपाल शिक्षा समितिमा ३५ जना सदस्यहरू छन्ः–
सदस्यहरूको नाम यसप्रकार छः–
अध्यक्ष श्रीरुद्रराज पाण्डे र सदस्यहरू –
सर्व श्री भैरवबहादुर प्रधान, श्रीतीर्थराज उप्रेती, श्रीनरेन्द्रमणि, श्रीत्रैलोक्यनाथ उप्रेती, श्रीजितेन्द्रबहादुर शाह, श्रीनयनराज गुरुज्यू, श्रीपद्मप्रसाद, श्रीमहानन्द सापकोटा, श्रीअयोध्याप्रसाद, श्रीआशुतोष सेन, करुणाकर वैद्य, श्रीबालकृष्ण सम, श्रीभवनाथ ढुंगाना, श्रीकुलरत्न, श्रीसिद्धिमणि, कुमारी ? राणा, श्रीगुञ्जमान, श्रीकुमारी शाह, श्रीयदुनाथ खनाल, श्रीअमृतप्रसाद प्रधान, श्रीरत्नबहादुर विष्ट, श्रीदेवनाथ शर्मा, श्रीबाबुराम आचार्य, श्रीश्यामराजध्वज जोशी, श्रीगोविन्द मोहन श्रीवास्तव, श्रीशंकरदेव पन्त, श्रीमुरारीकृष्ण शर्मा, श्रीबलबहादुर? , श्रीमती बुढाथोकी, श्रीतुलसीबहादुर, श्रीगोपाल पाँडे, श्रीविजयानन्द जोशी, श्रीमती चन्दा गुरुङ र श्रीमती चन्दा महत। रे.ने.
गोरखापत्र, १३ चैत २०१०, पृष्ठ १ र ४
नेपाल शिक्षा समितिको पूर्ण वैठक
“भाषाको एकताबाट राष्ट्रिय एकता बलियो हुन्छ,”
अमेरिकी शिक्षा विशेषज्ञ डा. उडको कथन
काठमाडौं, चैत्र १२ गते। हिजो सिंहदरबार ग्यालरी बैठकमा नेपाल शिक्षा समितिको पूर्ण वैठक भयो। वैठकमा विचारणीय तीन मुख्य विषय थिए। जसमध्ये एउटा शिक्षा माध्यमको दृष्टिकोणबाट भाषाको समस्या, दोस्रो स्त्री शिक्षा विषयक र तेस्रो वर्तमान अवस्था अनुसारको शिक्षाप्रणाली निर्णय गर्नु थियो। तर हिजोको सम्मेलनमा उपर्युक्त तिनै विषयमाथि कुनै निर्णय भएन र यी विषयहरूको निर्णय पछि मात्र गर्ने निश्चय गरियो।
सम्मेलनले यो पनि निर्णय गर्यो कि आगामी २ महिनासम्म कमीशनको मुख्यकाम शिक्षा सम्बन्धी विभिन्न कुराहरू माथि जनताको राय बुझ्नु हुने छ। यसका लागि क्यारिकुलेम उपसमितिले जनतासँग शोध्न एउटा प्रश्नावली पनि तयार पारेको छ। प्रश्नावलीमा उल्लिखित प्रश्नहरूको उत्तर जनताबाट प्राप्त गर्नका लागि शिक्षा समितिका सदस्यहरू देशको विभिन्न भागमा घुम्ने छन् र यसका अतिरिक्त जनताको रायका लागि रेडियो, पत्रपत्रिका आदिबाट पनि अपील गरीने छ।
नेपाल शिक्षा समितिको हिजोको पूर्ण वैठकमा शिक्षा विषयमा अमेरिकी सल्लाहकार मि. उडले एउटा छोटो भाषण दिई समितिको कार्य्विधि तथा सदस्यहरूको कर्तब्य विषयमा प्रकाश पार्नुभयो।
दिउँसो समितिको पूर्ण वैठक समाप्त भएपछि समितिले अस्ति गठन गरेको तीनवटा उपसमितिहरूको बेग्लाबेग्लै वैठक भयो।
हिजोको सम्मेलनमा पनि अमेरिकी डा. उडले आवश्यक विषयमा आफ्नो सल्लाह दिनुभएको थियो।
आज विहान नेपाल शिक्षा समितिका अध्यक्ष सरदार श्रीरुद्रराज पाण्डे, सेक्रेटरी श्रीत्रैलोक्यनाथ उप्रेती र तीनैवटा उपसमितिका अध्यक्षहरूले माननीय शिक्षामन्त्री श्रीदिल्लीरमण रेग्मीलाई भेटी समितिको हिजो सम्मको कार्य्विधि सम्बन्धी रिपोर्ट दिनु हुने छ। त्यस अवसरमा त्यहाँ डा. उड र अमेरिकी इउभचबतष्यल ःष्ककष्यल का डाइरेक्टर मि. रोज पनि उपस्थित हुनु हुने छ।
समितिको कार्य्विधि र उद्देश्य जनतामा विदित गराउन चार जना सदस्यहरूको एउटा पब्लिसिटी बोर्डको पनि गठन भएको छ। जसमा श्रीत्रैलोक्यनाथ उप्रेती, श्रीमुरारिकृष्ण शर्मा, प्रोफेसर श्रीअमृतप्रसाद र श्रीश्यामराजध्वज हुनहुन्छ।
अमेरिकी शिक्षा विशेषज्ञ डा. उड् आज काठमाडौंबाट हवाइ जहाजद्वारा भारततिर प्रस्थान गर्दै हुनुहुन्छ। आउँदो जून महीना तिर उहाँ फेरि काठमाडौं फर्किने आशा गरिएको छ। हिजोको शिक्षा समितिको पूर्ण सम्मेलनमा अध्यक्ष सरदार श्रीरुद्रराजले डा. उड्को राम्रो सल्लाहको प्रशंसा गरी उहाँलाई धन्यवाद दिनु भयो।
हिजोको पूर्ण बैठकमा भाषण गर्दै अमेरिकी शिक्षा विशेषज्ञ डा. उड्ले प्रारम्भिक शिक्षामा भाषाको माध्यम समस्या विषयमा पनि आफ्नो विचार प्रकट गर्नु भयो। उहाँले भन्नुभयो कि २०(? ) वर्ष अगाडि अमेरिकामा पनि त्यही समस्या उत्पन्न भएको थियो। त्यसबेला अमेरिकामा धेरै भाषा बोलिन्थ्यो। तर क्रान्ति पछि सर्व क्षेत्रमा अंग्रेजीलाई प्राधान्यता दिइयो र आज अमेरिकामा भाषाको कुनै समस्या छैन।
साना साना स्थानीय भाषाहरू माथि जोड नदिएर एकै भाषालाई प्राधान्यता दिएमा कति कुराको लाभ छ भन्ने कुरा देखाउँदै डा. उड्ले तीन कुरा देखाउनु भयो। त्यसमध्ये एक त भाषाको एकताबाट राष्ट्रिय एकता मजबूत हुन्छ। दोस्रो पुस्तकहरू र शिक्षकहरूको किफायती हुनेछ। तेस्रो कुरा सानो अवस्थामा केटा केटीले जति चाँडो अरू भाषा शिक्न सक्दछन् त्यति पछि सक्दैनन्। यस कारण प्रारम्भिक शिक्षा राष्ट्रभाषामा भयो भने केटा केटीहरू सानै अवस्थादेखि राष्ट्रभाषा राम्रो बुझ्ने हुन जान्छन्।
डा. उडले आफ्नो भाषणमा शिक्षा कमिशनका सदस्यहरूले देखाएको गत २।३ दिनसम्मको कार्य्विधिको पनि धेरै प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो कि मैले धेरै शिक्षा संस्थाहरूमा काम गरी सकें तर यहाँ जति उत्साह र तत्परता पूर्वक काम भएको देखें त्यसबाट म धेरै प्रभावित भएको छु। रे. ने.
गोरखापत्र, चैत ११, २०१०, पृ. ४
शिक्षा–सम्मेलनको कार्यक्रम
काठमाडौं, चैत ९ गते। आजदेखि काठमाडौं सिंहदरबार ग्यालरी बैठकमा नेपाल सरकार शिक्षा मन्त्रालयको आयोजनामा एउटा शिक्षा–सम्मेलन हुँदैछ।
यो सम्मेलन आगामी १३(? ) गते शुक्रवारसम्म चल्नेछ। यो सम्मेलन नेपालका लागि शैक्षिक कार्यक्रमको योजना तयार पार्ने उद्देश्यले आयोजना गरिएको छ र यस किसिमको सम्मेलन नेपालमा सर्वप्रथम हुँदैछ।
सम्मेलनमा देशका विभिन्न भागबाट आउनु भएका शिक्षा विशेषज्ञहरूले पनि भाग लिंदै हुनुहुन्छ।
सम्मेलन हेर्न चाहनेहरूलाई पासको व्यवस्था गरिएको छ।
शिक्षा सम्मेलनको कार्यक्रमलाई शिक्षा मन्त्रालयले प्रकाशित गरेको छ। जो यस प्रकार छः– चैत्र ९ गते विहान ११ बजे सम्मेलनको उद्घाटन नेपाल शिक्षा समितिका सभापति श्री रुद्रराज पाण्डेद्वारा सम्मेलनको उद्घाटन पछि माननीय शिक्षामन्त्री श्रीदिल्लीरमण रेग्मीज्यूद्वारा शैक्षिक कार्यक्रमको प्रस्ताव पेश
यसको अतिरिक्त पहिलो दिनको बैठकको कार्यक्रममा नेपालका लागि अमेरिकी अपरेशन मिसनका डाइरेक्टर मिष्टर पाउल रोजले शिक्षा विकास योजनाका? ? ? सम्बन्धमा र ओरेगन विश्वविद्यालयका शैक्षिक सल्लाहकार डाक्टर उडद्वारा माननीय शिक्षा मन्त्रीज्यूको वक्तव्य प्रति आफ्नो मन्तब्य प्रकट गर्दै भाषण तथा डाक्टर उडले आयोगको अख्तियार बारे बहस शुरु गर्ने।
पहिलो दिन शिक्षा विभागका डाइरेक्टर जेनरल श्रीजितेन्द्रबहादुर शाहले शिक्षा क्षेत्रमा काम गर्ने र चाख राख्ने सरकारी तथा गैर सरकारी प्रतिनिधिहरूद्वारा नेपालको शैक्षिक समस्या सम्बन्धमा दिएको सुझावहरू पेश—चैत्र १० गते मंगलवारको बैठकमा समितिहरूको कामको बाँडपाँट र साथै समितिका कार्य्विधिहरूलाई कार्या्न्वित गर्ने प्रस्तावहरूको विवरण तयार पार्न समितिहरूको सभाहरू—बुधवार चैत्र ११ गते समितिहरूद्वारा तयार पारिएको प्रयोगात्मक रिपोर्टहरू माथि बहस हुनेछ।
वृहस्पतिवारका दिन सुम्पिएको कार्य पूरा गर्ने र समाचार? संग्रहका साधन तथा उपाय विस्तार गर्ने बारे समितिको सभा हुने छ र अन्तिम दिन चैत्र १३ गते शुक्रवार वैशाख जेठतिर गरिने अनुसन्धानिक कार्य्विधिको निश्चित स्वीकृति प्राप्त गर्न समितिको रिपोर्ट पेश हुने छ र कामको तेरीज ठीक पार्ने तथा समितिहरूलाई कार्यहरूको अख्तियारी दिनेबारे माननीय शिक्षामन्त्री श्रीदिल्लीरमण रेग्मी र डाक्टर उडद्वारा भाषण हुनेछ।
गोरखापत्र, चैत १६, २०१०, पृ. २
(सम्पादकीय ? )
हाम्रो देश शिक्षा क्षेत्रमा सारै नै पछौटिएको छ। देशमा १ प्रतिशत पनि शिक्षित व्यक्ति भेट्टाउन गाहारो छ भने हुन्छ। हामीलाई देशमा अति छिटो शिक्षा प्रचार गर्नु परेको छ, किनकि जबसम्म देशमा(? ) राम्रो शिक्षा प्रचारद्वारा जनता शिक्षित हुँदैन तबसम्म देशमा प्रजातन्त्र फष्टाउने मौका प्राप्त हुँदैन। प्रजातन्त्रको मूल आधार जनता हो र त्यसलाई राम्रोसँग प्रकट गर्न शिक्षित जनताले नै सक्दछ।
हाम्रो देशमा स्कूल कलेजहरूको राजधानीलाई छोडेर अत्यन्त नितान्त अभाव छ। पहाड र तराईमा विद्यालयहरूको विस्तार गर्नु परेको छ साथै प्रौढहरूलाई शिक्षा दिन रात्रि पाठशालाको पनि खाँचो छ।
सबभन्दा मुख्य कुरो छ शिक्षा प्रणालीमा परिवर्तन। वर्तमान शिक्षाप्रणाली बहुव्यवसाय ? ? र धेरै समय लाग्नेछ। हामीलाई जनतालाई थोरै खर्च र थोरै समयमा सच्चा नागरिक बनाउनका साथ साथै आफ्नै गोडाले उभिन सिकाउने शिक्षा चाहिएको छ। अतस् देश र समय सुहाउँदो शिक्षा प्रणालीको निर्माण छिट्टै गर्नु परेको छ।
सामान्य शिक्षा—सरल राष्ट्रभाषाको माध्यमद्वारा दिनु उपयुक्त छ, त्यसमा आधुनिक व्यवहारोपयोगी सच्चा नागरिक बनाउने तत्वहरूको समावेश हुनुपर्दछ र अवधि छोटो राख्नु पर्दछ।
(? ) चाहिँ(? ) प्रतिभावान् व्यक्तिहरूलाई मात्र दिनु पर्दछ र त्यसमा विशिष्ट कुराहरू जस्तै देश विदेशको भाषा(? ) इतिहास, विज्ञान, साहित्य राजनीति आदिको समावेश हुनुपर्दछ।
देशको शिक्षा समस्यामाथि विचार गरी नवीन शिक्षा प्रणाली कायम गर्ने उद्देश्यले गत चैट्र ९ गतेदेखि १३ गतेसम्म स्थानीय सिंहदरवारमा नेपाल शिक्षा समितिको तत्वावधनाममा ५ ने सम्मेलन भयो यसले देश विदेशका विद्वानहरूको सहयोग पाएको छ। देशका सुप्रसिद्ध ३५ जना शिक्षा शास्त्रीहरूको (? )मा महिलाहरू पनि हुनुहुन्छ, विभिन्न उपसमितिमा समेटिनु भएको छ।
सम्मेलनको विचारणीय विषयहरूमा शिक्षाका दृष्टिकोणबाट भाषाको समस्या, स्त्री शिक्षा र वर्तमान अवस्थानुसारको शिक्षा प्रणालीमा विचार यी तीन कुरा मुख्य थिए। विषयका महत्वलाई हेरेर यिनीहरूको निर्णय पछि गर्ने ठहर भयो। साथै २ महीनासम्म जनताको राय जान्नका लागि जनतामा प्रचारार्थ एउटा प्रश्नावली तयार पारिएको छ र यसको लागि एउटा प्रचार बोर्ड पनि संघटित भएको छ।
आशा छ ती उपसमितिहरूले देश र काल सुहाउँदो शिक्षा प्रणाली र शिक्षा प्रचारबारे देशमा शिक्षाज्योति छिट्टै फैलिई देश उन्नत(? ) मुलुकको दाँजोमा चाँडो पुग्नेछ।