खरिपाटी क्वारेन्टाइनमा रहेकालाई सोमबार घर फर्काउने तयारी
काठमाडौं : कोरोना भाइरस ( कोभिड –१९)को उद्गमस्थल हुपईको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरुको दोस्रो पटकको थ्रोट स्वाव (घाँटी र नाकको र्याल) परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना नेपालीको थ्रोट स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले उद्धार गरेर ल्याइएका सबै नेपालीको परीक्षण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने,‘ सबैको परीक्षण भइरहेको छ । भाइरस नेगेटिभ देखिए घर फर्काउने योजना छ । भोली (सोमबार) बेलुकीसम्म फर्कन सक्छन ।’
संकलित थ्रोट स्वावको परीक्षणकालागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको छ । उद्धार गरेर ल्याइएका १ सय ३५ जना पुरुष र ४० जना महिला (बच्चा सहितको दुई परिवार) छन् ।
वुहानको ६ वटा सहरमा रहेका १ सय ७५ नेपालीलाई दुई साता अघि स्वदेश ल्याइएको हो । उद्धार गरिएका सबै नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ । १४ दिनदेखि क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई स्वास्थ्यकर्मीले २४ सै घण्टा निगरानी गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको सम्पूर्ण मापदण्ड एवं अन्तर्राष्ट्रिय स्वास्थ्य नियमले तोकेको प्रावधान अनुरुप क्वारेन्टाइन व्यवस्थापन गरेको छ । क्वारेन्टाइनस्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानी अपनाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।