कोरोनाका कारण विद्यार्थीलाई विदेश जान पनि रोक
काठमाडौं : कोरोना संक्रमण विश्वव्यापी हुँदै गएपछि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) वितरणमा रोक लगाइएको छ। तर, मन्त्रिपरिषदको निर्णय प्रमाणिकरण भएर नआएकाले कार्यान्वयनमा भने जान बाँकी रहेको शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले मन्त्रिपरिषद कार्यालयबाट निर्णय प्रमाणिकरण गरेर आएपछि मात्र कार्यान्वयनमा जाने बताए। उनले भने,' निर्णय प्रमाणिकरण भएपछि मात्र रोका हुन्छ, अहिले रोक्का भएको छैन।'
कोभिड १९ (कोरोना) भाइरसको त्रास विश्वभर फैलिएपछि त्यता जाने विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर एनओसी रोकिएको मन्त्रालयले जनाएको छ। कोभिड भाइरस विश्वका ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ । विशेषगरी नेपाली विद्यार्थी धेरै जाने अष्ट्रेलिया, जापान, मलेसिया, अमेरिका, कोरिया, चिन लगायतका मुलुकमा यस भाइरसको संक्रमण चर्को रुपमा फैलिएको छ।