आकाशे पुल निर्माणमा ढिलाइ

आकाशे पुल निर्माणमा ढिलाइ

काठमाडौं : नयाँ बानेश्वरको आकाशे पुल निर्माणमा ढिलाइ हुँदा पैदल यात्रीलाई समस्या भएको छ। निर्माण सामग्री सडकपेटीमा छरिएका कारण हिँड्नसमेत सकस हुने गरेको छ। निर्माण स्थगन भएको ६ महिना पुगेको स्थानीय व्यापारीले बताए। उनले भने, ‘काम हुँदै थियो, ६ महिनादेखि रोकिएको छ। आधा काम गरेर अलपत्र पार्दा पैदलयात्रुसँगै हामी पसलेलाई समेत समस्या भएको छ।’

उक्त आकाशे पुल सडक विभागले ०७५ सालमा ठेक्का लगाएको हो। ठेक्का पवन प्रकृति जेबीले पाएको थियो। सम्झौताअनुसार नौ महिनामा काम सक्नुपर्ने थियो। तर, काम अझै समयमा सम्पन्न भएन। फेरि विभागले असारसम्मको समय थपिदिएको छ। सडक विभागका डिभिजन प्रमुख कुवेर नेपालीले पुलको डिजाइनमा समस्या आएर काममा ढिलाइ भएको बताए। ‘पुलको डिजाइनमा समस्या आएको थियो,’ उनले भने, ‘त्यसैले काम बीचमा रोकिएको हो। अहिले नयाँ डिजाइन तयार भएको छ।’

बाँकी काम चाँडै सुरु हुने प्रमुख नेपालीको भनाइ छ। ‘अब समस्या केही छैन,’ उनले भने, ‘असारसम्मको म्याद थपिएको छ। काम समयमा सकिन्छ।’ सडक विभागले बनाएको मात्रै होइन, महानगरले बनाउँदै गरेको आकाशे पुलमा पनि ढिलाइ भएको छ।

महानगरले माइतीघरमा आकाशेपुल बनाउन गत असारमा कोसी विल्डर्स मोरङलाई ठेक्का दिएको थियो। ६८ लाख ७३ हजार एक सय ५३ रुपैयाँमा काम सक्ने गरी सम्झौता भएको थियो। सम्झौताअनुसार ठेकेदारले काम मंसिर मसान्तसम्म सक्नुपर्ने थियो। तर, फागुन बित्न लाग्दासमेत सकिएको छैन। समयमा काम नहुँदा सडकपेटी लामो समयसम्म ओगटिएको छ। जसले गर्दा पैदल यात्रुलाई समेत हिँड्न सकस हुने गरेको छ। अहिले फलाम जोड्ने काम भइरहेको छ।

महानगरपालिकाका भौतिक पूर्वाधार विभागका निर्देशक उत्तरकुमार रेग्मी समयमा काम पूरा नभएको स्विकार्छन्। तर, विशिष्ट पाउना आएकाले सरकारबाटै काम रोक्न अनुरोध भएकाले ढिला भएको उनले बताए। ‘ठेक्का समयावधिमा काम नसकिने भएको हो,’ उनले भने, ‘चाइनाको राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सरकारले नै काम रोक्न अनुरोध गरेकाले केही समय रोकियो। त्यसपछि बंगलादेशको राष्ट्रपति आउँदा पनि काम केही ढिलो हुन गयो।’ अहिले काम धमाधम भइरहेको उनले बताए। यसबाहेक महानगरपालिकाले चाबहिल र जयबागेश्वरीमा पनि आकाशेपुल निर्माण गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.