देउवाले महाधिवेशन प्रभावित पार्न पद र पैसा बाँडे : पौडेल
हेटौंडा : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्न पद र पैसा बाँडेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन मकवानपुरले आइतबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पद र पैसा बाँडेर देउवाले कांग्रेस महाधिवेशनलाई प्रभावित पार्ने काम गरेका छन्, जुन मान्य छैन।’ उक्त कार्य विधानविपरीत रहेको उनको भनाइ छ। महाधिवेशन प्रभावित गर्न देउवाले निर्वाचित भएको चार वर्षपछि मात्र विभागहरू गठन गरेको उनले भनाइ छ।
‘विधानले तोकेभन्दा पनि संख्या बढाएर विभागहरू बनाएको हाम्रो असहमति छ’, पौडेलले भने, ‘हामीलाई पनि विभागमा भाग लिन बोलाएका थियौं, गएनौं।’ उनले महाधिवेशन लक्षित विभाग गठनको काम मान्य नभएको बताए। कांग्रेसका ४८ विभागमध्ये १३ मा सभापति देउवाले नेतृत्व चयन गरेका छन्। उनले कोही व्यक्ति विशेषको हठमा भन्दा पनि नीतिको आधारमा पार्टी चल्नुपर्ने बताए। ‘सभापतिले महाधिवेशन सकिएको कम्तिमा ६ महिनाभित्र गर्नुपर्ने काम अहिले आएर भएको छ’, देउवाप्रति आक्रोश पोख्दै पौडेलले भने, ‘पद बाँड्ने, पैसा बाँड्ने कामले कांग्रेसलाई फाइदा छैन घाटा हुन्छ।’
देउवाको व्यवहारले पार्टी नै अप्ठ्यारोमा परेको उनको भनाइ छ। ‘बलियो प्रतिपक्ष भएर संसद्मा प्रस्तुत हुनुपर्नेमा आफैं अलमलिएको छ, सभापतिको व्यवहारले प्रतिपक्षको भूमिका नै कमजोर भइसकेको छ’, पौडेलले भने। साथै उनले सरकार भ्रष्टाचारको दलदलमा फसेको र भ्रष्टाचारीलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली नै अघि सरेको आरोप लगाए। कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पार्टीलाई बलियो बनाउन देश दौडाहामा लागेको बताए।
पार्टी नेतृत्वको रवैया ठिक नभएको कारण कांग्रेस अप्ठेरो अवस्थामा आएकाले देश दौडाहामा निस्कनु परेको उनको भनाइ छ। कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत लगायतले पार्टी नेतृत्व सच्चिएर अघि बढ्नुपर्ने बताए। पौडेल समूहको हेटांैडामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ। त्यहाँ देउवा पक्षका जिल्लास्थित नेताको भने उपस्थिति थिएन।