बेलायतमा रुचाइयो मारुनी
लन्डन : लन्डनको वुल्विचमा चलचित्र मारुनीको विशेष प्रदर्शन गरियो। झन्डै तीन सय दर्शकले चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँगै बसेर चलचित्र हेर्ने अवसर पाए।
त्यसअघि अघिल्लो साता नेपालीकै बाक्लो बस्ती रहेको अल्डरसटमा पनि मारुनी देखाइएको थियो। बेलायतका दुई सोमा चलचित्रकी निर्मात्री पुनम गौतमसँगै सहभागी बनेर साम्राज्ञी नेपाल फर्किएकी छन्।
चलचित्र हेरिसकेपछि दर्शकबाट प्राप्त प्रतिक्रियाबाट आफू खुसी बनेको साम्राज्ञीले सुनाइन्। सुरुमा मारुनीको स्क्रिप्ट पढ्दा मैले जे मन पराएकी थिएँ, आज दर्शकले पनि त्यही मन पराइदिनुभएको छ’, उनले भनिन्, ‘तेस्रोलिंगी पात्रलाई नै लिड रोलमा देखाइएको सायद यो नै पहिलो नेपाली चलचित्र भएर होला, दर्शकले यो कन्सेप्ट निकै मन पराउनुभएको छ।’
चलचित्र हेर्ने धेरै दर्शकले चलचित्रको नौलो र संवेदनशील विषयवस्तु राम्रो लागेको प्रतिक्रिया दिएका थिए। बेलायतमा मारुनीका दुवै सो च्यारिटीका लागि गरिएको थियो। अल्डरसट सो गौरीशंकर फुटबल मैदान, हेम्जा र लन्डनको वुल्विच सो गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ गरिएको हो।
तेस्रोपटक बेलायत आएकी नायिका साम्राज्ञीले यसपटक आफ्नो १० दिने बसाइमा केही दिन घुम्न छुट्याइन्। ‘यसअघि दुवैपटक जुन कामका लागि आएँ, त्यसैमा मात्रै व्यस्त बनेर फर्किनु पर्यो। यसपटक लन्डन घुम्ने अवसर पनि जुरेको छ’, उनले भनिन्।
नेपालबाहिर अस्ट्रेलिया र जापानपछि मारुनी टोली बेलायत आएको हो। बेलायतबाट फर्किनुअघि निर्मात्री पुनमले पनि यहाँको नेपाली समुदायले मारुनीलाई धेरै माया, हौसला र उत्साह प्रदान गरेको अनुभव सुनाइन्।