‘प्राथमिकतामा परेन संग्रहालय’
काठमाडौं : युगपुरुष सत्यमोहन जोशीले नेपालको कला, संस्कृति र सभ्यता भ्रमण वर्षको प्राथमिकतामा नपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार राष्ट्रिय संग्रहालयको ८१औं र राष्ट्रिय मुद्रा संग्रहालयको ५७औं स्थापना दिवसको अवसरमा बोल्दै जोशीले नेपाल भ्रमण वर्ष २०२० नारामा मात्र सीमित भएको बताएका हुन्।
जोशीले भने, ‘विदेशी पर्यटक नेपालको हिमाल पहाड मात्र हेर्न आउँदैनन्। यहाँका विविध कला, संस्कृति र सभ्यता बुझ्न इच्छुक हुन्छन्।’ नेपालको इतिहास झल्काउने संग्रहालय भ्रमण ओझेलमा परेको उनले बताए। नारायण हिटी, छाउनी संग्रहालय, हनुमानढोका, पाटन तथा भक्तपुर संग्रहालयमा अझै पनि पाँचौैं शताब्दिका पुरातात्विक अभिलेख छन्। उनी भन्छन्, ‘यसको महत्वलाई हामीले प्रचार गर्नै सकेनौं।’
प्राचीन महत्वका अभिलेख संग्रहमा नेपाल अगाडि रहेको भन्दै जोशीले नेपालको इतिहासको जानकारी दिन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुनुपर्ने धारणा व्यक्त गरे। नेपाल चिनाउन अन्तर्राष्ट्रिय लेखक तथा अनुसन्धानकर्ताको महत्वपूर्ण योगदान रहँदै आएको छ। यसलाई उपयोग गर्नुपर्ने जोशी बनाउँछन्। ‘धेरै संख्यामा पर्याटक भिœयाउनु ठूलो कुरा होइन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विज्ञलाई आकर्षित गर्दा नेपाललाई बढी फाइदा हुन्छ।’
यो वर्ष कोरोना भाइरसको विश्वव्यापी त्रास फैलिएसँगै नेपाल आउने विदेशी पर्यटक स्वतः घटेका छन्। पर्यटकको संख्या बढाउन नेपाल सरकारले कुनै ठोस योजना अगाडि सारेको छैन। यस्तैमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटकको संख्या बढाउन संग्रहालय भ्रमणलाई विकल्पका रूपमा हेरेको बताए। कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन चुनौती थपिएको छ। तर, आन्तरिक पर्यटकको संख्या बढाउन संग्रहालयको भ्रमणमा जोड दिनेछौं।’
राष्ट्रिय संग्रहालयमा जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र मुख्य भवन (ऐतिहासिक संग्रहालय भवन) गरी ३ वटा संग्रहालय छन्। ०७२ को भूकम्पले मुद्रा संग्रहालयलाई क्षति पुर्याएको थियो। पुनव्र्यवस्थापनापछि आइतबार उक्त संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ। साथै, भ्रमण वर्षलाई लक्ष्य गरी राणाकालीन बैठक कक्षको अस्थायी प्रदर्शनी खुला गरिएको छ।
राष्ट्रिय संग्रहालय १९२८ सालमा हतियार संग्रहालयको रूपमा प्रधानमन्त्री भीमसेन थापाद्वारा स्थापना गरिएको थियो। यो संग्रहालय १९३८ मा सर्वसाधारणका लागि खुला गरियो भने त्यतिबेला छाउनी सिलखाना र नेपाल संग्रहालय भनेर नामकरण गरिएको थियो।