घर भत्काउन हेलिकप्टरबाट मन्त्री आएपछि...
गौशाला : सरकारी जग्गामा बनाएको घरटहार भत्काउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल हेलिकप्टरबाट महोत्तरीको गौशाला आउने भएपछि गाउँमा रुवाबासी चलेको छ।
आइतबार बिहानैदेखि कुनै घरमा चुलो बलेको छैन । गाउँलेहरू भोकै छन् । उठिबास हुने भएपछि बच्चादेखि वृद्धवृद्धाहरू रोइरहेका छन् ।
निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएको ३० वटा घर टहरा भत्काउन मन्त्री अर्यालयको टोली आउन लागेको हो ।
शनिबार साँझ ५ बजेभित्रमा घरटहरा हटाउन गाई गौशालाले अन्तिम अल्टिमेटम दिएको थियो । सूचनालाई अटेर गरे कुनै पनि समयमा संरचना खालि गर्न यसअघि लिएको ३५ दिन समयवधि फागुन १२ मै सकिसकेको थियो।
घर भत्काउन मन्त्री अर्यालय आउन लागेको सुनेर गाउँमा ८५ वर्षीया चन्द्रकला राउतका आँखा ओभाएका छैनन्। ‘कहीँ कतै घरजग्गा छैन । जीवनमा मुरही तरकारी बिक्री गरेर घर बनाएँ । तीन छोराको परिवार बसिरहेको छ’, उनी भनिन्, ‘घरबाट निस्कन्न, बरु यहीँ मर्छु ।’
यसैबीच मन्त्री अर्याल महोत्तरी आइपुगेको प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिए । ‘मन्त्रीज्यू गौशाला केही समय भित्रै आइपुग्न लाग्नुभएको छ’, उनले भने, ‘गाई गौशालाको अतिक्रमति जग्गा खालि गराउने कार्यक्रम छ ।’