भत्काइँदै जुद्ध भवन
काठमाडौं : राणाकालीन प्रधानमन्त्री जुद्ध शमशेरको नासोका रूपमा छ, जुद्ध वारुणयन्त्रको भवन। २०७२ सालको भूकम्पमा चर्किएको यो भवन पुरातत्वविदले पुनर्निर्माण गर्न नपर्ने भन्दै आएका छन्। काठमाडौं महानगरपालिका भने यसलाई भत्काएर नयाँ संरचना बनाउन लागिपरेको छ।
यो संरचना विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार परिसरमा छ। यो भवन जीर्ण भएकाले भत्काएर नयाँ बनाउन उपयुक्त हुने महानगरपालिकाले जनाएको छ। उसले आर्थिक वर्ष २०७६÷७७ मा नयाँ भवन निर्माण स्वीकृतिका लागि पुरातत्व विभागमा पटक–पटक पत्राचार गरेको देखिन्छ।
विभागले भदौ १ गते सार्वजनिक स्मारकका रूपमा रहेको जुद्ध भवन निर्माणमा निजी घरमा लागू हुने मापदण्ड नमिल्ने भन्दै साबिककै मापदण्डका आधारमा जीर्णोद्धार गर्न जवाफ दिएको थियो। महानगरले गत माघ २१ मा गरेको पत्राचारमा उक्त भवन जीर्णोद्धार वा सबलीकरण नभई पुनर्निर्माण गर्न लागेको पुनः प्रस्ट्याएको छ।
महानगरले गत मंसिर ९ गते पनि विभागमा पत्राचार गरेको थियो। क्षतिग्रस्त भवन भत्काई हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको कार्यालय, पर्यटकका लागि सुविधासम्पन्न शौचालय, पर्यटक सूचना केन्द्र, सभाहल तथा भौतिक सुविधासम्पन्न दमकल भवन बनाउन महानगरले स्वीकृति मागेको थियो। कर्मचारीको आवास निर्माण गर्न पनि उसले विभागसँग स्वीकृति मागेको थियो। विभागले माघ १३ गते परम्परागत निर्माण सामग्री प्रयोग गरी जीर्णोद्धार वा सबलीकरण मात्र गर्न भनेको थियो।
महानगरले नयाँ र पुरानो शैलीको मि श्रण (नियो क्लासिकल) ढाँचामा तीन तलाको भवन बनाउन प्रस्ताव गरेको छ। भुइँ तलामा पाँचवटा दमकल राख्न मिल्ने डिजाइन बनाइएको छ। पुरानो दमकल प्रदर्शनीमा राख्न ठाउँ छुट्याइएको छ। दोस्रो तलामा १ सय २० सिटको सभाहल र २० जना अट्ने मिटिङ रुम हुनेछ। सभाहलमा कर्मचारीलाई तालिम तथा सेमिनारको व्यवस्था गरिनेछ। कर्मचारीको सुत्ने कोठा पहिलो र दोस्रो तलामा हुने महानगरले जनाएको छ। यसका लागि महानगरले १० करोड बजेट खर्चने योजना बनाएको छ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोल पुरातत्व विभागसँग पुनर्निर्माणका लागि स्वीकृति मागिएको बताउँछन्। ‘जुन डिजाइन स्वीकृत हुन्छ त्यसलाई अगाडि बढाइनेछ’, उनी भन्छन्।
पुरातत्वविद काइ वाइजे भने अहिलेको भवनलाई मर्मत र रंगरोगन गरे पुग्ने बताउँछन्। ‘भवनको माथिल्लो तलाको एक छेउमा क्षति पुगेको छ’, उनी भन्छन्, ‘यसलाई मर्मत गरी रंगरोगन मात्र गरे पुग्छ। भत्काएर नयाँ बनाउन आवश्यक छैन।’
वारुणयन्त्रका कर्मचारी पनि भवन भत्काउने पक्षमा छैनन्। दमकल चालक राजेन्द्रबहादुर श्रेष्ठ २३ वर्षदेखि यही भवनमा बस्दै आएका छन्। भूकम्पपछि पनि उनी यहीं सुत्छन्। ‘वर्षांैदेखि यही भवनमा बस्दै आएको छु’, उनी भन्छन्, ‘चर्किएका भित्ता मर्मत गरे पुग्छ। भत्काएर नयाँ बनाउन आवश्यक छैन।’
सहरमा हुने आगलागी नियन्त्रण गर्न जुद्ध शमशेरले आफ्नै नाममा पहिलो पटक दमकल सेवाको सुरुआत गरेका थिए।