कतारमा कोरोना भाइरस : सतर्कता अपनाउन दूतावासको आग्रह
दोहा : कतारमा कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमण देखिएपछि नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दोहास्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरी कोभिड-१९ को सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन सचेत गराएको हो ।कतारमा करिब चार लाख नेपाली रहेका छन् ।
दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ।
यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको संक्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ । इरानबाट उद्धार गरी ल्याइएका एक कतारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।