६९ वर्षपछि मेलुङमा सेना पुनःस्थापित

६९ वर्षपछि मेलुङमा सेना पुनःस्थापित

चरिकोट : दोलखाको मेलुङमा नेपाली सेना पुनःस्थापित भएको छ। चरिकोटस्थित तारादल गणको एउटा टुकडी मेलुङ गाउँपालिकामा ६९ वर्षपछि पुनःस्थापित भएको हो। मेलुङ गाउँपालिका-६, स्थित टुँडिखेलमा सेनाको तारादल गणको एउटा टुकडी पुनःस्थापित भएको वडाध्यक्ष राजुकुसुम लामाले जानकारी दिए। उक्त विषयबारे जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई भने लिखित जानकारी नभएको बताए।

तत्कालीन सिन्धुली, रामेछाप र दोलखा जिल्लाको अड्डा रहेको मेलुङमा प्रजातन्त्रको उदय विभिन्न कारणले सेना विस्थापित भएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्। ६९ वर्षअघि सेनाले छाडेको मेलुङ टुँडिखेल आसपासका कतिपय भूमि अतिक्रमणसमेत भइसकेको मेलुङ गाउँपालिकाको तथ्यांक छ। वडाध्यक्ष लामाका अनुसार सेनाले ट्रेनिङ सेन्टरका रूपमा विकास गर्ने गरी मेजरको कमान्डिङमा ८४ जनाको समूह रहनेछ।

सेनाको नाममा दर्ता स्रेस्ता कायम रहेको मेलुङ टुँडिखेल आसपासको जग्गा अतिक्रमण गरी बस्ती, बजार र विद्यालय निर्माण भएको वडाध्यक्ष लामाले जानकारी दिए। हाललाई अस्थायी क्याम्प स्थापना गरिने तारादल गण चरिकोटका प्रमुख कर्णेल निखिल कुँवरले बताए। उनका अनुसार अहिलेलाई तालिमको रूपमा मात्र प्रयोग गरिने स्थायी क्याम्प राख्ने÷नराख्ने विषयमा निर्णय हुन बाँकी छ। ०७४ सालमा सेनाको रणभीम गणले मेलुङको जग्गा र चरिकोटस्थित वनको जग्गा भोगचलन सट्टापट्टाका लागि लेखापढी गरिएको भए पनि तारादल गणले सट्टापट्टा नगरी मेलुङमै अस्थायी क्याम्प पुनःस्थापित गरेको हो।

मेलुङबाट नजिकको दूरीमा रहेको ब्यारेकमध्ये खिम्ती जलविद्युत् आयोजना सुरक्षा पोस्ट किर्नेटार करिब १५ किमि र चरिकोट गण करिब ४० किमि दूरीमा छ। २०१२ सालदेखि मेलुङ गाउँपालिका-६ (साविक मेलुङ गाविस-८) मा कित्ता नं. ७१८, ७१९, ७२० र ७२१ तथा सोही वडा (साविक डाँडाखर्क गाविस-१) को कित्ता नं. १४४ गरी कुल ३५३३० वर्गमिटर अर्थात् करिब ७० रोपनी जग्गा सेनाको नाममा दर्ता कायम रहेको मालपोत कार्यालय दोलखाको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.