कोरोनाबाट बच्न सुरक्षा सतर्कता
काठमाडौं : कोरोना भाइरसबाट बच्न र सावधानी अपनाउन तीनवटै सुरक्षा निकाय (नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल) ले मातहतका निकायलाई अलर्ट गरेको छ।
विशेषगरि प्रहरी र सशस्त्र प्रहरी कार्यक्षेत्रमा धेरै खटिन्छन्। ठूला सभा, कार्यक्रममा खटिने, गस्ती गर्ने र दैनिक सर्वसाधरणको गुनासो सुन्नुपर्ने भएकाले कार्यक्षेत्रमा खटिँदा अनिवार्य माक्स लगाउनुपर्ने र हात नमिलाउन प्रहरी मुख्यालयले मातहतको कार्यालयमा परिपत्रै जारी गरेको छ। सशस्त्र प्रहरी मुख्यालयले पनि मातहतका कार्यालयलाई परिपत्र गर्दै सीमा क्षेत्रमा चनाखो भएर काम गर्न निर्देशन दिएको छ। सीमामा खटिनेलाई विशेष सर्तक र सजक अपनाउन परिपत्र गरिएको जानकारी सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले दिए।
श्रेष्ठले भने, ‘छिमेकी दुई मुलुकमा कोरोनाको संक्रमण बढ्दो छ। हामीले सीमामा खटिएकालाई विशेष सर्तक रहन र आवश्यक स्थानमा हेल्थ डेक्स राखेर स्वास्थ्य जाँच गर्न भनेका छौं।’ भारतले नाकामा कडाइ गरेसँगै सीमा रहेका सशस्त्रले भारतीय एसएसबीको सहकार्यमा सीमामा कडाइ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले ड्यूटीमा खटिएका प्रहरीलाई माक्स लगाउने र सकभर हात नमिलाउन निर्देशन दिएको बताए। उनले भने, ‘कार्यक्षेत्रमा धेरै खटिने प्रहरी नै हो। हामीले कोरोनाबारे सावधानी अपनाउन र सरसफाइमा ध्यान दिन परिपत्रै गरेका छौं।’ कोरोनाकै कारण फागुन २३ देखि २४ गतेसम्म धनगढीमा हुन लागेको सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठीसमेत स्थगित गरिएको जानकारी क्षेत्रीले दिए।
कोरोनाबारे सर्वसाधारणमा समेत सचेतना अभिवृद्धि गर्ने तयारी मुख्यालयले गरेको छ। ट्राफिक प्रहरीले पनि मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने चालकको मुख सुँघेर जाँच नगर्ने भएको छ। श्वासप्रश्वासकै कारण छिटो संक्रमण हुने कोरोनाको जोखिममाथि सावधानी अपनाउन अब अत्यावश्यक समयमा मात्रै मापसे जाँच गर्ने जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले दिए। नेपाली सेनाले भने कोरोनाबाट बच्न सरसफाइमा ध्यान दिन पत्राचार गरेको छ। उसले आगामी कार्यक्रमसमेत स्थगित गरेको छ।
सेनाको अस्पतालमा आइसोलेसन वार्ड राखिसकेको छ। आवश्यक परे क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउन समेत पत्राचार गरिएको जानकारी सैनिक प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले दिए। ‘मिटिङ वा सेमिनारमा जानै परे सहभागी हुँदाको अवस्था र फर्किसकेपछि गर्नुपर्ने सरसफाइको सम्बन्धमा समेत हामीले सर्कुलर गरिसकेका छौं’, पाण्डेले भने, ‘हात नमिलाउने बरु नमस्कार गर्ने भनेर सबैलाई निर्देशित गरेका छौं।’ उनका अनुसार नियमित रूपमा हुँदै गरेको पिटी र परेड अब ब्यारेकभित्रै गर्न बुधबार सर्कुलर जारी गरिएको छ।
यसैबीच होली पर्वलाई मर्यादित ढंगले मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सूचित गरेको छ। कोरोनाको संक्रमण भीडभाडमा चाँडो पैmलने भएकाले भीडभाड नगरी मर्यादित ढंगले होली मनाउन सूचित गरेको हो।