‘म्याम’ सम्बोधन राम्रो लाग्थ्यो
काठमाडौंको बानेश्वरमा जन्मिएकी सुनिता पौडेल परिवारमा जेठी छोरी हुन्। उनी बानेश्वरस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी प्रधानाध्यापक हुन्। पौडेल आफ्नो जीवन शिक्षा क्षेत्रमै समर्पण गर्न चाहन्छिन्।
शिक्षा र बाल्यकाल
थापागाउँस्थित मेरीगोल्ड स्कुलबाट उनले प्रारम्भिक शिक्षा सुरु गरेकी हुन्। त्यतिबेला उनी दुई वर्ष ६ महिनाकी थिइन्। उनी सानैदेखि विद्यालय जान रहर गर्थिन्। वरपर, छरछिमेकका साथीहरूलाई झोला बोकेर गएको देख्दा उनलाई पनि स्कुल जान मन लाग्थ्यो। यस्तो रहर देखेर उनको परिवारले साढे दुई वर्षमै विद्यालय भर्ना गरिदिए। त्यहाँ उनले नर्सरी, एलकेजी र यूकेजीसम्म पढिन्।
उनको बुवा बैंकमा जागिरे थिए। आमा गृहिणी। संयुक्त परिवारमा जन्मिएकी सुनिता बाबु र आमासहित सातदोबाटोमा सरेपछि सातदोबाटोस्थित महेन्द्र आदर्श माविमा कक्षा १ मा भर्ना भइन्। त्यहीँबाट उनले २०५२ सालमा एसएलसी उत्तीर्ण गरिन्। त्यसमा उनले नेपाली विषयमा सबैभन्दा बढी नम्बर ल्याएर ललितपुर जिल्ला टप गरिन् भने आफ्नो विद्यालयमा दोस्रो भइन्। उनी सानैदेखि पढाइमा अब्बल थिइन्। प्रथम नभए पनि जहिले पनि दोस्रो र तेस्रो स्थानमा आउँथिन्।
पढाइबाहेक उनलाई अतिरिक्त क्रियाकलापमा निकै सक्रिय थिइन्। अन्य क्रियाकलापभन्दा उनी लेखनमा बढी रुचि राख्थिन्। निबन्ध, कथा, कविता लेखनमा भाग लिन कहिल्यै छुटाउँदिनथिइन्। यसबाहेक उनी नृत्य, गायनमा सम्झिनलायक विद्यार्थी थिइन्। खेलकुदमा कम सोख राख्ने उनी कहिलेकाहीँ भलिबल र कवाज भने खेल्थिन्। लेखनमा भाग लिएर उनले थुप्रै पुरस्कार पनि पाएकी छिन्। उनले त्यतिबेलाको प्रधानमन्त्री मनमोहन अधिकारीबाट पनि पुरस्कार पाएकी थिइन्।
त्यतिबेलाको समाजमा डाक्टर, इन्जिनियर बन्नु गौरवको कुरा हो भन्ने मानसिकता थियो। यसैसँगै हुर्केकाले उनमा पनि भविष्यमा डाक्टर बन्ने सपना थियो। यही सपना पूरा गर्नका लागि उनले २०५३ सालमा उनी त्रिपुरेश्वरस्थित विश्व निकेतनमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भइन्। कक्षा १२ सम्म त्यहीँ पढिन्। उनले त्यहाँबाट प्रथम श्रेणीमा पास गरिन्।
त्यसपछि उनी डाक्टर नै पढ्ने भनेर एमबीबीएसको तयारीमा लागिन्। तर, पहिलो पटकमा उनको नाम निस्किएन। उनले फेरि तयारी गर्ने जमर्को गरिन्। यससँगै उनी त्रिचन्द्र कलेजमा २०५५ सालमा बीएस्सीमा भर्ना भइन्। यता एमबीबीएसमा भने उनको नाम निस्किएन।
त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा वनस्पति शास्त्रको केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनका लागि भर्ना भइन्। तर, उनले शिक्षण पेसाका कारण पढाइमा समय नमिलेपछि पहिलो वर्ष पढेर छोडिदिइन्। त्यसपछि उनले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत डटमेन्ट युनिभर्सिटी अफ जर्मनसँगको सहकार्यमा चलाइएको एउटा म्यानेजमेन्ट कलेजबाट ‘जेन्डर एन्ड स्पासल प्लानिङ’मा दुईवर्षे स्नातकोत्तर कोर्स गरिन्।
शिक्षण र प्रधानाध्यापकको यात्रा
२०५५ सालमा बीएस्सी पढ्न थालेपछि उनले बिहान कलेज पढ्ने र दिउँसो खाली समयमा ट्युसन पढाउन थालिन्। त्यससँगै उनले सानातिना लेखहरू पनि लेख्ने काम गर्न थालिन्। हुन् त उनले प्लस टु पढ्दाखेरि नै वरपरका विद्यार्थीलाई कहिलेकाहीँ ट्युसन पढाउने गर्थिन्। यसले उनलाई कताकता शिक्षणतिर मोहनी लगाइसकेको थियो। विद्यार्थीले कहिलेकाहीँ ‘म्याम’ भनेर बोलाउँदा सम्बोधन राम्रो लाग्न थाल्यो। त्यसपछि उनले एमबीबीएसको तयारी छाडेर कलेजमै ध्यान दिएर पढ्न थालिन्।
त्यतिबेला नक्सालस्थित आलोक विद्या श्रममा एकजना विज्ञान शिक्षक चाहिएको खबर उनको कानमा पर्यो। उनी त्यहाँ अन्तर्वार्ताका लागि गइन्। पास भइन्। विज्ञान शिक्षक भएर पढाउन थालिन्। यहीँबाट उनको शिक्षण पेसा सुरु भयो। यो करिब सन् १९९९ को कुरा हो।
त्यहाँ उनले सानो कक्षादेखि कक्षा ५ सम्म विज्ञान पढाउँथिन्। एक वर्ष मात्र पढाइन्। साना बालबालिकालाई पढाउँदै गएपछि यो पेसा पनि नराम्रो हैन भन्ने भान भयो। ‘सायद म यसैमा रमाउन सक्छु कि भन्ने महसुस हुन थाल्यो’, उनले विगत सम्झिँदै भनिन्, ‘त्यसमाथि फेरि भर्खर आफूले सिकेर आएको कुरा विद्यार्थीसँग बाँड्न पाउँदा र सिकाउन पाउँदा रमाइलो लाग्न थाल्यो। विद्यार्थीलाई पनि रमाएको देख्थेँ। म पनि यसैमा रमाउन थालेँ।’ त्योसँगै विज्ञान विषयमा विद्यार्थी राम्रो भएको अभिव्यक्ति अभिभावकको मुखबाट सुनेपछि झनै खुसी लाग्थ्यो, उनलाई। त्यसपछि यही पेसामै लाग्ने निधो उनले गरिन्।
सन् २००० मा सातदोबाटोमा युनाइटेट स्कुलको स्थापना भयो। उनले उक्त विद्यालयमा अध्यापन गर्ने मौका पाइन्। त्यहाँ उनले सुरुमा कक्षा १ देखि कक्षा ५ सम्म विज्ञान विषय पढाइन भने पछि माविसम्म पढाइन्। विद्यालयमा करिब ११ वर्षसम्मको अध्यापनले उनलाई शिक्षकको रूपमा स्थापित गरायो। विद्यालयमा विषय शिक्षकको रूपमा छिरेकी सुनिता पछि प्रशासनिक र विज्ञान विषयको संयोजक पनि भएर काम गर्न थालिन्। त्यहाँ उनले शिक्षासम्बन्धी विविध पद्धतिबारे जान्ने र शिक्षणसम्बन्धी थुप्रै तालिमहरू पनि लिने मौका पाइन्। यसले उनलाई शिक्षण पेसामा अब्बल बनायो। १२÷१३ वर्षको लामो अध्यापनपछि आफूले सिकेको ज्ञान र सीपलाई आफ्नै विद्यालय खोलेर सिकाउन पाए हुन्थ्यो जस्तो लाग्यो उनलाई। यसले उनको मनमा विद्यालय खोल्ने सोच पलायो। निजी विद्यालयहरू निकै मौलाइरहेका यो बेला विद्यालय खोलेर संस्थापक प्रधानाध्यापक हुने रहर उनलाई जाग्न थाल्यो। त्यही बेला काँडाघारीस्थित यूरो किड्स प्रि–स्कुल र युरो इन्टरनेसनल स्कुल (हालको अक्षरा स्कुल) नयाँ पद्धतिअनुसार चलाइएको र सो विद्यालयमा सहप्रधानाध्यापकको माग भएको उनले थाहा पाइन्। त्यसमा आवेदन दिइन् र त्यहाँ नियुक्त भइन्। त्यहाँ उनले दिनप्रतिदिन व्यवस्थापनका कुरा सिक्ने मौका पाइन्। विद्यालयमै कार्यरत छँदा उनले कक्षा ६ देखि १० सम्मको विज्ञान विषयको पाठ्यपुस्तकको सहलेखकको भूमिका पनि निभाइन्। उक्त पुस्तक एकता बुक्सले बजारमा ल्याएको हो।
शिक्षण क्षेत्रमै अझै केही गर्न शिक्षासँग सम्बन्धित उच्च शिक्षा आवश्यक भएकोले काठमाडौं विश्वविद्यालयबाट ‘पोस्ट ग्र्याजुएड डिप्लोमा इन एजुकेसन’ (पीजीडीई) कोर्स गर्ने मौका पाइन्।
यसरी शिक्षण पेसासँग सम्बन्धित सम्पूर्ण पक्षबारे थाहा पाइसकेपछि सन् २००६ मा स्थापित भएको बानेश्वरस्थित काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा सन् २०१४ मा आफ्नो लगानीसहित प्रधानाध्यापकको रूपमा प्रवेश गरिन् र यहीँबाट उनको प्रधानाध्यापक यात्रा सुरु भयो।
प्रधानाध्यापकको चुनौती
प्रधानाध्यापक आफैंमा एउटा चुनौतीपूर्ण पद हो। तर, आफू प्रधानाध्यापक हुनुभन्दा पहिले नै सहप्रअको रूपमा काम गरिसकेकाले खासै गाह्रो भएन उनलाई। ‘म शिक्षकबाट सीधै प्रधानाध्यापक भएको भए सायद निकै गाह्रो हुन्थ्यो,’ उनले शिक्षक र प्रधानाध्यापकबीचको फरक बताउँदै भनिन्, ‘यी दुवै निकै फरक प्रकृतिका पद हुन्। शिक्षक हुँदा आफूले पढाउने विषय विद्यार्थीलाई सिकाउने भन्ने कुरामा मात्र चिन्ता गरे पुग्छ भने प्रधानाध्यापकले विद्यालयको सम्पूर्ण पक्षलाई व्यवस्थापन गर्न चुनौती हुन्छ।’
आफू काम गर्न सक्ने भए पनि सुरुसुरुमा अभिभावकको मन जित्न भने गाह्रो हुन्छ। आफू प्रज्ञा कुञ्ज स्कुलमा आइसकेपछि एक वर्ष अभिभावको मन जित्न निकै सकस भएको बताउँछिन्। त्यसैले विद्यालयमा हुने गतिविधि, विद्यालयको भावी योजना आदिबारे अभिभावकलाई बुझाउन गाह्रो थियो, उनलाई। भन्छिन् ‘पहिलो वर्ष मेरो पनि परीक्षणकाल जस्तै थियो। तर, पछि मैले अभिभावकको मन जित्न सकेँ। त्यसपछि विद्यालय सञ्चालन गर्न निकै सहज भयो। त्यसपछि निरन्तर साथ र सहयोग पाइरहेको छुँ।’
शिक्षामा देखिएका समस्या र समाधान
शिक्षण क्षेत्र कतिपय अवस्थामा निजी वा व्यक्तिगत पनि हुन सक्छ तर शिक्षा सबैको नैसर्गिक अधिकार हो र अभिभावकलाई आफ्नो छोराछोरीलाई कस्तो शिक्षा दिने भनेर छान्ने अधिकार छ। हामीले प्रदान गर्ने शिक्षा राज्यको पाठ्यक्रमले निर्धारण गर्छ। हाम्रो पाठ्यक्रम राम्रो छ। तर कतिपय प्रयोगात्मक कुरा र शिक्षण क्रियाकलापमा पूर्ण छैन। यसमा सबलीकरणको आवश्यकता छ। कहिलेकाहीँ राज्यले वा अभिभावकले निजी विद्यालयले चर्को शुल्क लिएका भनेर विरोध गरिरहेका हुन्छन्। हेर्ने हो भने निजी विद्यालयले सरकारी विद्यालयको भन्दा तुलनात्मक रूपमा राम्रो शिक्षा दिइरहको छ। पर्याप्त स्रोतसाधन भएर र राज्यको ढुकुटीबाट सञ्चालन भएका सरकारी विद्यालयले सोचेअनुसारको शिक्षा दिन नसकेको अवस्थामा निजी विद्यालय र सरकारी विद्यालयबीच सहकार्य बढाएमा यी दुईबीचको दूरी घटाउन सकिन्छ। अलि बढी नियमन र समय सापेक्षित प्रयोगात्मक शिक्षामा जोड दिइयो भने पक्कै पनि देशको समग्र शिक्षामा सुधार आउँछ।