शहरका ‘गाँजा अखडा’

शहरका ‘गाँजा अखडा’

गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्छ भन्ने बहस अहिले नेपालमा पनि चल्न थालेको छ। थुप्रै युवा आफूलाई गाँजाको सोखिन भन्ने गर्छन्। पहिले मन्दिर गाँजा तान्ने अखडा हुन्थ्यो भने अहिले शहरका विभिन्न ठाउँमा अघोषित अखडा छन्। 


नेपालमा गाँजा वैधानिक हुँदा मन्दिर, सत्तल, पाटीपौवालगायत ठाउँमा मान्छेले खुल्लमखुल्ला खाने गर्थे। गाँजा अहिले प्रतिबन्धित छ। यसलाई फेरि खुला गर्नुपर्ने आवाज उठिरहेका छन्। खुला रूपमा खान नसके पनि काठमाडौँका विभिन्न ठाउँ गाँजा खाने ‘अखडा’ बनेका छन्। 

थापाथली ‘आश्रम’

थापाथलीस्थित आश्रम अर्थात् अखडामा बस्छन्, ५५ वर्षीय पुष्प दास। २० वर्षको उमेरमा उनी गृहस्थ जीवन त्यागेर जोगी बनेका थिए। त्यसबेलादेखि उनको आश्रम थापाथलीमै छ। उनको आश्रम कसरी गाँजाको अखडा बन्न पुग्यो त ? ‘साधुसन्तले खाने, सुत्ने र आराम गर्ने ठाउँ नै उनका आश्रम हुन्,’ पुष्प भन्छन्, ‘मन्दिरका सत्तल, पाटी, नदी आसपासलगायत खुलाँ ठाउँ जहाँ–जहाँ हामीले गाँजा, भाङ खाएर बस्थ्यौँ, त्यसलाई ‘फलानाको अखडा’ भनेर भन्न थालियो।’ यसरी साधुसन्त बस्ने आश्रम अखडा बनेको उनी बताउँछन्।

साधुसन्तले शिवबुटीका रूपमा गाँजा, भाङ, धतुरो, कस्तुरीको मिश्रित जडीबुटी खाने गरेका उनी बताउँछन्। ‘आजभन्दा ४५ वर्षअघि खुल्ला गाँजा तान्थेँ,’ उनी भन्छन्,  ‘यहाँ गाँजा तान्नेको भीड नै लाग्थ्यो। एक चिलिम तानेपछि पूजापाठ र ध्यानमा मस्त हुन्थेँ।’ तर, यतिबेला पहिलेजस्तो माहौल नरहेकोमा उनी चिन्तित छन्। ‘अहिलेका तन्नेरी शिवबुटीको नाममा जथाभावी गाँजा उपभोग गर्न थालेका छन्,’ पुष्प भन्छन्, ‘यसो गर्नु उनीहरूका स्वास्थ्यका लागि ठीक होइन।’ ऊबेला उच्च घरानाका व्यक्ति, व्यापारी र बुद्धिजीवीसमेत आफ्नो आश्रममा गाँजा खान आउने उनी बताउँछन्। ‘कसैको रोकटोक थिएन,’ उनी सम्झन्छन्, ‘उच्च घरानियाँदेखि बुद्धिजीवीसम्म हामीसँग गाँजाको चिलिम भरेर तान्थेँ।’ शहरीकरण बढेपछि पुराना अखडा खुम्चिएको उनी बताउँछन्। ‘अहिले त डरैडरले खानुपर्ने अवस्था छ,’ उनी सुनाउँछन्, ‘ढुक्कसँग शिवरात्रि, होलीजस्ता पर्वमा मात्र पाइन्छ।’ 

गाँजाले पेट दुख्ने, पखाला, घाउखटिरालगायत सानातिना समस्या निको पार्ने पुष्पको अनुभव छ। आफूले त्यसको दुरुपयोग नगर्ने उनी बताउँछन्। भन्छन्, ‘गाँजा यत्तिकै खाए विष बन्छ भने यसको शोधन गरी खाएमा धेरै रोगको औषधि बन्छ।’ आफूले थुप्रै बालबालिकालाई औषधिका रूपमा शिवबुटी दिएको उनी बताउँछन्। ‘गाईबस्तु, बाँदर र कुकुर बिरामी पर्दा पनि शिवबुटी नै खुवाउँछौँ,’ उनी भन्छन्, ‘यसले राम्रो काम गरेको अनुभव पनि छ मसँग।’ 

गाँजा अवैधानिक बनेपछि आफूजस्तै अन्य साधुसन्त पनि यससम्बन्धी मापदण्ड पालन गर्ने उनी बताउँछन्। बाबा भन्दैमा आफूहरू जथाभावी गाँजा तानेर नहिँड्ने बताउँछन्, थापाथली आश्रममा भेटिएका भारतीय मूलका लिडर बाबा। ‘हामीजस्ता बाबाले जतिखेर, जहाँ पनि गाँजा तान्छन् भन्ने भ्रम फैलिएको छ,’ उनी भन्छन्, ‘जोगी हो भन्दैमा जथाभावी शिवबुटी तान्न कहाँ पाइन्छ ? हामीले पनि यससम्बन्धी मापदण्डलाई सम्मान गर्न जानेका छौँ। कानुन सबैका लागि समान हुन्छ। जथाभावी गर्नेलाई कानुनले छुट दिँदैन।’ 

विड स्पट ‘थुम्को’

भक्तपुरस्थित मध्यपुर थिमीचोकदेखि दुई-तीन सय मिटर टाढा उकालोमा रहेको थुम्कोमा एउटा चौतारो छ। चौतारो अघिल्तिर लहरै बस्ने बेन्च र अर्कोपट्टि छ, निकै पुरानो चिया पसल। त्यहाँबाट काठमाडौँ उपत्यका पूरै अवलोकन गर्न सकिन्छ। बिहान र साँझपख चियाको चुस्की लिन चाहने अधिकांश युवाको जमघट स्थल बन्छ, थुम्को। थुम्कोलाई कतिपयले ‘विड स्पट (गाँजा अखडा)’ पनि भन्ने गर्छन्। 

गत बुधबार भक्तपुर बस्ने ध्रुव थापा राति ९ बजे सो स्थानमा साथीलाई पर्खिरहेका थिए। उनी हरेक साँझ त्यहाँ पुग्छन्। त्यस ठाउँसँग आफ्नो पहिलेदेखि नै सम्बन्ध रहेको उनी बताउँछन्। भन्छन्, ‘साथीहरूसँग भेट्न होस् या फुर्सदमा एक्लै टहलिन, यहीँ आउने गर्छु।’ ध्रुवको साथी सर्कल छ। उनीहरूको समूहले चुरोटसँगै चियाको चुस्की लिँदै त्यहाँ बस्न मन पराउँछ। साँझ परेपछि कहिलेकाहीँ खुला आकाशमुनि बसेर गाँजा तान्ने मन लागे यहीँ आउने उनीहरू बताउँछन्। ‘साँझ परेपछि मान्छेहरूको चहलपहल कम हुँदै गएपछि हामी यहाँ भेला हुन्छौँ,’ धु्रव भन्छन्, ‘चिया चुरोटबाहेक कहिलेकाही गाँजा पनि तान्छौँ।’

‘गाँजाको ट्रिप (नशा), त्यहीमाथि खुला आकाशमुनिको सुनसान रातमा साथीभाइसँग गफ गर्दै भ्यू हेर्न सही मज्जा आउँछ,’ उनी थप्छन्। 

कोठा नै अड्डा

चितवनका मनीष गौतम, २५ इन्जिनियरिङका विद्यार्थी हुन्। दिउँसो कलेज जाने, कलेजबाट फर्किएपछि साथीभाइसँग भेटघाट गर्ने उनको दिनचर्या बनेको छ। कहिलेकाहीँ रमाइलो र पढाइको ह्याङओभर हटाउन गाँजा तान्ने गरेको उनी बताउँछन्। ‘दिनहुँ पो खानु भएन, हप्ता वा महिनामा एक पटक गाँजा तान्दा केही फरक पर्दैन,’ उनी भन्छन्, ‘लत बनाउनु भएन। गाँजा तान्दै, पट हान्दै रमाउने हाम्रो आफ्नै तरिका छ।’  नजिकैको चिया पसल र आफू बस्ने कोठा नै उनीहरूको ‘अड्डा’ हो। मनीषको साथी समूह पालैपालो एकअर्काको कोठामा भेला हुने गर्छ। ‘पहिले–पहिले रुमभन्दा धोबीखोलाछेउ र कसैले नदेख्ने खोँचमा गएर गाँजा तान्थ्यौँ,’ मनीष भन्छन्, ‘त्यसो गर्दा चिनेकाले देख्ने र पुलिसको फन्दामा परिने डर  हुन्थ्यो । गाँजाको लागि सबैभन्दा उपयुक्त ठाउँ भनेको खुला ठाउँ नै हो। जुन काठमाडौँमा सम्भव छैन। त्यसको विकल्पमा हामीले आफ्नै कोठामा तान्ने गरेका छौँ।’ गीत सुन्दै, गफ गर्दै, ट्रिपमा बस्न खूब आनन्द आउने उनी बताउँछन्। ‘रुममा भएपछि न कसैले देख्ला भन्ने डर, न त कसैले पक्रेला भन्ने डर !’ उनी भन्छन्, ‘ठाउँ परिवर्तन गर्न पालैपालो साथीहरूको रुममा गएर ट्रिपमा बस्छौँ। यति भए अरू केही चाहिँदैन।’ उनीहरूले आ–आफ्नो कोठाका नाम ‘हन्टिङ रुम’ राखेका छन्। 

गाँजा सेवन गर्नेहरूले गाँजा जोहो गर्नुलाई ‘हन्टिङ जाने’ नाम दिएका छन्। ‘गाँजा हन्टिङ’का लागि मनीष आफ्ना साथीहरूसँग बिहानै उपत्यका नजिकका ठाउँहरूमा जान्छन्। एक रातमा गाँजा जम्मा गर्छन्। ‘गाँजा हन्टिङ र पट स्पट (हुक्काजस्तै गाँजा मिसाएर खाने कृत्रिम भाँडो)’को लागि केटाहरूको आफ्नै जंक्सन छ,’ उनी सुनाउँछन्, ‘हामी हन्टिङमा धुलीखेल, नगरकोट, लेलेलगायत ठाउँ पुग्छौँ। त्यहाँ पुगेर गाँजा तान्नुको मज्जा बेग्लै छ। बाटोमा चेकिङ हुने भएकाले केही मात्रामा गाँजा हन्ट गरेर फर्किन्छौँ।’ 

विड क्याम्पिङ

पछिल्लो समय तन्नेरीमाझ ट्रेन्डमा रहेको अर्को शब्दावली हो, ‘विड क्याम्पिङ’। विशेष गरी, व्यस्त दिनचर्याबाट मुक्त हुन शहरिया युवाले पछिल्लो समय यसलाई ट्रेन्डमा ल्याएका हुन्। शहरमा खुला ठाउँ नभएपछि आफूहरूले यो तरिका अपनाएको बताउँछन्, कीर्तिपुरका सुदीप श्रेष्ठ। ‘पढाइ होस् या जागिर, दिनभरको ह्याङबाट मुक्त हुन खुला र शान्त ठाउँ चाहिन्छ ,’ उनी भन्छन्, ‘जुन यो शहरमा भेटिँदैन। त्यसका लागि कहिलेकाहीँ हामी केटाहरूको ग्रुप ‘नाइट वाउट’को लागि बाइकमा नजिकैका खुला ठाउँमा जान्थ्यौँ। त्यहाँ गाँजा तान्दै, ड्रिंक गर्दै रमाइलो गथ्र्यौं। यसो गर्दागर्दै कति दिनसम्म बाहिरै हराउँथ्याँै। त्यसपछि हाम्रो तरिका ‘विड क्याम्पिङ’का रूपमा चिनिन थाल्यो।’ 

अहिले थुप्रै युवा विड क्याम्पिङमा जाने र रमाउने गरेका छन्। सुदीप भन्छन्, ‘ओपन स्पेस र हरियो वातावरणसँग गाँजाको राम्रो कनेक्सन बन्छ। जस्तो माहौलमा खायो, मान्छेको दिमागमा त्यस्तै कुरा चल्छ। खुला ठाउँमा गएर गाँजा खाँदा गहिरिएर सोच्न सकिन्छ। सेल्फ एक्स्प्लोर गर्न सकिन्छ। गुम्म परेको ठाउँमा गाँजा खानै सकिँदैन। दिमागमा त्यसको नराम्रो असर पर्न जान्छ।’ 

ठाउँले धेरै कुरा निर्धारण गर्ने उनी बताउँछन्। ‘केटाहरूले धेरै गाँजा उपभोग गर्ने भनेको यात्रा गर्दा हो,’ उनी सुनाउँछन्, ‘यात्रामा गाँजाले पेनकिलरको काम गर्छ। त्यसैले अहिलेका युवा समय–समयमा कामबाट केही दिनका लागि फुर्सद निकालेर विड क्याम्पिङमा जान्छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.