खुसी छु म आज

खुसी छु म आज

छोरा मात्रै भएका उनी छोराले दिएका अनन्त दुःखको लेखाजोखा गरिरहन्थेँ। मलाई नकारात्मकतातिर डोर्‍याउँदा उनलाई सन्तुष्टि मिल्थ्यो कि ?


वर्तमान समयमा महिला र सीमान्तीकृत समुदायका उपलब्धिका कथा धेरै आइरहेका छन्। समयको यो बिन्दु टेक्न अनेकौं नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास साक्षी छ।

महिला सशक्तीकरणमा सर्वाेपरि स्थान परिवारकै हुन्छ। परिवारले उचित निर्णय लिन सक्ता आफ्ना छोरी–चेलीको व्यक्तित्व विकासमा यथेष्ट सहयोग पुग्छ। परिवारको प्रेरणा र सहयोगमा विश्वमै स्थापित महिला प्रशस्त पाइन्छन्। शान्ति नोबेल पुरस्कार प्राप्त अफ्रिकाकी पर्यावरण संरक्षक वांगारी माथाई, भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी, नेपालकै अंगुरबाबा जोशीहरू यसका सशक्त उदाहरण हुन्।

आफ्नै कुरा गर्नुपर्दा २०२० को दशकमा पितामाताले मेरो शिक्षामा चाख नलिनुभएको भए म अहिलेको स्थानमा हुने थिइनँ। विवाहपश्चात्् पतिको चाहना पनि त्यस्तै भएकाले अगाडि बढिरहन सम्भव भयो। परिवारले उत्प्रेरित गर्ने, अवसर जुटाइदिने र आँट भरिदिने गर्न सक्ता नारीले हासिल गर्न नसक्ने कुनै उपलब्धि हुँदैन।

चालीसको दशकमा दुवै सन्तान छोरी भएपछि हामीलाई सन्तान चाहनाको रहर पुगेजस्तो लाग्यो। निर्णय हाम्रो थियो, नकारात्मक चासो समाजले देखाउँथ्यो। हामी अडिग भएर दुवैको सरसल्लाहमा छोरीहरूलाई दीक्षित गरिरह्यौं। उनीहरूलाई ‘तिमीहरूले गर्न नसक्ने कार्य केही हुँदैन, दृढ निश्चय र लगनशीलतासाथ गरेका कार्यले सफलताका ढोका खोल्दै जान्छ,’ भन्ने सन्देश बारम्बार पुगिरह्यो।

औपचारिक शिक्षाका साथै पठन र लेखनमा प्रोत्साहित गरियो भने सीपमूलक कार्य— साइकल कुदाउने, भोजन बनाउने, व्यक्तिगत र घरायसी सरसफाइ गर्ने कार्यमा पनि अभ्यस्त गराउँदै लगियो। उनीहरू पनि दिलचस्पीसाथ ती कार्य गर्थे। नानीहरू औंल्याएका बाटामा हिँडिरहेकाले लक्ष्य प्राप्त गर्न सके। अहिले आफ्ना लक्ष्य आफैं निर्धारण गरी अगाडि बढिरहेको देख्ता अपार हर्षले मन अभिभूत हुन्छ।

नानीहरू हुर्कंदै गर्दा नारी शरीरका कारण हुन सक्ने दुर्घटनाको त्रास बढी हुन्थ्यो। उनीहरू दिनरात नभनी चौबीसै घण्टा उन्मुक्त हुन सकिन्छ जस्तो ठान्थे तर आफूलाई भने रात नछिप्पिँदै घर भित्रिए हुन्थ्यो जस्तो लाग्थ्यो। झन् उनीहरूका बुवाले साँझ परेदेखि पाँच÷दस मिनेटको अन्तरालमा माथ्ला तलाबाट फोन गर्दै ‘आइपुगे ? ’ भन्दा धैर्यसाथ ‘छैनन्’ भनिरहन मलाई असाध्य कठिन हुन्थ्यो। उहाँको त्यो बेचैनी देख्ता र सुन्दा आफू केही नभएजस्तो गरिरहन सक्नु पथ्र्याे। आफ्नो समयको भन्दा थोरै भए पनि रात्रिको समय उनीहरूले पाएकामा हर्ष पनि लाग्थ्यो।

दुवैजनाले आफ्नो पेसा पत्रकारिताबाट सुरु गरेकाले घर फर्कन अबेला हुनु स्वाभाविक थियो। आफैं उनीहरूको रुचिको काम गर्न प्रोत्साहित गर्ने अनि कामले मागेको समयबारे चिन्तित हुने विरोधाभासपूर्ण क्षणहरू धेरै आए। यसरी चिन्तित हुनुपर्ने छोरीहरूले गर्दा नभई छोराहरूको कारणले रहेछ। पुरुषहरूले महिलालाई भोग्याका रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म छोरीका आमाका मन अव्यक्त चिन्ता र त्रासले भरिएकै हुन्छन्।

आगोमा घिउ थपेजसरी, एक जना सहकर्मीले बारम्बार छोरी असुरक्षित हुने तथ्य स्मरण गराइरहँदा म उनको जीवन नियाल्थेँ। छोरा मात्रै भएका उनी छोराले दिएका अनन्त दुःखको लेखाजोखा गरिरहन्थँे। मलाई नकारात्मकतातिर डोर्‍याउँदा उनलाई सन्तुष्टि मिल्थ्यो कि ? यस्तै परपीडकले भरिएको समाज अनि दिनरात पढिने, हेरिने र सुनिने नारी हिंसाका घटनाले आमाको मन उद्वेलित पार्न सघाउ पुर्‍याइरहेका हुन्छन्। चिन्ता गर्दैमा अप्रिय घटना नघट्ने त होइन भन्ने जान्दाजान्दै पनि चिन्ता स्वाभाविक भइदिने।

सानी छोरी ऋचाले पत्रकारिता छोडेर डब्ल्यूडब्ल्यूएफ, सेभ द चिल्ड्रनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा बटुलेको अनुभव अहिले वल्र्ड बैंकमा प्रयोग गरिरहेकी छ। आफ्नो व्यक्तिगत रुचिको पठन–लेखनलाई सुचारु राख्न लेखहरू र पुस्तक विमर्श पत्रपत्रिकामा छपाउँदै गर्छे। ठूली छोरी सेवाले द रिपब्लिकाबाट सुरु गरेको पत्रकारिता बीबीसी हुँदै अहिले नेपाली टाइम्स र अस्ट्रेलियन स्पेसल ब्रोडकास्टिङ सर्भिस (एसबीएस)को नेपाली कार्यक्रममा चलिरहेको छ। बीच बीचमा छोटो छोटो समयका लागि युरोपियन यनियन जस्ता संस्थाका लागि पनि काम गर्दै गर्छे। उसको रुचि पारम्परिक संगीत र नृत्यमा भएकाले त्यसको उत्थानमा लागेका संस्थामा आबद्ध भई अनुसन्धानमा पनि लागिरहन्छे।

यसरी पेसागत रूपमा खुड्किला उक्लँदै गए पनि समाजिक रूपमा प्रतिष्ठित हुँदै गए पनि समाजले वैवाहिक जीवनतिर इंगित गरिरहन्छ। छोरीको विवाह गर्न ढिलो भएको परोक्ष–प्रत्यक्ष टीकाटिप्पणी चलिरहन्छन्। स्वाभाविक हो, आमाको मनमा छोरीको उपयुक्त जीवनसाथी मिल्लान्–नमिल्लान्को द्वन्द्व चलिरहन्थ्यो। अब त यो द्वन्द्व अन्त भएकाले छोरीहरूका उपलब्धिमा रमाउँदै जीवन अगाडि बढिरहेछ।

आजका छोरीहरू हरेक क्षेत्रमा आफ्नो उपस्थिति मात्र जनाइरहेका छैनन्, उपलब्धि पनि भित्र्याइरहेका छन्। शिक्षा, स्वास्थ्य, साहित्य, कला, संगीत, खेल, न्यायपालिका, यातायात, कार्यपालिका, पत्रकारिता कुनै क्षेत्र अछूतो छैन। जिम्मेवारीपूर्वक आफ्ना कार्य सम्पन्न गरिरहेको देख्दा महिलालाई अवसर प्राप्त भए देश विकासमा यथेष्ट योगदान पुग्ने कुरा प्रस्टै हुन्छ। अवसर प्राप्त हुनुले कार्यक्षेत्रमा हिंसारहित र सुरक्षित वातावरण हुनु पनि समेट्छ।

आजका अभिभावकले आफ्ना छोरीमा आत्मविश्वास, साहस र सहअस्तित्वको महिमा भरिदिन सक्नुपर्छ। फलस्वरूप उनीहरू दृढ भएर आत्मसम्मानसाथ अवसरको उपयोग र चुनौती सामना गर्दै अगाडि बढ्न र आफ्नो बाटो खन्न सक्षम हुनेछन्।

क्रमिक रूपमा छोरीहरू सक्षम र सुरक्षित हुँदै गएको परिप्रेक्षमा कतिपय दम्पतीले छोरा होस् या छोरी, एउटै मात्र सन्तान जन्माउने परिपाटी पनि वृद्धि हुँदै गएको छ। आशा गरौं, छोराको लालसामा छोरीको भ्रूणावस्थामा गरिने हत्यामा कमी आउला। नारी र पुरुषको सहअस्तित्व र सहकार्यमा घरगृहस्थी सुदृढ हुनुका साथै समाज र देश विकासमा प्रशस्त योगदान पुग्ला अनि यो धरा मानव, पशुपक्षी, कीटपतंग सबैका लागि आनन्दी बास बन्ला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.