२४ हेक्टर वन अतिक्रमण
कालिकोट : पछिल्लो एक तथ्यांकअनुसार कालिकोटमा २४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा बढ्दै गएर हालसम्म २४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो। जिल्लाका ९ वटै स्थानीय तहको लेकाली क्षेत्रको वन अतिक्रमणमा परेको छ।
डिभिजन वन कार्यालय कालिकोटका सहायक वन अधिकृत कृष्णराम धितालका अनुसार हालसम्म पहिचान भएको ११ हेक्टरसहित झन्डै १५ हेक्टर बराबरको पहिचान नभएको वन क्षेत्र अतिक्रमण भएको छ। डिभिजन वन कार्यालयको कर्णाली सबडिभिजन कार्यालयअन्तर्गत ६ हेक्टर र तिला सबडिभिजन कार्यालय अन्तर्गत ६ हेक्टर वन अतिक्रमण भएको हो। यस्तै बराँतु सामुदायिक वन क्षेत्रमा ३ हेक्टर, रिङने पानी पर्यटकीय क्षेत्रमा ३ हेक्टर, तिलागुफामा ४ हेक्टर, पचालझरनामा ३ हेक्टर गरी जिल्लाभरि २४ हेक्टर वन अतिक्रमण भएको हो।
सुनथराली सबडिभिजन कार्यालय र पञ्चदेवल सबडिभिजन कार्यालय मातहातमा रहेको वन क्षेत्रको अतिक्रमणबारे तथ्यांक संकलन भइरहेको सहायक वन अधिकृत कृष्णराम धितालले बताए। कार्यालयले थप २० हेक्टर वन क्षेत्र अतिक्रमण भएको अनुमान गरेको छ। वन अतिक्रमण हुँदै गएपछि सरोकारवालाको ध्यानाकर्षण भएको हो। वन क्षेत्रमा घरघडेरी बनाएकै कारण अतिक्रमण बढेको उल्लेख छ।
पचालझरना गाउँपालिका निवासी ७० वर्षीया अभिलाल बुढाले वन मासिएपछि पहिले घरनजिकै पाइने दाउरा, स्याउलासोत्तर ल्याउन अहिले निकै टाढा जानुपरेको बताए। वन मासिँदै जाँदा जंगली जनावरसमेत पाइन छाडेको उनको भनाइ छ।