दार्जिलिङ सजिलै अन्तिम आठमा
मलंगवा : सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङले क्षमादेवी प्लानिङ ब्वाइज पेप्सीकोला काठमाडौंलाई ६-३ गोलले हराएको छ। खेल सुरु भएको ३७औं मिनेटमा दार्जिलिङका सिद्धान्त क्षेत्रीले पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा क्षमादेवीका सतिस सुवालबाट आत्मघाती गोल भएपछि दार्जिलिङ २-० ले अगाडि बढ्यो।
दार्जिलिङका लागि ४९ औं मिनेटमा गणेश लिम्बूले तेस्रो गोल गरे। आशिष देवानले प्रहार गरेको कर्नर किकमा हेड गर्दै लिम्बूले गोल गरेका थिए। ५१ औं मिनेटमा दार्जिलिङका प्रशान्त गुरुङले गोल गर्दै टोलीलाई ४-० को फराकिलो अग्रता दिलाए। त्यसपछि खेलको ५७ औं, ५९ औं र ६४ औं मिनेटमा लगातार गोल गर्दै क्षमादेवीले खेलमा फर्किने प्रयास गरेको थियो।
निर्धारित समयको ५७ औं मिनेटमा क्षमादेवीका आशिष श्रेष्ठले टोलीका लागि पहिलो गोल गरे। ५९औं मिनेटमा फागुनन्द चौधरीले टोलीका लागि दोस्रो गोल थपे। ६४औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै क्षमादेवीलाई खेलमा फर्काउने प्रयास गरे। तर, ६८औं मिनेटमा दार्जिलिङका शिव राउतले गोल गरेपछि अन्तर ५-३ पुग्यो।
खेलको ८०औं मिनेटमा क्षमादेवीका खेलाडीले डीबक्सभित्र विपक्षी खेलाडीलाई फल गरेपछि दार्जिलिङले पाएको पेनाल्टी प्रहारको अवसरलाई कप्तान वीरेन प्रधानले सहजै गोलमा परिणत गरे। दार्जिलिङका शिव राउतलाई क्षमादेवीका खेलाडीले लगातार दुई पटकसम्म फल गरेर लडाएपछि रेफ्रीले पेनाल्टी प्रहारको अवसर दिएका हुन्।
रोमाञ्चक खेलको अन्त्यतिर दुवै टोली नौ खेलाडीमा समेटिएका थिए। दार्जिलिङका राज राउतलाई क्षमादेवीका किरण बोहराले लडाएपछि दुवै खेलाडीबीच विवाद भई हात हालाहालसमेत भयो। त्यसपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए। खेल जितेसगैं दार्जिलिङ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दार्जिलिङका सिद्धान्त क्षेत्री म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद र एक जोर बुट पुरस्कार पाए। शनिबार नवजनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजक समितिका दीपक लामाले जानकारी दिए।