सहमतिको नाममा लामो समय बित्यो, खाली नराख्न नियुक्ति गरेँ : देउवा
धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको नाममा वर्षौ बितेको बताएका छन्। बुधबार धनगढीस्थित देउवा निवासमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो बताएका हुन्।
उनले हालै नियुक्त गरेका पार्टीका विभागीय प्रमुखबारे उनले सहमतिका नाममा यतिका वर्ष बितेको बताए। उनले भने ‘कति सहमतिको पछि लागि रहनु? सहमतिमै यतिको समय बित्यो, खाली राख्नु त भएन नि।’ देउवाले, आफ्नो पार्टी सभापतिको कार्यकाल एकदमै राम्रो रहेको दाबी गरे। ‘मैले राम्ररी नै पार्टी चलाएछु जस्तो लाग्छ, राम्रो भयो नि’ पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने।
त्यस्तै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। भने ‘प्रधानमन्त्री अस्पताल भर्ना हुनु भएको छ, उहाँको आज मिर्गौलाको प्रत्यारोपण छ, म शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
नेता देउवाले विश्वभरी फैलिरहेको कोरोना भाईरसबाट बच्न सबैलाई आग्रह गरेका छन्। ‘कोरोना खतरनाक भाइरस हो, म सबै नेपालीलाई कोरोनाबाट जोगिन आग्रह गर्दछु’ नेता देउवाले भने।