आठ वर्षमा पिलर मात्र
दैलेख : दैलेखको आठबिस नगरपालिकास्थित राकमकर्णाली र अछामको पञ्चदेवल विनायक नगरपालिका जोड्ने पुलको निर्माण अलपत्र परेको छ । ८ वर्षअघि निर्माण सुरु भएको पुलको अहिलेसम्म पिलर मात्र बनेका छन् । कर्णाली र सुदुरपश्चिम प्रदेशलाई जोड्ने मितेरी पुल मानिएको कर्णालीको पक्की पुल निर्माणमा ठेकेदारले लापरबाही गरेका हुन् ।
पुल निर्माण सम्झौता भएको ८ वर्ष भइसक्यो । निर्माणको ठेक्का लिएको कुमार श्रेष्ठ राजेन्द्र जेभी कम्पनीले पुल अलपत्र छाडेको हो । पुल निर्माण गर्न पटकपटक सम्बन्धित निकायलाई खबरदारी गर्दासमेत सुनुवाइ नभएको स्थानीय धनराज माझीले बताए । ३ वर्षमा बनाइसक्ने लक्ष्यसहित ०६८ मा निर्माण सम्झौता भएको थियो । कर्णालीको बीचमा पिलरको जग हाल्दा ठूला ढुंगा भेटिएपछि काम गर्न नसक्ने भन्दै ठेकेदारले पुलको ‘फाउन्डेसन’ नै बदल्नुपर्ने बताएको छ । अनेक बहानाबाजी गरी एक वर्ष ढिलो काम थालेको ठेकेदारले ३ वटा पिलर राख्नुपर्नेमा २ वटाको मात्र फाउन्डेसन तयार गरेर ठेकेदार फरार छ ।
६ मिटर चौडा र सवा सय मिटर लामो पुल १३ करोड १३ लाख रुपैयाँमा निर्माण गर्न सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । डिजाइनको पुनःमूल्यांकन गरेर काम गर्न पहल थाल्ने सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईले बताए । उनका अनुसार कर्णालीको बीचमा करिब १६ देखि १९ मिटर गहिराइमा ‘वेल फाउन्डेसन’ बाट निर्माण सम्भव नभएपछि डिजाइन बदलेर निर्माण थालिनेछ ।
अहिले ‘वेल फाउन्डेसन’ बदलेर ‘वाइल फाउन्डेसन’ बनाउने स्विकृत भइसकेको सूचना अधिकारी भट्टराईले बताए । ‘पुल निर्माणका लागि पुनः एक वर्ष म्याद थपिएको छ,’ उनले भने । पुल बने भए कर्णाली र सुदूरपश्चिम प्रदेशबीच व्यापारिक तथा निर्माण सामग्री ढुवानी र आउजाउ सहज हुनेछ । यो पुल बने दुई प्रदेशबीच आर्थिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ ।