काेरियामा रहेका नेपालीको सन्देश : ‘आत्तिनु पर्दैन, हामी सचेत छौँ’

काेरियामा रहेका नेपालीको सन्देश : ‘आत्तिनु पर्दैन, हामी सचेत छौँ’

सोउल : चीनको वुहानबाट फैलिएको महामारी कोभिड–१९ (कोरोना भाइरस) शनिबारसम्ममा ६२ देशमा पुष्टि भइसकेको छ। यद्यपी नेपालसहित नौ देशमा भने संक्रमित निको भइसकेका छन्। शनिबार बेलुकीसम्मको विवरणअनुसार चीनपछि दक्षिण कोरियामा सबभन्दा बढी कोभिड–१९ संक्रमितको संख्या देखिएको छ। यहाँ शनिबारसम्म ३,१५० जनामा भाइरस संक्रमण भएको पुष्टि भएको छ भने १७ जनाले ज्यान गुमाइसकेका छन्।

यहाँ कामदार तथा अन्य गरी करिब ५० हजार नेपाली रहेको अनुमान छ। कोरियामा कोभिड–१९ को संक्रमण बढेसँगै यहाँस्थित नेपालीमा पनि यसको सन्त्रास बढेको छ। विभिन्न सञ्चारमाध्यममा आएको समाचार र टिप्पणीका कारण नेपालमा बस्ने परिवारमा त्रास झन बढी देखिन्छ। यहाँस्थित नेपाली कामदारहरूले भने सतर्क रहन भनिएको तर सञ्चार माध्यममा समाचार आएजस्तो त्रास नरहेको बताएका छन्। 

(दक्षिण कोरियामा रहेका नेपालीले अन्नपूर्ण पोस्ट अनलाइनमार्फत पठाएको भिडियो सन्देश)

केदार नेपाल, आनसाङ

राजधानी सोउलको नजिकैको आनसाङमा रहेका केदार नेपालले आफू बसेको ठाउँ ग्रामिण इलाका रहेको र समाचारमा आएजस्तो आफ्नो काम छाडेर मान्छेहरू घरभित्र थुनिएर नबसेको बताए। उनका अनुसार त्यहाँ सबै मानिसहरू सचेत हुँदै काम गरिरहेका छन्। ‘समाचारमा आएजस्तो शून्य भएको छैन,’ उनले भने, ‘तर कामदारहरू मास्क लगाएर काम गर्ने र पसल जाँदा मास्क लाएरै हिँड्ने चाहिँ गरेका छन्।’ उनले घरपरिवार, आफन्त र शुभचिन्तकलाई आफ्नो बारे त्यति धेरै चिन्ता नलिन आग्रह गरेका छन्।

मनोज राई, खिङगिदो गिम्पो

कोरियाको खिङगिदो गिम्पोमा रहेका खोटाङका मनोज राईले आफू बसेको क्षेत्र अहिलेसम्म सुरक्षित रहेको बताए। तैपनि कम्पनीले भने सतर्क रहन भनेको छ। ‘पहिले भन्दा केही क्रमबद्ध रूपमा संक्रमण बढिरहेको चाहिँ पक्कै पनि हो’, उनले भने, ‘हामी पनि समाचार पढ्दा आतंकित भएका हौँ, तर यहाँ त्यस्तो छोडेरै हिँडिहाल्नुपर्ने अवस्था चाहिँ सिर्जना भएको छैन।’

विमल कार्की, ख्यङगिदो दोङदुछन्

यसैगरी रामेछापका विमल कार्कीले साउलबाट ४० किलोमिटर टाढा ख्यङगिदो दोङदुछन् क्षेत्रमा काम गर्ने भएकाले अहिलेसम्म संक्रमित नदेखिएको बताए । उनले अरु क्षेत्रमा संक्रमित भएको समाचार बाहिरिए पनि दोङदुछन क्षेत्रको जनजीवन सामान्य रहेको जानकारी दिए । उनले भने, ‘हामी दैनिक काममा जाने, आउने गरिरहेका छौं, अन्य क्षेत्रमा संक्रमण भइरहेकाले सावधानी भने अपनाइरहेका छौं ।’

माधव मोक्तान, थुङ्नुन बोक्तो थेजोङ 

त्यसैगरी काभे्रका माधब मोक्तानले आफू बसेको स्थान थुङ्नुन बोक्तो थेजोङमा अन्तको तुलनामा कोरोना भाइरसको त्रास कमै रहेको बताए । कम्पनीले बाहिर निस्कन भीडभाड भएको ठाउँमा जान, बस रेल चढ्न कडाई गरेको जानकारी दिए । सक्रमितको जोखिा भएमा आफूहरुलाई नेपाली दूतावासले तत्काल सहयोग गरोस् भन्ने अपेक्षा मोक्तानले गरे । 

दीपेश क्षेत्री, बुसान 

कैलालीका दीपेश क्षेत्रीले सञ्चारमाध्यममा आएजस्तो पूरै सुनसान नभएको बताए। क्युङसुङ विश्वविद्यालयमा दुई वर्षअघि स्नातक गर्न आएका उनले उत्तरी ग्योन्साङ प्रान्तको थेगुमा मात्र बाहिर निस्कन प्रतिबन्ध लगाइएको बताए। ‘थेगुबाट कोरियामा भाइरस सुरु भएको हो’, उनले भने, ‘त्यहाँ मात्रै स्ट्रिक्ट गरेको छ, समाचारमा आएजस्तो सबैतिर चाहिँ होइन।’ कोरिया सरकारले सतर्क रहन बारम्बार भनिरहेको उनले बताए। ‘यहाँ मोबाइलमै हरेक समय अपडेट आउँछ। भाइरसको बारे सतर्क रहन सचेत गराउँछ’, उनले भने।

यसैगरी विश्वविद्यालयले पनि सतर्क गराएको छ। करिब ४ सय जना नेपाली विद्यार्थी रहेको क्युङसुङ विश्वविद्यालयले अहिले विदा अवधि बढाएको छ। कोरियामा कोरोना भाइरस पुष्टि हुनु पहिले नै विश्वविद्यालय बिदा भएको थियो। ‘दुई हप्ता पहिले नै खुल्नुपर्ने हो’, दीपेशले भने, ‘तर कोरोनाकै कारण बन्द छ, फेरि बिदा हुन्छ होला।’

बुसानमा पनि अहिले मानिसहरू सार्वजनिक सवारी साधन चढ्न छोडेका छन्। दीपेशकाअनुसार सरकारले नै सार्वजनिक सवारी र धेरै भीड हुने स्थानमा नजान सतर्क गराएको छ। ‘सरकारले ट्रेन लगायत सार्वजनिक सवारी साधन प्रयोग नगर्न भनेको छ’, उनले भने, ‘बाहिर जानु परे एकलै जानू भनेको छ।’ यसैगरी बुसानमा होटेलहरू पनि बिस्तारै खुल्न छाडेको बताए। ‘तर त्यति धेरै चिन्ता गर्नु पर्दैन’, उनले भने, ‘यहाँ विदेशीलाई भाइरस लागेको छैन, कोरियनलाई मात्र लागेको हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.