'वुमन इन न्युजरुम' पुस्तक सार्वजनिक
काठमाडौं : ११० औं अन्तर्राष्ट्रिय महिला दिवसको पुर्वसन्ध्यामा क्रियाशील पत्रकार महिला ‘डव्लुडव्लुजे’ र फ्रि प्रेस अनलिमेटेडको सहयोगमा वुमेन इन न्युजरुम शीर्षकको पुस्तक सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रम गरी उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
देशभरका ४५ जिल्लाका समाचार कक्षमा पत्रकार महिलाको अवस्थाको सम्बन्धमा तथ्यगत अनुसन्धान गरी पुस्तक तयार गरिएको छ । करिव ५०० जना पत्रकार महिलाबाट लिइएको तथ्याङ्क अनुसार नेपालमा जम्मा महिला पत्रकारमध्ये ६० प्रतिशत रेडियोमा काम गर्ने छापा माभ्यममा २७ प्रतिशत, अनलाइनमा २३ प्रतिशत र टेलीभिजनमा १८ प्रतिशत रहेका छन् ।
यस्तै यो अध्ययनमा महिला पत्रकारले काम गर्दै आएको विट, पारिश्रमिक, उनीहरूले भोग्नुपरेको दुर्व्यवहार, निर्णायक तहमा उनीहरूको उपस्थिति, पद लगायतका विषयमा तथ्य संकलन गरिएको छ।
कार्यक्रममा महेन्द्रमान गुरुङ, महेन्द्र विष्ट, रमेश विष्ट, दिपक सुवेदी, किशोर श्रेष्ठ, हेमलता आर्चाय, मन्टेश्वरी राजभण्डारी, यशोदा अधिकारी लगायतले पत्रकार महिलाका विषयमा धारण राखेका थिए । सहभागी अधिकांशले पत्रकार महिलाले आफुलाई गुणत्मक रूपमा अघि बढाइ क्षमताको पनि विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै आफुले काम गर्ने स्थानमा महिला भएकाले कुनै समस्या भोग्नुपरेको छ भने तत्कालै त्यहि सुनाउन पर्ने बताएका थिए । अधिकांश पत्रकारले राजनीतिका लागि पत्रकारिता गरिरहेको पाइएकाले पत्रकारिता र राजनीतिसँगै गर्दा कुनैमा पनि सफल नभइने जानकारी गराएका थिए । सुचना प्रविधिको बढ्दो उपयोगसँगै सञ्चार माध्यममा पनि अवसरसँगै चुनौती थपिएकाले राम्रा विषयमा पत्रकारले आवाज उठाउनुपर्ने बताए ।
सञ्चारमाध्यममा काम गर्ने पत्रकार महिलाको संख्या बृद्धि भए पनि उनीहरूको क्षमतामा बृद्धि हुन नसकेको सरोकारवालाले बताएका छन् । पत्रकार महिलाको क्षमता विकास तथा पत्रकारितासँग सम्बन्धित नीति निर्माण तहमा उनीहरुको सहभागीता जनाउन जरुरी भएको उनीहरूले बताएका छन् ।