कर्णालीमा शैक्षिक सत्र सुरू : पुगेनन् पुस्तक, फर्किएनन् शिक्षक

कर्णालीमा शैक्षिक सत्र सुरू : पुगेनन् पुस्तक, फर्किएनन् शिक्षक

सुर्खेत/डोल्पा : नयाँ शैक्षिकसत्र सुरू भए पनि कर्णालीका हिमाली जिल्लामा पाठ्यपुस्तक पुगेको छैन। पुस्तकबिनै फागुन १ देखि हुम्ला, जुम्ला र डोल्पालगायतका जिल्लामा पठनपाठन सुरू भएको छ।

जाडो बिदामा तराई झरेका शिक्षक पनि जिल्ला फर्किएका छैनन्। चिसोका कारण मंसिरमै वार्षिक परीक्षा सकेर बिदा हुने यहाँका स्कुलमा माघ २५ देखि नयाँ भर्ना सुरू हुन्छ। यसपटक नयाँ सत्र सुरू भएको दुई साता बितिसक्दा पनि अधिकांश स्कुल बन्द छन्। बिदामा रहेका शिक्षक नफर्किएपछि पठनपाठन अवरूद्ध छ। जनक शिक्षा सामग्री केन्द्रका पुस्तक बिक्रेताले समयमै पुस्तक ढुवानी नगर्दा हुम्ला र डोल्पामा पढाइ प्रभावित भएको हो। जुम्लामा ल्याइएका पाठ्यपुस्तक सम्बन्धित स्कुलको लापरवाहीले विद्यार्थीले पाएका छैनन्। हुम्ला, जुम्ला र डोल्पाका ४ सय २ विद्यालयमा करिब १ हजार ९ सय शिक्षकको दरबन्दी छ। दरबन्दीअनुसार शिक्षक छैनन्।

विद्यालय नियमनको अधिकार स्थानीय तहमा छ। पाठ्यपुस्तक पुगे नपुगेको र शिक्षकको अनुपस्थितिबारे स्थानीय तह नै बेखबर छन्। जुम्लाका १ सय ६९ स्कुलमा राहत शिक्षकसहित ८ सय ७ जनाको दरबन्दी छ तर ४० प्रतिशत हाजिर भएका छैनन्। शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मक्कर भण्डारी फागुन १५ पछि अनुपस्थित शिक्षकलाई कारवाही गर्ने बताउँछन्।

हुम्लाका १ सय ३९ स्कुलमा पाठ्यपुस्तक नपुगेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले बताए। हुम्लामा राहतसहित ५ सय १३ शिक्षकको दरबन्दी रहेको उनले बताए। बिदामा बसेका ६० प्रतिशत शिक्षक अझै नफर्किएको उनले बताए। तल्लो डोल्पाका ५ स्थानीय तहका ९४ स्कुलमा कक्षा १–१२ सम्म ९ हजार ८ सय ४९ थान पुस्तक आवश्यक छ। पुस्तक अझै नपुगेको नसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सिंहराज डाँगीले बताए। उनका अनुसार ७ सय ७५ शिक्षकमध्ये अधिकांश फर्केका छैनन्।

खरिदमा लापरवाही

कर्णालीका सबै स्थानीय तहले समयमै निःशुल्क पाठ्यपुस्तकका लागि स्कुलको खातामा एकमुष्ठ रकम जम्मा गर्छन्। रकम आए पनि अधिकांशले समयमा किन्दैनन्। जुम्लाको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले भने, ‘हामीले सबै विद्यालयको खातामा समयमै रकम पठाइसकेका छौं तर स्कुलको ढिलासुस्तीले खरिदमा ढिलाइ भएको हो।’ पुस्तक आए पनि बिक्री नभएको जीपी स्टेसनरिका प्रोप्राइटर गणेश रोकायाले बताए। ‘गतवर्ष झन्डै २८ हजार पुस्तक चाहिएकोमा १२ हजार मुस्किलले बेच्यौँ,’ उनले भने, ‘हामी बर्सेनि समयमै ल्याउँछौं तर स्कुलकै लापरवाहीले विद्यार्थीको हातमा पुस्तक पुग्दैनन्।’

ओझेलमा भर्ना अभियान

विद्यालयमा बालबालिकाको पहुँच बढाउन बर्सेनि शैक्षिकसत्रको सुरुमा कम्तीमा एक साता भर्ना अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था छ। हुम्लामा यस वर्ष शैक्षिकसत्र सुरू भएको दुई साता बितिसक्दासमेत अभियान सुरू भएको छैन। वार्षिक परीक्षापछि जाडो छल्न अन्यत्र गएका शिक्षक नफर्केपछि अभियान प्रभावित भएको हो। चंखेली गाउँपालिका–२ का बासिन्दा लालप्रसाद जैशी भन्छन्, ‘भर्ना अभियान सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका विपन्न बालबालिका विद्यालयको पहुँच बाहिर छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.