सिन्धुलीबाट एसईईमा ५८१३ विद्यार्थी सहभागी हुँदै
सिन्धुली : आगामी चैत्र ६ गते बाट संचालन हुने एसईई परीक्षामा जिल्लाबाट ८ जना बहिरासहित ५ हजार ८ सय १३ जना छात्रछात्रा सहभागी हुने भएका छन् । जिल्लाका १ सय १६ सामुदायिक विद्यालय, २३ वटा संस्थागत विद्यालय, ५ वटा प्राविधिक र १ वटा बहिरा विद्यालयका गरी कुल १ सय ४१ वटा विद्यालयका छात्रछात्रा परीक्षामा सहभागी हुने भएका हुन् ।
शिक्षा समन्वय इकाइ सिन्धुलीका प्रमुख नेत्र गजुरेलका अनुसार यस वर्ष १ सय २३ जना ग्रेडवृद्धिका परीक्षार्थी रहेका छन् । जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ। यस नवज्योति बहिरा विद्यालय जशेदमारका कान नसुन्ने ४ जना छात्र र ४ जना छात्रा गरी ८ जनाको सहभागिता रहने गजुरेलले जानकारी दिए ।
जिल्लामा खुल्ला स्कुलबाट ३२ जनाले परीक्षामा भाग लिने छन् ।'जिल्लाका २३ वटा संस्थागत विद्यालयबाट २ सय ८५ जना छात्र र २ सय ३४ जना छात्रागरी जम्मा ५ सय १९ विद्यार्थीले परीक्षामा सहभागि हुने छन्,' गजुरेलले भने ।
कृषि प्राविधिकतर्फ प्रभात मावि रानीवास, कपिलाकोट मावि छाप र मावि लदाभिरका गरी एक सय जना विद्यार्थी सहभागी हुँदैछन् भने सिभिल इन्जिनियरिङ्तर्फ गौमति मावि माडिबजार र सरस्वति मावि डकाहाका ८५ गरी ५ वटा प्राविधिक विद्यालयका १ सय ८५ जना विद्यार्थी परिक्षामा सहभागी हुनेछन् ।
प्राविधिक तर्फका सबै विद्यालयका लागि जनज्योति मावि फोस्रेटारमा परीक्षा केन्द्र तोकिएको छ । ग्रेडवृद्धिका परीक्षार्थीको परीक्षा गौमति माविमा हुने भएको छ ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन अनुगमन तथा व्यवस्थापन प्रणालीलाई मजबुत बनाइएको छ भने जिल्लाका २६ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्याउने काम सम्पन्न गरिएको बताइएको छ ।