पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरण : १५ वर्षपछि मुख्य आरोपी पक्राउ

पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरण : १५ वर्षपछि मुख्य आरोपी पक्राउ

दैलेख : पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्।  थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपीत पक्राउ परेका हुन्। थापा हत्याका मुख्य आरोपीतमध्ये दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ३९ वर्षीय ‘अरुण’ भन्ने बमबहादुर खड्का पक्राउ परेका हुन्।

शान्ति प्रक्रियापछि पनि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जिम्मा छोडेपछि मंगलबार दैलेख जिल्ला अदालतमा पेश गरिएको डिएसपी हरिबहादुर ओलीले बताए। मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको आदेशबाट खड्कालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र मुल्तवीमा रहेको मुद्दा जगाइएको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए। 

खड्का पक्राउ परेपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्धा जागेको छ। हत्याका मुख्य आरोपीत हाजिर भएमा वा पक्राउ परेको बखत मुद्दा जगाउन सकिने दैलेख जिल्ला अदालतको अघिल्लो फैसला अनुसार फरार रहेका अन्य तीन जनासमेतको मुद्दा जागेको सूचना अधिकारी आचार्यले बताए। 

२०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए। थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका–३ द्वारीबाट ४ वर्षपछि कंकाल निकाली दाहसंस्कार गर्नुका साथै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिइएको थियो। पत्रकार थापालाई नियन्त्रणमा राखेको बेला गरिएको कुटपिटको कारण ज्यान गएको भन्दै घटनाको ४ वर्षपछि २०६५ भदौ १२ गते डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। 

आरोपीत मध्येका ५ जनालाई २०६९ पुस २० गते प्रहरीले गिरफ्तार गरेर चलाएको मुद्दामा २०७१ मंसिर २१ गते दैलेख जिल्ला अदालतले गिरफ्तार परेका ५ जनालाई पत्रकार थापाको शव गाड्न मात्र सघाएको भन्दै कसुर अनुसार बढीमा २ वर्ष कैद गरेको थियो। तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले त्यसबेला थुनामा रहेका निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो।

जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले हत्या घटनाका मुख्य आरोपीतहरु चार जना साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का अरुण भन्ने बमबहादुर खड्का र केशव खड्का साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने फरार रहेको कारण गिरफ्तार परेका बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो। 

पत्रकार थापालाई नारायण नगरपालिका–५ भैंसेखोरबाट २०६१ असार १२ गते तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए। अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते दिउँसो साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गएको प्रहरी अनुसन्धान र अदालतमा प्रत्यक्षदर्शीहरुले खुलाएका थिए। हत्या हुँदा पत्रकार थापा ३३ वर्षका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.