कोरोना भाइरस : सिन्धुलीमा छैन सतर्कता

कोरोना भाइरस : सिन्धुलीमा छैन सतर्कता

सिन्धुली : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्लामा प्रभावकारी व्यवस्थापन हुन नसक्दा सर्वसाधारण चिन्तित बन्न थालेका छन्। जिल्ला तहमा स्थानीय, प्रदेश र संघीय सरकारले सम्भावित जोखिम न्यूनीकरणमा ध्यान पुर्‍याउन नसक्दा कोरोना त्रासको चिन्ता थापिएको हो।

छिमेकी मुलुक चीन र भारतका नागरिकको आवतजावतको ट्रान्जिट रुटजस्तै रहेको जिल्लामा सतर्कताका लागि कुनै व्यवस्थापन हुन सकेको छैन। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा फैलन नदिन सम्भावित व्यक्तिको निगरानीका लागि जिल्लामा कुनै पनि गतिविधि हुन नसकेको नेकपाका जिल्ला नेता केशव देवकोटाले बताए।

जिल्ला सदरमुकाममा अहिलेसम्म एउटा हेल्प डेक्ससमेत स्थापना गर्न नसक्नु दुःखद भएको उनको गुनासो छ। ‘बीपी राजमार्ग, मदन भण्डारी र पुष्पलाल लोकमार्ग प्रयोग गरेर भारत र चीन दुवै देशका नागरिक र ती सीमासम्म पुगेर फर्कने नेपालीको संख्या जिल्लामा बाक्लो भए पनि सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लामा खासै सावधानी अपनाउन सकिएको छैन,’ उनले भने।

चीनभन्दा भारतबाट बढी त्रास

काठमाडौंबाट पूर्वीपहाडी र मध्यतराईका जिल्ला हुँदै भारतसम्म पुग्ने मानिस सिन्धुली हुँदै आवतजावत गर्छन्। दैनिक सयौं संख्यामा भारतीय नम्बर प्लेटका साना सवारीसाधन आउजाउ हुने गर्छ।

‘भारतमा समेत संक्रमित भेटिसकेको अवस्था छ’, देवकोटाले भने, ‘जिल्लामा समेत जुनसुकै बेला संक्रमित छिर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन जरुरी छ ।’ त्यस्ता नागरिकको ज्वरो नाप्ने यन्त्र, यात्री र सवारीलाई स्क्यानिङ गर्ने व्यवस्था मिलाउनुपर्ने उनी बताउँछन्।

जिल्लामा सञ्चालित विभिन्न राष्ट्रिय गौरवका आयोजना, बीपी राजमार्गको मर्मत, सुनकोसी तेस्रो जलविद्युत् आयोजना, सुनकोसी–मरिण ड्राइभर्सनजस्ता आयोजनामा छिमेकी मुलुक भारत, चीन र मित्रराष्ट्र जापानका नागरिकसमेत संलग्न छन्। उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था हुन सकेको छैन।

तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा समेत दैनिक सयौं संख्यामा स्वदेशी तथा विदेशीको आवागमन हुने गर्छ। कोरोनाले संकटग्रस्त भनिएका देशका नागरिकको स्वास्थ्य परीक्षणबिनै आउजाउ भइरहँदा जिल्लामा कोरोना भाइरसको संक्रमण हुन सक्नेमा थप चिन्ता थपिएको छ।

पशुपक्षीको व्यापार खुला

जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा भारतीय बजार हुँदै ल्याइएका खाद्यान्न, तरकारी, फलफूल तथा पशुजन्य मासुका परिकार तथा जिउँदा पशुपक्षीको खुल्लमखुला बिक्री–वितरण हुने गरेको छ। खुला सिमानाका कारण भारतीय व्यापारी सजिलै जिल्लाका हाटमा व्यापार गर्न आउने भएकाले त्यस्ता स्थानमा भाइरसको संक्रमण हुने धेरै सम्भावना छ।

सरकारी निकायमा ढिलाइ

जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन। यस्तो घातक भाइरसको संक्रमण जिल्लामा भइनहाल्नेमा आफूहरू विश्वस्त भए पनि सम्भावित सावधानी भने बेलैमा अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।

जिल्लाका केही सरकारी र गैरसरकारी कार्यालयले आफ्ना भवनमा कोरोना भाइरसबाट बच्न र बचाउन सामान्य ब्यानर झुन्ड्याउनेबाहेक अन्य काम गर्न सकेका छैनन्।

जिल्लाको एक मात्र ठूलो सरकारी अस्पतालमा दैनिक पाँच सयभन्दा बढी बिरामी र आफन्तको उपचार हुने गर्छ। उक्त अस्पतालमा समेत सुरक्षा प्रबन्ध र हेल्प डेक्स स्थापना हुन नसकेको आफन्तको उपचारका लागि अस्पताल आएका कमलामाई नगरपालिका–५ जरायोटारका दीपक विकले बताए। ‘सयौं बिमारीको चाप छ। विभिन्न रोगको संक्रमण भएकाहरू अस्पताल आउने गर्छन्। तर, उनीहरूको पहिचान गरी निगरानी गर्न खासै व्यवस्थापन मिलाइएको पाइएन,’ उनले भने।

सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले भने आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न ढिलाइ हुँदा हेल्प डेक्स र आइसोलेसन कक्ष स्थापना गर्न ढिलाइ भएको बताए।

उनले भने, ‘भएको स्रोतसाधनको व्यवस्थापनमा एक÷दुई दिनभित्रै तीन बेडको आइसोलेसन कक्ष र हेल्प डेक्स स्थापना गर्नेगरी जुटेका छौं।’ आवश्यक उपकरण र साधन व्यवस्थापनका लागि प्रदेश सरकारलाई भनिएको र केही व्यवस्थापन अस्पताल स्रोतबाटै गरिने उनको भनाइ छ।

मास्कको कृत्रिम अभाव

जिल्लामा कोरोनाको त्रास देखाएर मास्कको कृत्रिम अभाव सिर्जना गरिएको छ। जिल्लाका मेडिकल र अन्य निजी अस्पतालले मास्क लुकाएर बिक्री बन्द गरेको र केहीले ४० रुपैयाँसम्म लिएर कालाबजारी गरेको गुनासो आउन थालेको छ। जिल्लामा मास्कको कृत्रिम अभाव गर्नेमाथि छानबिन गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको उनले जनाए।

कार्यक्रमहरू धमाधम स्थगित

कोरोनाको त्रास फैलिएसँगै सरकारको आग्रहमा जिल्लामा कुनै पनि ठूला सभा सम्मेलन, महोत्सवजस्ता कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। यससँगै जिल्लामा सबैखाले कार्यक्रम स्थगन गरिएको छ। कमलामाई नगरपालिका सिन्धुलीमा २४ फागुनमा हुने भनिएको सिन्धुलीमाढी–सिन्धुलीगढी किन्लक पदमार्ग यात्रा रोकिएको छ। सय विदेशी नागरिकसहित कम्तीमा हजार जनाले पदयात्रा गर्ने भनिएको कार्यक्रम अनिश्चित समयका लागि रोकिएको नगरका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

नेकपा सिन्धुलीको बिहीबारबाट सुरु हुने भनिएको तीन महिना लामो गाउँ जागरण अभियानसमेत स्थगन भएको छ। जिल्लाको हरिहरपुरगढीमा गर्न लागेको तीनदिने गढी महोत्सव स्थगन भएको छ भने होलीपर्वसमेत नमनाउन आग्रह गरिएको छ।

००००००

क्याप्सन ः सिन्धुली अस्पतालमा उपचारका लागि आएका बिरा र कोरोनाबाट बच्न सरकारी कार्यालयले बनाएको जनचेतनामूलक ब्यानर। – राजन गाउँले


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.