प्रधानमन्त्रीलाई देउवाको प्रश्न : बाँस्कोटाको अडियोमा 'हामी' भनेको को ?
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोकुल बाँस्कोटाको ७० करोड कमिसन डिलको अडियो प्रकरणको छानबिनको माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै देउवाले यस्तो गम्भीर विषयमा छानबिनको सट्टा प्रधानमन्त्री स्वयम नै बचाउमा लाग्नु दुर्भाग्यपूर्ण रहेको बताए । उनले भने, 'सेक्युरिटी प्रेस प्रकरणमा बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानबिन नहुनु रहस्यमय छ। यसको पछाडि सरकारको नियत राम्रो देखिएन।'
देउवाले अडियोमा बाँस्कोटाले हामीलाई कति आउँछ भन्ने बोलेको प्रस्ट सुनिएको उल्लेख गर्दै भने, अडियोमा हामी भनेको कसलाई हो, हामीभित्र को को पर्छन्, प्रधानमन्त्रीले प्रस्ट पार्नुपर्छ।'
देउवाले आफूमाथिको आरोप स्वीकार गरेर छानबिनका लागि राजीनामा गरिसकेपछि प्रधानमन्त्रीले अडियो नक्कली भएको भन्नु लाजमर्दो भएको बताए। उनले भने, 'कमिसन डिलको अडियो प्रकरणको छानबिनलाई प्रभावित गर्ने खेल भइरहेको छ। त्यो प्रयास प्रधानमन्त्रीले नै गरिरहनु भएको छ।
पूर्वप्रधानमन्त्री देउवाले कोरानो भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै अल्पकालिन र दीर्घकालिन पूर्वयोजना तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराए।उनले प्राणघातक कोरोनाबाट बच्न पूर्वसावधान अपनाउन स्वेदश तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन्।
उनले आफू प्रधानमन्त्री हुँदाको समयमा नेपाल ट्रस्टको जग्गा लिजसम्बन्धी कुनै निर्णय नभएको प्रष्ट पारे। यो प्रकरणमा राजनीतिक पूर्वाग्रह लिएर आफ्नो नाम जोडिएको भन्दै उनले गम्भीर आपत्ति जनाए।
उनले सरकारले पेट्रोलियम पर्दाथमा कर बढाएर जनतालाई थप भार थुपारेको आरोप लगाए।