जीवित कुमारीको महापूजा
नुवाकोट : २ सय ४६ वर्षअगाडि मल्ल समुदायको राज्य नुवाकोटमा जीवित कुमारीको महापूजा गरिएको छ । नेवार समुदायका अगुवाहरूको संगठन ह्युमत महिला समूहको आयोजनामा विशेष कार्यक्रमबीच विदुर नगरपालिका–२ भैरवी मन्दिर मण्डलामा रहेकी जीवित कुमारीको महापूजा गरिएको हो ।
बाजागाजासहित गरिएको जीवित देवी कुमारीको महापूजामा नुवाकोटका साथै काठमाडौं, भक्तपुर तथा ललितपुरबाट ७ सय जनाभन्दा बढी भैरवी मन्दिर परिसर पुगेका थिए । जीवित देवी कुमारीलाई एकै पटक हजार जनाले पूजा गरेको आयोजकले जनाएको छ ।
कुमारी संस्कृतिको संरक्षण, सम्बद्र्धन र महत्व दर्शाउने मुख्य उद्देश्यले सामूहिक रूपमा पहिलो पटक नुवाकोट भैरवीकी जीवित देवी कुमारीको पूजाआजा कार्यक्रम आयोजना गरिएको ह्युमत समूहकी मचनानी महर्जनले बताइन् ।
‘संस्कृति जगेर्ना गर्नुपर्छ’
नुवाकोटको भैरवी मन्दिर परिसरमा आयोजित तेस्रो कुमारी पूजा पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले समापन गरेका छन् । उनले नेपालको चिनारी गर्ने जुनसुकै संस्कृतिको संरक्षणका लागि तीनवटै तहको सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए ।
खनालले देशमा सबै मिलेर सुसंस्कारको जगेर्ना गर्नुपर्ने पनि बताए । उनले पहिचान गराउने संस्कारको विकास, संरक्षण तथा कुप्रथा परिवर्तन गर्नुपर्ने बताए ।