हामी नेकपा चिन्दैनौं : नेपाली एकता मञ्च
अमेरिका : नेपाल कम्युनिष्ट पार्टी निकट भनेर चिनिएको प्रवासी नेपाली एकता मञ्च अमेरिकाले पार्टीसँग आफ्नो संस्थाको कुनै साइनो नभएको प्रष्ट्याएको छ। नेकपाको संगठन भनेर परिचय बनाएको प्रवासी मञ्चले यो स्वतन्त्र सामाजिक संस्था भएको र नेकपासँग कुनै साइनो नरहेको बताएको हो।
न्यूयोर्कमा पत्रकार सम्मेलन गरी संयोजक टेक गुरुङसहित ४ जना पदाधिकारी र ४० जना सदस्य रहेको समिति समेत सार्वजनिक गरिएको छ।
यो स्वतन्त्र सामाजिक संस्था हो। यहाँको विधानअनुसार हामी चल्छौं’, पत्रकार सम्मेलनमा संयोजक गुरुङले भने, ‘यो संस्थासँग नेकपाको कुनै सम्बन्ध छैन। हामीले अब नेकपाका नेताहरूलाई विमानस्थलमा लिन जाने, पुर्याउने वा यस्तै अन्य राजनीतिक क्रियाकलाप गर्दैनौं।’
नेकपा निकटका मान्छे राखेर संस्था बनाउने अनि स्वतन्त्र संस्था हो भन्न मिल्छ भन्ने पत्रकारले प्रश्न गरेका थिए। उनले भने, ‘नेपालमा हुँदा कुनै राजनीतिक दलमा आबद्ध थियौं होला। अहिले हामी अमेरिकामा छौं। धेरै साथीहरू यो देशको नागरिक भइसक्नु भएको छ। अब नेपालका राजनीतिक दलको डम्फु बजाएर काम छैन।’
तदर्थ समितिका महासचिव शंकर पन्तले एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने संस्था होस् भनेर अमेरिकी कानुनका आधारमा संस्था स्थापना गरेको बताए। उनले अमेरिकामा रहेका सबै नेपालीलाई समेटेर जुलाईसम्म अधिवेशन गरिसक्ने जनाएका छन्।
समितिका सदस्य राधाकृष्ण देउजाले भने, ‘नेपालबाट आएका हामी सबैमा कुनै न कुनै राजनीतिक दलको पृष्ठभूमि छ तर यो विशुद्ध सामाजिक संस्था हो, यो संस्थाले नेकपा नामको पार्टी चिन्दैन।’ नेकपाको सचिवालयले पनि प्रवासमा कुनै कमिटी नरहने भनेको उनले जिकिर गरे। केही सञ्चारमाध्यममा हालै बनेको यो संस्थालाई माधव नेपाल पक्षको समूह भनेर गरिएको प्रचार बारेमा संस्थाले आपत्ति जनाएको छ।
हालसम्म यो संस्थाले पार्टी निकटका नेता आउँदा सार्वजनिक रूपमै ब्यानर बनाएर कार्यक्रम गर्दै आएको थियो। अमेरिकामा पूर्व एमाले निकट भनेर प्रवासी नेपाली मञ्च र पूर्व माओवादी निकट भनेर जनप्रगतिशील मञ्च अमेरिकालाई चिनिन्थ्यो। पार्टी एकीकरणपछि नेकपाले प्रवासी मञ्चका प्रभु थापा संयोजक र जनप्रगतिशील मञ्चका प्रकाश अधिकारी सचिव रहेको समिति बनाएको समाचार आइरहेका छन्। अधिकारीले आफ्नो नाम समेत जोडेर पार्टीले समिति बनाएको भन्ने बारेमा फेसबुकमा आपत्ति प्रकट गरेका छन्। संयोजक भनिएका थापासँग भने सम्पर्क हुन सकेन।