तान्जानिया नेपालमा लगानी गर्न तयार छ

तान्जानिया नेपालमा लगानी गर्न तयार छ

छिमेकी भारतका लागि तान्जानियाका उच्चायुक्त बराका एच लुभान्डाले दिल्लीको चाणक्यपुरीबाट नेपाल, भारत, श्रीलंका, बंगलादेश र सिंगापुरलाई नियाल्छन्। लुभान्डा यतिबेला वाणिज्य दूतावास स्थापनाको सिलसिलामा नेपाल आएका छन्। उनी दिल्लीका लागि आवासीय उच्चायुक्त (राजदूत) हुन् भने अन्य चार मुलुकका लागि गैरआवासीय राजदूत। पछिल्लो समय उनले नेपालसँगको सम्बन्धलाई महत्तव दिँदै अवैतनिक दूत नियुक्त र अवैतनिक दूतावास स्थापनामा जोड दिएका छन्।

नेपाल र तान्जानियाबीच सीधा हवाई सञ्जाल, पर्यटन प्रवद्र्घन, स्किल र सेमीस्किल कामदार लैजाने आदि विषयमा चासो देखाएका छन्। पूर्वीअफ्रिकाका तालतलैया र अफ्रिकाकै अग्लो हिमाल रहेको मुलुक तान्जानियासँगको द्विपक्षीय सम्बन्ध र चासोबारे उनै राजदूत लुभान्डासँग अन्नपूर्ण पोस्ट्का चन्द्रशेखर अधिकारी र पुष्पराज आचार्यले गरेको कुराकानी  :

दिल्लीस्थित हाइ–कमिसनमा पदस्थापना भएपछि कतिपटक नेपाल आउनुभयो ?

भारत, नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुर हेर्ने म्यान्डेट छ। तीन वर्षदेखि यो जिम्मेवारीमा छु। म दोस्रोपटक नेपाल आएको हुँ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्न सन् २०१८ को अन्त्यमा आएको थिएँ। अहिले नेपालमा अवैतनिक वाणिज्य दूतावास स्थापनाका लागि आएको हुँ। नेपाल र तान्जानियाबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि मेरो यहाँ पदस्थापन भएदेखि नै प्रयास भइरहेको छ र यसको पृष्ठभूमिका काम गत वर्ष मात्र सम्पन्न भयो। अब हामी अवैतनिक वाणिज्य दूतावास स्थापना गर्ने चरणमा आइपुग्यौं। यसबीचमा हामीले राजेश चौधरीलाई अवैतनिक दूत नियुक्त गरेर सहकार्य थप बलियो बनाउन लागेका छौं। हामी दुवै मुलुक कृषि र पर्यटनमा आधारित छौं। त्यसैले मिलेर सहकार्य गर्न सके राम्रो हुने हाम्रो सोचाइ छ।

नेपाल र तान्जानियाबीच कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउन के–कस्ता प्रयास भइरहेका छन् ?

यी मुुलुकबीच सन् १९७५ को जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको हो। त्यसयता नै बहुपक्षीय फोरमहरूमा हामीले एकअर्कालाई सहयोग गर्दै आइरहेका छौं। नेपालजस्तै तान्जानिया पनि असंलग्न आन्दोलनको सदस्य राष्ट्र हो। हामी संयुक्त राष्ट्रसंघका सशक्त सदस्य पनि हौं। बहुपक्षीय फोरममा हामीले एकअर्कालाई के–के सहयोग गर्‍यौं भनेर विस्तृतमा उल्लेख गर्न थाल्यौं भने त्यो लामो सूची हुन्छ। हामी जी– ७७ मा पनि एकअर्कालाई सहयोग गरिरहेका छौं। गत नोभेम्बरदेखि स्केलिङ अप न्युट्रिसन (सन) आन्दोलनमा पनि साथै काम गरिरहेका छौं। हाम्रो द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ र बहुआयामिक बनाउन महावाणिज्य दूतावासले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्नेमा आशावादी छौं।

राष्ट्रसंघमा नेपाल र तान्जानियाले कसरी एकअर्कालाई सहयोग गरिरहेका छन् ?

राष्ट्रसंघमा हामीले शान्ति स्थापनाको पहलमा सहयोग गरिरहेका छौं। शान्ति सेनाका सम्बन्धमा पनि हाम्रो एकै आवाज छ। असंलग्न आन्दोलनका सदस्यहरू भएकाले धेरै सबालमा हाम्रो एकै आवाज हुन्छ। दुवै अल्पविकसित मुलुकका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा एकै लहरमा रह्यौं। राष्ट्रसंघलगायत अन्य फोरममा अल्पविकसित मुलुकहरूको सहकार्य कसरी अघि बढाउने भनेर छलफल गर्‍यौं। नेपालसँग प्रत्यक्ष सहकार्य नभए पनि नेपालीहरू तान्जानियामा छन्। उनीहरूले भारतीयसँग मिलेर काम गरिरहेका छन् भने कतिपय नेपालीले आफ्नै व्यवसाय गरिरहेका छन्। दुवै देश मिलेर कृषि र पर्यटनमा अधिक काम गर्न सक्ने मैले देखेको छु। यसका लागि हामी काम गरिरहेका छौं।

नेपाल भ्रमणको दौरान यहाँले मन्त्रीहरू र राजनीतिक दलका नेताहरूलाई पनि भेट्नुभयो कि ?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हाम्रो अवैतनिक महावाणिज्य दूतावासको उद्घाटन गर्दै हुनुहुन्छ। सोमबार महावाणिज्य दूतावास उद्घाटनका क्रममा दुई मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध विस्तारबारेमा चर्चा गर्नेछु। त्यहाँ अन्य राजनीतिक दलका नेता तथा कूटनीतिक समुदायका अधिकारीहरूका साथै विभिन्न क्षेत्रका बुद्धिजीवीसँग पनि अनौपचारिक भलाकुसारी हुन पाउँछ। यससम्बन्धी अधिकतम कार्य अवैतनिक महावाणिज्य दूत चौधरी सरले गरिरहनुभएको छ।

नेपाल र तान्जानियाबीच लगानी र व्यापारिक सम्बन्ध विस्तारका के–कस्ता सम्भावना छन् ?

यी दुई मुलुकले धेरै क्षेत्रमा सहकार्य गर्न सक्छन्। पूर्वीअफ्रिकी देश तान्जानिया पाँच करोड ८० लाख जनसंख्या भएको मुलुक हो। हामीकहाँ राजनीतिक स्थायित्व र प्रजातान्त्रिक प्रणाली छ। कृषि, खानी÷खनिज, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना छन्। तान्जानियामा भारतीय लगानीकर्ताको लगानी छ। त्यहाँबाट अन्न र फलफूल भारतमा पनि निर्यात भइरहेको छ। पर्यटकीय आकर्षणका हिसाबले हामी राम्रो वन्यजन्तु पर्यटनको गन्तव्य हो। नेपालमा संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथा भएजस्तै तान्जानियामा माउन्ट किलिमन्जारो छ। नेपालको पर्यटन क्षेत्रको अनुभवबाट तान्जानियाले सिक्न सक्छ। हामी हिमालदेखि हिमाल र वनजंगल सफारीदेखि सामुद्रिक बीचसम्म जोडेर सहकार्य गर्न सक्छौं। त्यसका लागि मिलेर काम गर्न जरुरी छ।

तान्जानियाको माउन्ट किलिमन्जारो, जंगल सफारी आदि पर्यटकीय गन्तव्य छन्। तान्जानियाले पर्यटनलाई प्राथमिकतामा राखेको छ। नेपालले पनि अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको छ। यस सम्बन्धमा तान्जानिया र नेपालले पर्यटन विकासमा सहकार्य गर्न सक्छन् नि ?

अवश्य पनि। पर्यटनमा हामीसँग नेपालको जति लामो र गहिरो अनुभव त छैन। तथापि हामी प्रयास गरिरहेका छौं। नेपालको अनुभव हाम्रा लागि उपयोगी हुन सक्छ। किलिमन्जारो अफ्रिकाकै सबैभन्दा अग्लो शिखर हो। सगरमाथालाई नेपालले जसरी प्रवद्र्धन गरेको छ, त्यसरी नै माउन्ट किलिमन्जारोलाई हामीले प्रवद्र्धन गर्न सकेका छैनौं। नेपालबाट सिकेर त्यसमा लाग्नुपर्ने भएको छ।

आधुनिक खेती, जंगल सफारीलगायतका क्षेत्रमा मात्र होइन; पर्यावरण स्वच्छ राख्नेदेखि अधिक विश्व मुद्दामा हामी सहकार्य गर्न सक्छौं।

यसमा नेपालले हामीलाई सुझाउन सक्छ। अहिलेसम्म हाम्रो कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो क्षेत्र कृषि हो। त्यसपछि मात्र पर्यटन हो। तर तान्जानियामा खानी खनिजको प्रशस्त सम्भावना छ। सुन, हिरादेखि महँगा पत्थरको खानी तान्जानियामा छन्। तर यी खानीको माइनिङ भएको छैन। हामी धेरै नेपालीलाई तान्जानिया भ्रमणका लागि आमन्त्रण गर्न चाहन्छौं। तान्जानियाका पर्यटकीय गन्तव्यहरू आकर्षक र मनमोहक छन्। तान्जानियाको नौ लाख ४५ हजार ८७ वर्ग किलोमिटर कुल क्षेत्रमध्ये २५ प्रतिशत हामीले जंगल संरक्षण गरेका छौं। त्यसमा हामीले २२ राष्ट्रिय निकुञ्ज, ३३ गेम रिजर्भ, ४४ वन्यजन्तु संरक्षण क्षेत्र कायम गरेका छौं। यसबाहेक मरिनपास, मनमोहक सामुद्रिक तटजस्ता पर्यटकीय क्षेत्र तान्जानियाका आकर्षणका रूपमा छन्। नेपालको हिमालयको चमक र त्यसलाई जोड्न सके कति राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ।

तर तान्जानिया र नेपालबीच त हवाई सम्पर्कमा सहजता नै छैन, सहकार्य कसरी सम्भव होला र ?

त्यस्तो पनि होइन। मुम्बईबाट तान्जानिया पाँच घन्टाको उडान त हो। हामीले नेपाल सरकारसँग मुम्बईबाट काठमाडौं नेपाल एयरलाइन्ससँग सहकार्यको वातावरण मिलाएर पनि उडान तालिका तय गर्न सक्छौं। यो सबै सहकार्यमा हुने विषय हुन्। अब नेपाल र तान्जानियाबीच हुने सहकार्य यस्तैमा जोडिएर आउने छ। यद्यपि अहिले पनि मुम्बई वा दिल्ली भएर तान्जानिया जान सकिन्छ। हामीले सरकारी निकायका अधिकारीलाई मात्र होइन; सबै नेपालीलाई अनअराइभल भिसा दिएका छोैं, जसरी नेपालले हामीलाई उपलब्ध गराउँदै आएको छ। सीधा टिकट काटेर तान्जानिया ओर्लन सक्नुहुन्छ।

तान्जानियाले तीव्र आर्थिक वृद्धिदर हासिल गरिरहेको छ। मानव विकास सूचकांकमा राम्रो प्रगति हासिल गरिरहेको छ। तान्जानियाको अनुभव नेपालका लागि उपयोगी हुने देखिन्छ ?

पछिल्लो तीन वर्षदेखि हामी करिब सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ। आगामी दिनमा अझै उच्च आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ। हामीकहाँ राजनीतिक स्थायित्व छ। वर्तमान सरकारले मुलुकलाई उन्नत औद्योगिक विकासतर्फ प्रवेश गराउन भरमग्दुर प्रयास गरिरहेको छ। सन् २०२५ सम्म हामी मध्यम आय भएका मुलुकमा स्तरोन्नति हुँदै छौं। मध्यम आय हुने मुलुकको सूचीमा प्रवेश गर्न हामीले अझै धेरै काम गर्नुपर्नेछ। हामी औद्योगिक राष्ट्रमा रूपान्तरण हुन खोजिरहेका छौं। यस क्रममा हामीले नेपालसँग सहकार्य गर्ने प्रशस्त आधार छन्। नेपालमा प्रशस्त मानव स्रोत छन्। मानव पुँजी उपयोग गरेर नेपालले पनि तीव्र विकासमा फट्को मार्न सक्छ। तान्जानियामा धेरै भारतीयको लगानी छ। धेरै भारतीयहरू त्यहाँ काम पनि गर्छन्।

नेपालको मानव स्रोतको विषय उल्लेख गर्नुभयो, तान्जानियाले नेपाली कामदार लैजाने विषयमा पनि केही सोचिरहेको हो ?

भारतीय कम्पनीमार्फत धेरै नेपाली पनि त्यहाँ काम गरिरहेका छन्। कति नेपाली छन् भनेर यकिन संख्या त भन्न सक्दिनँ। भारतीय कम्पनीमार्फत नेपालीहरू त्यहाँ पुगेका छन्। नेपालले तान्जानियालाई अन–अराइभल भिसा नै दिइरहेकाले त्यसमा यकिन तथ्यांक छैन। हामीले पनि पारस्परिकता (रेसिप्रोसिटी) का आधारमा भिसा दिइरहेका छौं। कृषि, पर्यटन र प्राविधिकमा नेपालीको अनुभवलाई तान्जानियाले स्वागत गर्छ। यस्तै सहकार्यले हामीबीच पर्यटक विस्तार हुनेछ। एकअर्कामा विकासको टेवा पुग्नेछ।

तान्जानियाले पनि नेपाललाई अन्य शक्ति मुलुकले झैं भारतको चस्माले हेर्ने सम्भावना कत्तिको छ ? अझैसम्म त नेपालमा दूतावास आवश्यक ठान्नु भएन, बल्ल अवैतनिक वाणिज्य दूतावास स्थापना गर्दै हुनुहुन्छ। यसैले नेपालबारेमा तान्जानियाको स्वतन्त्र बुझाइ के छ ?

नेपाल र तान्जानिया दुई मुलुकबीच सहकार्य छ भने अर्को मुलुकको दृष्टिबाट किन हेर्ने र ? दिल्लीको मिसनले धेरै देशलाई हेर्नुपर्ने कारणचाहिँ हामीले स्रोतको इनभेलोप (खर्च गर्ने क्षमता) पनि हो। हामी ठूलो रिसोर्स भएको धनी मुलुक होइनौं। हामीले आर्थिक रूपमा मितव्ययी बन्नैपर्छ। कूटनीतिमा ठूला लगानी गर्न सक्ने अवस्था पनि होइन। तर हामी सहकार्यका लागि कुनै एक मुलुकलाई हब बनाएर विभिन्न मुलुक हेरिरहेका छौं। हामीले यस क्षेत्रमा भारतमा दूतावास राखेर त्यहाँबाट नेपाल, श्रीलंका, बंगलादेश, भारत र सिंगापुर हेरेका हौं। मिसन राख्ने भनेपछि सोहीअनुसार स्रोत (पुँजी र मानव स्रोत) चाहियो। हामीले महावाणिज्य दूतावासमार्फत पनि द्विपक्षीय सम्बन्ध विस्तारका धेरै काम गर्न सक्छौं।

नेपालमा प्रशस्त जलविद्युत्को सम्भावना छ। औद्योगिक सम्भावना पनि त्यत्तिकै छ। के तान्जानियाका लगानीकर्ताहरू नेपालमा लगानीका लागि उत्सुक छन् ?

गत वर्षदेखि अफ्रिकामा बृहत् खुला व्यापार सम्झौता कार्यान्वयनमा आएको छ। यसले अफ्रिकाको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ। अफ्रिका र भारतबीच पनि त्यस्तै खुला व्यापार सम्झौताको हुने निश्चित भइसकेको छ। त्यस्तो सम्झौता नेपालसँग पनि गर्न सकिन्छ।

अथवा क्षेत्रीय रूपमै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र अफ्रिकी युनियनबीच पनि त्यस्ता सम्झौता हुन सक्छन्। सिंगो अफ्रिकाको कुरा गर्ने हो भने यो एक अर्ब २० करोड जनसंख्याको बजार हो। तान्जानिया र पूर्वीअफ्रिकाका पाँच देशमा मात्रै १६ करोड जनसंख्या छ। तान्जानिया दक्षिण अफ्रिकी डेभलपमेन्ट कम्युनिटीको सदस्य भएकाले यसमा १६ राष्ट्रहरू आबद्ध छन्, जसमा ४० करोड जनसंख्याको बजार उपलब्ध छ। त्यसकारण क्षेत्रीय सहकार्यले पनि दक्षिण एसिया र अफ्रिका दुवैले व्यापार र लगानीको माध्यमबाट लाभ लिन सक्नेछन्। त्यसतर्फ नेपालले पनि आफ्नो सोच र अवधारणा ल्याएमा हामी सहकार्यका लागि तयार छौं।

महावाणिज्य दूतावास स्थापनालगत्तै दुई देशको आर्थिक सम्बन्ध विस्तारमा कुन–कुन क्षेत्र प्राथमिकतामा रहनेछन् ?

कृषि, पर्यटन, सञ्चार, प्रविधि, सम्पर्क सञ्जाल विस्तार हाम्रो प्राथमिकता हो। अहिले तान्जानियाको दार एस सलाम र मुम्बईबीच प्रत्यक्ष हवाई उडान भइरहेको छ। मैले माथि भने झैं मुम्बई–काठमाडौं नेपाल एयरलाइन्ससँग कोड सेयरमार्फत हामी नेपालसँग पनि प्रत्यक्ष हवाई सम्पर्क कायम गर्न काम गर्नेछौं। त्यसमा नेपालको रेसपोन्स कस्तो आउँछ, अहिल्यै भन्न सक्दिनँ। आधुनिक खेती, जंगल सफारीलगायतका क्षेत्रमा मात्र होइन; पर्यावरण स्वच्छ राख्नेदेखि अधिक विश्व मुद्दामा हामी सहकार्य गर्न सक्छौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.