बगरमा करेसाबारी

बगरमा करेसाबारी

महोत्तरी : दुई वर्षअघि एक छाँक जुटाउन ५५ वर्षीय विल्टुमुसहरले दिनभर ज्यालामजदुरी गर्थे । उनलाई हम्मेहम्मे पथ्र्यो । उपचार गराउन नसकेर उनका दुई सन्तान बालपनमै बिते । गाउँमा जमिन्दारले काम दिँदा मुखमा माड लाग्ने, नभए भोकै रात काट्नुपर्ने उनको अवस्था थियो । तर, अहिले उनलाई करेसाबारीमा फलेको सागसब्जी बिक्री गर्न भ्याइनभ्याइ छ । पुस्तौं–अभावमा बाँचेका महोत्तरीको गौशाला–८ बेलगाछीका बिल्टु तरकारीबाट हात पर्ने आम्दानीले दंग छन् । आफ्नै करेसाबारीमा तरकारी फलाएर रमाइरहेका छन् उनी ।

‘तपाइँले मलाई २ कठ्ठा बालुवै–बालुवा खेत दिनुभयो । मजदुरी गर्नुपर्ने बाध्यता हट्दै गयो । मैले रातदिन गरेर फर्सी, लौका, भान्टा फलाएँ’, खेतमा पुगेका गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोलाई फलेको फर्सी देखाउँदै उनले भने, ‘पाँच कठ्ठा अझै मलाई खेत दिनुस्, तरकारी फलाउने जिम्मा मेरो हुन्छ, म पक्का तरकारी फलाएर देखाइदिन्छु ।’

बेलगाछीका ६५ मुसहर घरपरिवारको दैनिकी तरकारीखेतीले फेरिएको छ । गौशाला नगरपालिकाले दुई वर्षअघि २० बिघा जमिन नदी उकास गरेर वितरण गरेको थियो । त्यसमा मुसहर जातीले करेसाबारी बनाएका छन् ।

‘फर्सी, काँक्रो बिक्री गरेर पाँच हजार हातमा आयो, हजुर !’ विल्टुले अन्नपूर्णसँग भने, ‘जीवनमा यति धेरै रुपैयाँ मेरो बुवा, हजुरबुवाले पनि देख्नुभएको थिएन । दिनभरि काम गर्दा मालिकले जम्मा तीन किलो धान दिन्थ्यो, पहिलो पटक मेरो हातमा यति धेरै रुपैयाँ प¥यो ।’ आफ्नै मिहिनेतमा रमाउँदै आएका उनी झन खेतमै तरकारी उब्जाएर भएको आम्दानीले दंग छन् ।

अभावै–अभावमा जीवन चलाएका मुसहर जाती गरिबीको चपेटामा छन् । गौशाला नगरपालिकाले मुसहरलाई आत्मनिर्भर बनाउन जग्गा व्यवस्था गरेपछि उनीहरूमा ऊर्जा थपिएको हो ।

मुसहरले बगरमा रोपेको टमाटर लटरम्म छ । परवलको थांग्रो हुर्किंदै छ । मुसहर समुदायका किसानले बगरमै भान्टा, रामतोरिया, फर्सी, काँक्रो, खुर्सानीजस्ता सागसब्जी उब्जाएका छन् । तरकारी बिक्री गरेर मनग्गे आम्दानी लिइरहेका छन् ।

कुनै बेला चैत–वैशाखको हुरीले बगरमा बालुवा उड्थ्यो । तर, अहिले बगर करेसाबारीले हरियाली बनेको छ । बालुवा उड्ने महोत्तरीको गौशाला–८ बेलगाछीस्थित सोनी खोलाले कटान गरेको बगरेको रुप फेरिएको छ । २० बिघा जमिन नदी उकास गरी मुसहरले करेसाबारीमार्फत हरियाली बनाएका छन् ।

गरे के हुँदैन ? भन्ने भनाईलाई उनीहरूले चरितार्थ पारेका छन् । घाम लागेपछि बालुवाले सेताम्मे देखिने बगर पौरखी मुसहरको मिहिनेतले सजिएको छ । उब्जिएको तरकारी बिक्री गरेर उनीहरूले खानकी जुटाइरहेका छन् ।

पुस्तौंदेखि स्कुलको मुख नदेखेका उनीहरूले सन्तानलाई किताब, कपी, कलम, स्कुल पोसाक जुटाएर स्कुल पढ्न पठाउँछन् । गौशाला नगरपालिकाले भूमिहीन मुसहरलाई ऐलानी बगरमा खेती गर्ने व्यवस्था मिलाएको हो ।

कृषि खेती गर्ने तालिम, उन्नतजातको सागसब्जीको व्यवस्था, बालीमा किरा लागे कृषि जेटीए सल्लाह प्रदान गरेपछि मजदुरी गर्ने ६५ मुसहर परिवार कृषि खेतीमा आकर्षित भएको गौशाला नगरपालिका–८ का वडाध्यक्ष भोजबहादुर दर्लामीले बताए ।

सोनी खोलाको बगरमा मुसहर समुदायको मिहिनेतले त्यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ । समुदायका अधिकांश मानिस दिनभर करेसाबारीमा व्यस्त हुन्छन् ।

बेलगाछीकी ३५ वर्षीय हेम्ती सादाले दिनभर पसिना बगाउँदा चार सय रुपैयाँ उनको हात पथ्र्यो । तर, उनी अचेल तरकारी खेतीमा छन् । बगरमा उब्जिएको टमाटर, आलु, खुर्सानीको बोट गोडमेल, तरकारी टिपेर बजारमा बिक्री गर्न उनी व्यस्त छन् ।

‘खानलाई महँगोमा तरकारी किन्नु पथ्र्यो । ज्यालाको रकम चामल, दाल, तरकारी, नुनतेल किन्न पनि धौंधौं हुन्थ्यो’, उनले भनिन्, ‘अब त आफ्नै खेतमा तरकारी उब्जियो, किन्न पर्दैन । बचत पनि हुन्छ ।’ उनले तीन सन्तानलाई नजिकैको विद्यालयमा पढाउन थालेकी छन् ।

हेम्तीको परिवारमा श्रीमान् र तीन छोराछोरीसहित पाँच जना छन् । हेम्ती र उनका पति निरक्षर छन् । उनी भन्छिन्, ‘बुवाआमाले मलाई पढाउन सक्नु भएन । नपढेर जीवनमा धेरै दुःख पाइयो । हिसाब गर्न पनि समस्या हुन्छ, अरुको खुसामत गर्नुपर्छ ।’ आफूले भोगेको दुःख छोराछोरीले भोग्नु नपरोस् भन्दै उनले तीनै जना सन्तानलाई पढाइरहेकी छन् ।

बेलगाछीमै रहेको जनजागरण कृषि सहकारी संस्थाले मुसहर समुदायमा अर्गानिक खेती गर्न सिकाइरहेको छ । सहकारीले अहिले किसानलाई नर्सरी कसरी राख्ने, कति दुरीमा रोप्ने, सिँचाइ कसरी गर्नेलगायत सीप सिकाइरहेको सहकारीका अध्यक्ष काशी महतोले बताए ।

करेसाबारीमा सिँचाइको प्रबन्ध मिलाउन सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले डिप–बोरिङ गाडिदिएको छ । खोलाको बगरमा गौशाला नगरपालिकाले ०७५÷७६ मा ५ लाख खर्चेर जग्गा सम्याउने र किसानलाई भाग लगाइदिने काम गरेपछि किसानले तरकारी खेती थालेका हुन् ।

सिँचाइको राम्रो व्यवस्थासहित तरकारी खेतीलाई नमुना खेती बनाउन नगरले यस वर्ष १० लाख बजेट छुट्याएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । नगरभित्र गरिबीको चपेटामा रहेका मुसहर समुदायलाई आर्थिक आयस्रोतमा अघि बढाउने उद्देश्यले बगर खेतीलाई नगरले प्राथामिकतामा राखेको मेयर महतोले बताए । ‘सोनी खोलादेखि मरहा खोलाको पाँच किलोमिटर क्षेत्रमा तटबन्ध गरेर बगरलाई खेती बनाउने योजना छ । भूमिहीन गरिबलाई आयआर्जन गर्न त्यो जग्गा वितरण गर्छौं ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.