मिस नेवाः हुँदै
काठमाडौं : नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्ना गर्ने उद्देश्यले नेप्लिज फेसन होम (एनएफएच इभेन्ट्स)ले १५ वर्षदेखि आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११४०’को अडिसन काठमाडौंमा सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न अडिसनबाट १५औं संस्करणको मिस नेवाःका लागि २५ जना प्रतिस्पर्धी छनोट गरिएको आयोजक संस्थाले जनाएको छ। अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, नेपाल क्योकुसिन सेइसिन काइकान करा“ते संघका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोककुमार श्रेष्ठ, मिस नेवाः ११३९ नीतु डंगोल, पूर्वमिस नेवाः रिजु मानन्धर तथा सञ्चारकर्मीद्वय त्रिलोचन प्रधान तथा कृष्ण भट्टराई निर्णायक थिए।
यस पटकदेखि मिस नेवाः प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार पाउने भएका छन्। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार यो वर्ष ‘मिस नेवाः ११४०’को उपाधि जित्ने प्रतिस्पर्धीले नगद एक लाख रुपैया“ पुरस्कारस्वरूप प्राप्त गर्नेछिन्। फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब डेढ महिना लामो प्रशिक्षण दिइने छ। त्यस क्रममा उनीहरूलाई नेपाल भाषा, कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ। यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइनेछ।
प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्य, पूर्व मिस नेवाः सुनिता डंगोल, सेल्फ डिफेन्स प्रशिक्षक अशोककुमार श्रेष्ठ आदिले प्रशिक्षण दिनेछन्। मिस नेवाःको ग्रान्ड फिनाले वैशाख दोस्रो साता कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ।