कहिले सफा होला हनुमन्ते खोला ?

कहिले सफा होला हनुमन्ते खोला ?

बालकोट पुलभन्दा पर खेतबारीमा सागपात केलाउँदै गरेकी सत्तरी वर्षीया आमाले हनुमन्ते हेर्दै विगत सम्झिइन्, ‘यो खोलामा वारिदेखि पारि किनारसम्म सफा पानी सललल बग्थ्यो। मानिसहरू पवित्र नदी भन्थे। सम्मान गर्थे। नदीको बहाब हेरेर आनन्दित हुन्थे। यहाँको पानी पिएर जान्थे। मैले पनि कत्तिपटक पिएकी थिएँ। त्यस्तो खोला यस्तो होला भन्ने मैले कल्पना पनि गरेकी थिइनँ !’

पुलबाट खोलातिर हेर्दा दुवै किनारामा ढलपानी झर्ने ह्युम तथा काला पाइप नदीतिर तेर्सिएका छन्। ढल पाइपबाट निस्किएका मानवविसर्जित फोहोरबसहितको लेदो पानी थपिँँदै र दुर्गन्ध फैलाउँदै बगिरहेको छ। पाइपका वरपर र नदीका बीचतिर कतै थुप्रो त कतै छरपस्ट रूपमा सिमेन्टका बोरा, प्लास्टिक, लुगा, झोला, हेलमेट, टायर, चप्पल, जुत्ता, काठका टुक्रा, स्पम, थुन्चे, डोका, चुरोट, बिस्कुट, चाउचाउका खोल र कार्टुन, कपाल, गाईगोठबाट निस्किएका मूत्र, केराका थुम्बा, पातपतिंगर, सिटासिटी, दाउरा बनमारालगायतका झारपात देखिन्छन्। यहाँको परिदृश्य हेरेपछि हनुमन्तेले भने झैं लाग्थ्यो– शिक्षित मानिसहरू बस्ने सभ्य सहरको परिचय बोकेर म निरन्तर बगिरहेको छु !

यही पुलबाट दैनिक हजारौं मानिस ओहोरदोहोर गर्छन् पैदल, मोटरसाइकल, साइकल, बस, मिनिबस, ट्याक्सी, ट्रक, टिफर, प्राडो, पजेरोमा। तिनमा सवार हुन्थे सुकिला–मुकिला, राता–चिल्ला, रसिला–फूर्तिला लाग्ने र सभ्य ठानिने प्रधानमन्त्री, राजनीतिक दलका शीर्षदेखि वरिष्ठ, कनिष्ठ नेता–कार्यकर्ता, विषयविज्ञ, समाजसेवी, साधु, महात्मा, सन्त, पत्रकार, साहित्यकारहरू सवार हुन्थे। उनीहरू न गाडीबाट ओर्लेर हेर्थे, न त खोजीनीति गर्थे। कोही पनि पुलमुन्तिर बग्ने हनुमन्तेको नारकीय जीवन देख्दैनथे। उनीहरूमध्ये कतिपय यस्ता थिए, जो नदीतिर फर्केर खकार्थे, थुक्थे र ठुस्सिँदै भन्थे– कस्तो फोहोर छ्या ! यस्तो ठाउँमा कसरी हिँड्नु ! बालकोट पुलका यात्रीहरूका सोचाइ र व्यवहार कस्ता छन् भनेर बुझ्न यति नै काफी छैन र ?

तर ती यात्रीमध्ये केहीले त हनुमन्तेको नारकीय जीवन देखेछन् र अठोट लिएछन्, ‘हनुमन्ते, हामी एक दिन तिमीलाई पुनर्जीवन दिनेछौं !’ हो, तिनले एक दिन हनुमन्तेलाई पुनर्जीवन दिने अभिलाषा राखेर सफाइ अभियान सुरु गरे, जुन अभियानले सय हप्ता पूरा गरेछ। यस अवसरमा एकै ठाउँमा उभिएका अभियन्ताहरूले भनेका थिए– हनुमन्ते सफाइ अभियानको पहिलो चरण पूरा भएको छ; अब राजमार्ग, मठमन्दिर, पाटीपौवा, गल्ली पनि सफाइ हुन्छन्। अभियानले सिंगो भक्तपुरलाई सुन्दर, सफा र हराभरा राख्ने उद्देश्य बोकेको छ। पुलमुनि हेर्दा लाग्थ्यो– खै त उनीहरू यहाँ आइपुगेका ?

पुलमुनिको यो अवस्था छ, उता सफाइ अभियन्ताहरू सफाइ अभियान सुरु भएयता आजसम्म आइपुग्दा हनुमन्तेमा फोहोर फाल्ने क्रममा ९० प्रतिशत कमी आएको बताउँछन्। सहकारी क्षेत्रका जयराज पौडेल भन्छन्, ‘निर्वाचित जनप्रतिनिधि आएपछि सफाइ अभियान सहज रूपमा अगाडि बढेको छ।’

सफाइ अभियान कहाँ पुग्ला ? कति सफल होला ? जस्तो लागेको थियो, नागरिक जागेपछि गर्न नसक्ने केही पनि रहेनछ भन्छन् रेडक्रस सोसाइटीका भक्तपुर सभापति मनोजकुमार थापा। ‘बागमती सफा होला र ? ’ भन्दै काम गर्दै जाँदा अभियान जसरी उदाहरणीय बन्यो, हनुमन्ते सफाइ अभियान पनि त्यसरी नै अगाडि बढ्दा प्रेरणास्रोत बन्यो भन्छन् जीवन विज्ञानका विशेषज्ञ रमेश नेपाल।

बागमती सफाइ अभियान चलिरहेका बेला हामी सुतिरहेका थियौं, हामी उठेपछि हनुमन्ते सफा भई सलल बग्न थालेको छ भन्छन् वातावरण क्षेत्रका टीकाराम दाहाल। उठौं, जागौं, हनुमन्ते सफाइ गरौं भन्दाभन्दै सय हप्ता पार गरेछौं भन्छिन् सफाइ अभियानकी सहसंयोजक तथा मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मी। उनी भन्छिन्, ‘सय हप्ता पूरा गर्नुको अर्थ समापन होइन, यो त सुरुवात हो।’

सयौं हप्ता बिताउन सजिलो थिएन तर पनि जाडोमा ठिहिर्‍याए पनि र गर्मीमा गनाए पनि महिलाले बढी सहभागिता जनाएर अभियानलाई यहाँसम्म ल्याइपुर्‍याएको अनुभव सुनाउँछिन् भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे।

दुई सयवटा सामाजिक संघसंस्थाको सहभागिता रहेको र एक सयऔं हप्ता पार गरेको यस अभियानबाट एक लाख मानिसको मनमा शुद्धता आएको छ भन्छन् अभियानका प्रमुख सल्लाहकार महेश बस्नेत। उनी भन्छन्, ‘अभियानले लार्भा अवस्था पार गरेर पुतलीको रूप ग्रहण गरेको छ। यो अभियानले धेरै न्युक्लियस जन्माएको छ।’ उनी भन्छन्, ‘भक्तपुरका चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले एकल रूपमा वडावडामा सफाइ अभियान थालेका छन्। यो अभियान पनि निरन्तर बढ्छ, रोकिँदैन।’ हामीले दुई महिना निरन्तर राजमार्ग सफाइ गर्दा यसलाई सुन्दर, सफाका साथै सुरक्षित पनि बनाउनुपर्छ भन्ने ज्ञान पाएको उनी बताउँछन्। उनी थप स्पष्ट पार्दै भन्छन्, ‘पानीका बोतल, चाउचाउ, बिस्कुट, गुट्खाका खोल सडक र नदीमा फ्याँक्ने अनि किन सफाइ भएन भन्नु दरिद्र मानसिकता हो। यसरी सफाइ कहिले हुन्छ ? ’ हनुमन्ते सफाइ अभियानले एउटा खण्ड पार गरेको छ भन्छन् हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापा। उनी भन्छन्, ‘अब यो अभियान बहुआयामिक रूपमा अगाडि बढ्नेछ।’

हनुमन्तेप्रतिको दृष्टिकोण

सहकारी क्षेत्रका पौडेल भन्छन्, हामी पहिला हनुमन्तेलाई गाली गथ्र्यौं आज माया गर्ने भएका छौं।’ सफाइ अभियान नदीमा मात्र होइन, अन्य क्षेत्र राजमार्ग, मठमन्दिर आदिमा पनि प्रवेश गर्दैै अगाडि बढेको रेडक्रस सोसाइटीका भक्तपुर सभापति थापा बताउँछन्।

फोहोर लुकाउने र बाहिर राम्रो देखिने हाम्रो बानी छ, त्यसलाई सुधारौं भन्छन् जीवन विज्ञानका विशेषज्ञ नेपाल। उनी भन्छन्, ‘हामी बाहिरी वातावरण र भित्री मन पनि सफाइ गरौं। जीवन विज्ञानले मनभित्रको फोहोर सफाइ गर्दै आएको छ।’ जसको मन फोहोर छ, त्यसले नै बाहिर फोहोर गर्छ भन्छन् गैसस महासंघ भक्तपरका अध्यक्ष सोम शर्मा। उनी भन्छन्, ‘बाहिरको फोहोर टिप्ने अभियान सकिएको छ, अब मनभित्रको फोहोर टिपौं। हामीले मन सफा गर्‍यौं भने हनुमन्ते सफा हुन्छ। वरिपरिको वातावरण पनि सफा हुन्छ।’

हनुमन्तेबाट सुरु गरेको सफाइ अभियानलाई राजमार्ग, सडक, गल्ली हुँदै टोलटोल र घरघरमा पनि पुर्‍याउने बेला आयो भन्छिन् सफाइ अभियानकी सहसंयोजक मधिकर्मी। उनी भन्छिन्, ‘करिडोर सम्पन्न भएपछि हनुमन्तेको सफाइ अभियान पुनः सुरु हुनेछ। त्यसबेला पनि हामी मनैदेखि आफ्नो घर, टोलको सफाइमा पनि लाग्नेछौं।’

सबैले आआफ्नो क्षेत्रबाट सफाइ अभियान सञ्चालन गर्न सक्यौं भने हाम्रो उद्देश्य सफल हुनेछ भन्छन् नेकपा भक्तपुरका संयोजक वचन देउजा। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डे भन्छिन्, ‘सदाचारको मूल्यमान्यता मान्दै र मनलाई शुद्धीकरण गर्दै अगाडि बढे हनुमन्ते सफाइ अभियानको लक्ष्य पूरा हुनेछ।’ बागमती प्रदेशका सभासद् रजनी वैद्य भन्छिन्, ‘हाम्रो सोच राम्रो भयो भने हनुमन्ते सङ्लिन्छ।’

भक्तपुर २ बाट निर्वाचित सांसदसमेत रहेका सफाइ अभियानका प्रमुख सल्लाहकार बस्नेत भन्छन्, ‘पाँच लाख मानिसको मन शुद्ध बनाउनु छ। यसका लागि हामी जुन तरिकाले सफाइ गर्दै आएका थियौं, अब फरक ढंगले जाने छौं।’ उनी भन्छन्, ‘हनुमन्ते करिडोर अरनिकोको वैकल्पिक मार्गका रूपमा विकास हुँदैछ। यसलाई दुई वर्षभित्र सम्पन्न गरिनेछ। ठाउँठाउँमा ट्रिटमेन्ट प्लान्ट स्थापना गरेर ढल पानी प्रशोधन गरी हनुमन्तेमा बगाइनेछ। दुई वर्षभित्रै हनुमन्तेमा माछा हिँडेको देख्न पाउनुहुनेछ।’

सबैको सहभागिता रहेको अभियानले दशकौंदेखिको समस्या दुई वर्षमा सकियो भने अब हनुमन्ते खोलाले मूर्तरूप प्राप्त गर्ने समय धेरै टाढा छैन भन्छन् सफाइ अभियानका संयोजक थापा। अभियानबाट प्राप्त अनुभव बाँड्दै भन्छन्, ‘यस अभियानले सँगसँगै मन पनि सफाइ गर्दै गएको छ। अब ती मनले कहिल्यै पनि जथाभावी कतै पनि फोहोर फ्याँक्ने छैनन्। साथै अरुलाई पनि यस्तै प्रेरणा दिनेछन्। त्यसैले बहुआयामिक महत्व बोकेको यो चेतनाको अभियान पनि हो। अब हामीले आफ्नो नदीसम्मको सरसफाइ गर्नु अनिवार्य छ।’

अभियानमा सेना, प्रहरी, नगर प्रहरी, विद्यार्थी, शिक्षक, जीवन विज्ञान, पातञ्जल योग समिति, बैंक, सहकारी, स्थानीय तहका प्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, पत्रकार, विभिन्न दलका नेता–कार्यकर्ता, समाजसेवी, नागरिक समाजका महिला हुन् या पुरुष, सबैमा हनुमन्ते मात्र होइन, सिंगो भक्तपुरलाई सफा राख्ने उत्कट अभिलाषा देखियो, जुन आमूल परिवर्तन ल्याउने प्रारम्भिक जागरण हो। बागमती तथा मनोहरा सफाइ अभियानको अनुभव पनि सँगालेका हनुमन्ते सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले बढीभन्दा बढीलाई सफाइ अभियानमा सहभागी गराउन उत्प्रेरणा जगाएका छन्। यो सफाइ अभियानको रथलाई मिहिन रूपमा चलाएर संयोजक थापा, प्रमुख सल्लाहकार बस्नेत र उत्प्रेरक पौडेलहरू सफाइका सहयात्रीहरूको होस्टे र हैंसेमा हनुमन्तेलाई सफाइ र हराभरा तुल्याउन सफल हुन सकून् !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.