सेयर बजारमा ‘बबल’

सेयर बजारमा ‘बबल’

काठमाडौं : जम्मा १ सय ८ मिनेट कारोबार हुँदा सोमबार सेयर बजार सूचकांक ६ प्रतिशतभन्दा धेरैले घट्यो। १० वर्षयता पहिलोपटक सेयर बजारले एकैदिन यति फराकिलो गिरावटको सामना गरेको छ। सोमबार बिहान ११ बजे खुलेको बजार दिउँसो १२:४६ मा १५ सय ११ अंकमा झरेपछि नेप्सेमा सर्किट ब्रेक लगाइएको थियो। त्यसपछि दिउँसो १:२७ मा खुलेको बजार दुई मिनेटमै थप एक प्रतिशत घट्यो र १:२९ बजे पूरै दिनका लागि कारोबार बन्द भयो।

आइतबारदेखि नै बजारमा सेयरको बिक्री चाप बढेको थियो। दुई सातायता अर्थमन्त्री डा.युवराज खतिवडा तत्कालै पदबाट हट्ने हल्ला चलेपछि बजार उचालिएको थियो। तर, गत आइतबार ४० दशमलव ८२ अंक घटेको नेप्से सोमबार थप ९६ अंक (६.०४ प्रतिशत) घटेर १४ सय ९५ अंकमा समेटियो।

गएको २६ माघमा १३ सय २० अंकबाट उकालो लागेको सेयर बजार परिसूचक- नेप्से त्यसयता व्यापार खुलेका १४ दिनमा १६ सय ३२ अंकमा पुगेको थियो। यसरी दैनिक औसत साढे २२ अंकका दरले बढेर ३१२ अंक (२३.६४ प्रतिशत)को फड्को मार्न सफल भयो।

गत साताको अन्तिम तीन दिनमै सेयर बजार १ सय ३० अंक (८.६६ प्रतिशत) बढेको थियो। यस्तो वृद्धि अस्वाभाविक हो जसलाई अर्थशास्त्रको सामान्य भाषामा बबल (फोका) भनिन्छ। पानीको छालमा उत्पन्न हुने फोका जसरी फुट्छन्, यस्तो वृद्धि पनि त्यसरी नै चकनाचुर हुन्छ भन्ने सैद्धान्तिक आधारमा यसखाले प्रवृत्तिलाई ‘बबल’ भनिएको हो। भयो पनि त्यस्तै, यो साताको सुरुआति दुई दिनमा नेप्से १३७ अंक (८.४ प्रतिशत) घट्यो। मिलेमतो (म्याचिङ)मा यसरी सेयर बढाउने प्रवृत्ति चुलिएको बेला एक्कासी अर्थमन्त्रीको थमौती हुने राजनीतिक सूचनाका आधारमा बजार ओरालो लाग्यो।

घरजग्गा, सेयर र विनिमय बजारजस्ता क्षेत्रमा संसारभर नै बेलाबखत यस्तो अस्वाभाविक मूल्य वृद्धिको घटना हुने गर्छन्। २०६५ ताका नेपाली अर्थतन्त्रले घरजग्गा र सेयर बजारमा यस्तै बबलको सामना गरेको थियो, जसको परिणामस्वरुप धेरै लगानीकर्ताले ठूलो मूल्य चुकाउनुपर्‍यो। अहिलेको वृद्धि त्यति ठूलो जोखिम उत्पन्न गर्न सफल भएको छैन। किनकी, अझै पनि सेयरको मूल्य जोखिमपूर्ण स्तरमा नपुगेको सेयर विश्लेषक बताउँछन्। यद्यपि, अल्पकालीन व्यापारमा भने यस्तो बबलले सोझासीधा लगानीकर्ताको सम्पत्ति जोखिममा पर्न सक्छ।

सेयर ब्रोकरका अनुसार पछिल्लो समय सेयर बजारमा केही लगानीकर्ताले आपसी मिलेमतोमा सेयरको सट्टेबाजी तीव्र पारेका छन्। निश्चित संख्यामा रहेका ठूला सेयर खेलाडीले आफूआफू नै सेयरको कारोबार बढाएर मूल्य चर्काउने खेललाई सट्टेबाजी भन्ने गरिन्छ। अहिले सेयर बजारमा पनि त्यस्तै भएको छ। ‘८० देखि ९० प्रतिशत व्यापार यसरी नै बढाइएको छ’, एक ब्रोकर भन्छन्।

यसले गर्दा हरेक दिन ४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भइरहेको छ। एक महिनाअघिसम्म दैनिक ४० करोड रुपैयाँभन्दा कमको कारोबार हुने सेयर बजारमा अहिले एक्कासी दैनिक कारोबार रकम १२ गुणासम्म बढ्नुको एउटे कारण यही सट्टेबाजी भएको सेयर ब्रोकर बताउँछन्। आइतबार नेप्से परिसूचक करीब ४१ अंक घटेर १५ सय ९१ अंकमा झर्दा कारोबार रकम भने ४ अर्ब ८४ करोड ७४ लाखको कीर्तिमानी उचाइमा पुगेको थियो। सोमबार पौने दुई घण्टामात्रै कारोबार हुँदासमेत २ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भयो।

‘आज तपाईंले एउटा कम्पनीको १० हजार कित्ता सेयर किन्नुभो, भोलि त्यो सेयर अर्कालाई बेचर फेरि अर्को कम्पनीको १२ हजार कित्ता किन्नुहुन्छ’, ती ब्रोकर भन्छन्, यसरी नै केही लगानीकर्ताले हरेक दिन करोडौं सम्पत्ति आर्जन गरिरहेका छन्।’ बढ्दो बजारमा प्राय: यस्तो सट्टेबाजी गर्ने प्रयत्न संसारभर नै हुने भए पनि विकसित बजारमा त्यस्तो अनियमित तवरले बढ्ने बजारलाई नियन्त्रण गर्ने बाटा हुन्छन्।

नेप्सेका अधिकारी डेरिभेटिभ बजार नहुँदा सेयर बजारमै लगानीकर्ताले सट्टेबाजीको स्वाद चाख्न खोजेको बताउँछन्। ‘विकसित अर्थतन्त्रमा डेरिभेटिभ बजारमा यस्तो सट्टेबाजी हुन्छ, त्यसले गर्दा सेयर बजारमा धेरै दबाब पर्दैन’, ती अधिकारी भन्छन्। तर, नेपालमा डेरिभेटिभ बजारको विकास हुन सकेको छैन। ‘सट्टेबाजीले नै यस्ता बजारप्रति लगानीकर्ताको आकर्षण बढ्ने हो’, उनी भन्छन्, ‘बजारको यो सौन्दर्यलाई केही हदसम्म प्रदर्शन गर्न दिनुपर्छ।’

ठूला सेयर डिलर र बजार निर्माताले सेयरको माग र आपूर्ति सन्तुलन मिलाईदिनेदेखि नियामकीय सुपरिवेक्षणले पनि कडाइ गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। तर नेपालमा नियामक निकायको सुपरिवेक्षण क्षमता कमजोर रहेको र बजार निर्मातासमेत नहुँदा सेयर बजारको उतारचढाव तीव्र हुने गरेको छ।

‘एउटा तहसम्म बजार उचालेपछि नयाँ लगानीकर्ता सेयर किन्न थाल्छन्,’ ती ब्रोकर भन्छन्, ‘त्यसपछि ठूला लगानीकर्ताले सेयर बेचेर ठूलो पुँजीगत लाभ (मूल्य वृद्धि भएका कारण प्राप्त हुने सम्पत्ति) आर्जन गर्छन्।’ यो एक प्रकारले कानुनी बाटोबाट सर्वसाधारणको हातको पैसा खिचेर लिने उपाय पनि हो। त्यसकारण सेयर बजारबारे गहिरो ज्ञान नभएका र बजार विश्लेषण गर्न नसक्ने लगानीकर्ताले यस्तो बेला सजग भएर लगानी गर्नुपर्ने विश्लेषक सुझाउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.