गोरखामा भाइरल ज्वरोले ६० विद्यार्थी बिरामी
गोरखा : अजिरकोट गाउँपालिका- २ खरिबोटको प्रभा माध्यामिक विद्यालयका विद्यार्थीलाई मौसमी रुघाखोकी र ज्वरोको संक्रमण देखिएको छ। विगत तीन दिनदेखि विद्यालयमा अध्ययनरत ६० जनाभन्दा धेरै विद्यार्थी बिरामी परेको प्रधानाध्यापक दीपक दवाडीले जानकारी दिए।
‘तीन दिन भयो विद्यार्थीहरु बिरामी भएको’, प्रअ दवाडीले भने, ‘करिब ६० जना विद्यार्थी बिरामी छन्। अहिले अर्को रोगको हल्ला चलेको बेला विद्यार्थी बिरामी भएकाले बिरामी नभएका विद्यार्थी पनि स्कूल आउन डराएका छन्।’ रुघा, खोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने र कतिपयमा ज्वरो पनि आउने भएको उनले बताए।
विद्यालयमा अचानक धेरै विद्यार्थी बिरामी भएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा नै स्वास्थ्य टोली पठाएर उपचार गराएको थियो। ‘अस्ति हामीले उपचार गराएर आयौं। सामान्य मौसमी रुघाखोकी नै हो तर सबैजना डराइरहेकाले आज जिल्ला अस्पतालबाट डाक्टर सफल सुवेदी नेतृत्वको स्वास्थ्य टोली सो क्षेत्रमा जाँदै हुनुहुन्छ। हामी पनि जाँदैछौं।’ मौसमी रुघाखोकी भएकाले डराउनु नपर्ने उनले बताए।
खरिबोटको खिम्पु, वलाङ र अपुनका बालबालिकामा भाइरल संक्रमण देखिएको हो। मौसम परिवर्तनका कारण संक्रमण भएको हुन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिन र स्वास्थ्य अवस्थाबारे सचेत रहन अभिभावक र बालबालिकालाई भनिएको उनले बताए।