मेडिकलमा ‘नो मास्क’
काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव देखिएको छ। किटाणु मार्ने सेनिटाइजर पनि पाउन मुस्किल भएको छ। कतिपय मेडिकलले त ‘नो मास्क’ लेखेर सूचना टाँसेका छन्। सुन्धारास्थित काठमाडौं मलछेउको टेवहाः मेडिकल हलले भित्तामै ‘नो मास्क’ भन्ने सूचना टाँसेको छ।
जयबागेश्वरी बस्ने निमेश निरौलाले मास्क नपाएका कारण बाहिर हिँड्न डर लागेको बताए। ‘दुई सातादेखि मास्क किन्न पाएको छैन’, उनले भने, ‘सरकारले मास्क लगाएर हिँड्नू भनेर सूचना जारी गरेको छ। मास्क नभएकाले हिँडडुल गर्नै त्रास भएको छ।’ क्याम्पस जान पनि डर हुने गरेको उनको भनाइ छ।
मास्क अभाव हुँदा दैनिक कामकाजमा जानेलाई सास्ती हुन थालेको छ। विद्यालय, सरकारी र गैरसरकारी कार्यालय बिदा नभएकाले दैनिक कामकाजमा जान नेपालीहरू बाध्य छन्।
विभिन्न संघसंस्थाले ‘भीडभाडमा नजाऔं, जानुपरे मास्क लगाएर जाऔं’ भनेर सजग गराउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयहरूले सर्वसाधारणका नाममा सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक बाहिर नजान आग्रह गरेका छन्। मेला, पर्व, सभासम्मेलनका नाममा भेला नहुन उनीहरूले सचेत गराएका छन््।
६० भन्दा बढी मुलुकमा कोरोना भाइरस फैलिएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ। त्यसपछि बजारमा मास्क अभाव देखिएको हो। चीनमा कोरोना फैलिएसँगै नेपाली बजारमा मास्क अभाव सुरु भएको मैतिदेतीका एक मेडिकल सञ्चालकले बताए। उनका अनुसार बजारमा पाइने मास्क बाहिर (चीन)बाट आउने भएकाले अभाव भएको हो। हात सफा गर्ने स्यानिटाइजर पनि बजारमा पाइन छाडेको उनले सुनाए।
सरकारले मास्क आपूर्ति र उत्पादन बढाउने जानकारी गराएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मास्क आपूर्ति र उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य थालेको बताए। उनले भने, ‘हामी छिटो मास्क उत्पादन बढाउँछौं।’
केही मेडिकलले भने मास्क र स्यानिटाइजरको मूल्य बढाएर लिने गरेको पाइएको छ। उनीहरूले १० रुपैयाँ पर्ने मास्कलाई २५ देखि ४० रुपैयाँसम्म लिने गरेका छने। मैतीदेवीका एक मेडिकल सञ्चालकका अनुसार ९५ रुपैयाँ पर्ने स्यानिटाइजर १ सय ४० रुपैयाँसम्म पर्न थालेको छ।