दुर्व्यवहारका सिलसिला

दुर्व्यवहारका सिलसिला

भलै शरीरको दुःखाइ भने केही दिनपछि कम हुँदै गयो, तर त्यो लुकामारी खेलसँगै लुकेका बाल्यकालका कैंयन् खुसी आजसम्म पनि भेट्टाउनै नसकिने गरी लुकिरहेका छन्।


मन भएर पनि बिहानभर सुत्न पाउने कुरै थिएन। त्यसका लागि कि शनिबार कुर्नुपथ्र्यो कि त कलेज बिदा भएको दिन। त्यो दिन पनि, बिहानभर सुत्ने रहरलाई शनिबारको जिम्मा लगाएर बिहान साढे ५ बजे, कलेजका लागि निस्किएँ।

घरबाट कलेजसम्म पुग्न झन्डै आधा घण्टाजति साइकल चलाए पुग्थ्यो। त्यो यात्रामा अक्सर मेरो साथी हुन्थिन्, घर नजिकैकी सहपाठी। गफका तालमा आआफ्नो साइकल चलाउँदै हामी पूर्व–पश्चिम राजमार्ग छोडेर छोटो बाटो हुँदै कलेजतर्फ मोडिन्थ्यौं।

त्यो दिन पनि, हाम्रो बिहान उस्तै नै थियो। तर, साथीसँग साइकल थिएन। एक्लै साइकल चलाउनु र पछाडि अरूलाई राखेर चलाउनुमा फरक त पर्ने नै भयो। राजमार्ग नपुग्दै थकाइ लाग्योे। एक्लै साइकल चलाउँदा त थकाइ लाग्ने मेरी साथीले मलाई हाँक्ने त झन् कुरै थिएन। त्यसैले सहमति गर्‍यौं, राजमार्ग कटेपछि साइकल डोर्‍याउँदै हिँड्ने। कलेजका लागि पनि खासै ढिला भइसकेको थिएन।

जाडो महिना भएकाले बाटो शीतजस्तै शान्त देखिन्थ्यो। उज्यालो हुस्सुसँगै बिउँझिरहँदा रात भने बाँकी रहेको अँध्यारोसँगै निदाउने तरखरमा थियो। बाटोमा फाट्टफुट्ट देखिने मान्छे चिन्न अलि नजिकै पुग्नुपथ्र्यो। तर हामी भने अँध्यारो र उज्यालो दुवैको पर्वाह नगरी गफको तालमा खुट्टाको चाल मिलाउँदै हिँडिरहेका थियौं। तर, त्यत्तिकैमा देखिएको अनौठो दृश्यले भने हामी नमज्जाले झस्कियौं। घरहरू पातलिन सुरु भएको चौबाटो कटेर अलिक अगाडि बढ्दा हाम्रो गफको ताल त रोकियो नै, खुट्टाका चाल पनि बिस्तारै काँप्न थाले।

हामी आएको बाटोतर्फ फर्केर आफ्नो गुप्तांग खेलाइरहेको एउटा अधबैंसे मान्छे, हामी भएतिरै लम्कियो। के गर्ने कसो गर्ने, दिमागले सोच्नसम्म भ्याएन। तैपनि, डर मिसिएको स्वरमा कराएँ, ‘दिमाग छैन, लाज नभएको मान्छे।’

तर अहँ, उसलाई रत्तिभर डर–लाज केही थिएन। मदिराको गन्ध आइरहेको मुखले ङिच्च हाँसेर, फोहोरी शब्द बोल्दै ऊ हाम्रो झनै नजिकै आउँदैथ्यो। आफ्नो हर्कत देखेर आफैं रमाइरहेको उसको बेहोराले भने हाम्रो मनमा डर जन्माइसकेको थियो।

डरले अत्तालिएका हामी कसोकसो साइकल डोर्‍याउँदै लगभग ५० मिटर जति दौडिन भ्यायौं। सायद मदिराको मात र थसुल्ले शरीरले गर्दा होला, उसले हामीलाई भेट्टाइहाल्न सकेन। त्यही मौकामा हतारहतार साथीलाई साइकलमा बसाएर सकीनसकी साइकल कुदाउन थालेँ।

झन्डै तीन सय मिटरजति अगाडि पुगेपछि मात्रै हामीले पछाडि फर्केर चियायौं, हामी आएको बाटोतर्फ। अलि परसम्म चियाउन हुस्सुले छेके पनि आसपासमा त्यो अधबैंसे मान्छे कतै देखिएन। तर ११ कक्षा पढ्दा भोगेको त्यो घटनाले भने अझै पनि मलाई एकान्तमा झस्काइरहन्छ, मनमा डर देखाइरहन्छ।

तर बारम्बार बल्झिरहने त्यो डरको कारक यही एउटा घटनामा मात्रै सीमित भने छैन। त्यस्ता थुप्रै दुर्व्यवहारका घटना छन्, जसले डरलाई झन् गहिराइमा धकेल्दा रहेछन्। दुर्व्यवहारको यस्तै अर्को नमीठो अनुभव छ, सार्वजनिक सवारीसँग जोडिएको। मास्टर डिग्री अध्ययनका लागि म भर्खर भर्खर काठमाडांै आउँदाको कुरा हो, कलेजसम्म पुग्न प्रायः सार्वजनिक बस प्रयोग गर्थें। काठमाडौंमा गुड्ने सार्वजनिक सवारीमा सजिलै सिट पाउने चान्स कम नै हुन्छ। त्यो दिन पनि उभिनुपर्ने भयो।

सिटमा बस्नुभएको एकजना बहिनीलाई ब्याग समाउन दिएँ र बसको दायाँतर्फ मुख फर्काएर आफूलाई सजिलो हुने गरी उभिएँ। तर उभिनेको भीड अर्को स्टेसन नपुग्दै बढ्यो। त्यही भिडमा थपिएका थिए, लगभग ५०/५५ वर्षजति उमेर देखिने एकजना पाका व्यक्ति।

उनी मेरोपछाडि मै जसरी दायाँतर्फ मुख फर्काएर उभिएका थिए। तर ती व्यक्तिलाई मैले त्यति बेलासम्म खासै ख्याल गरिनँ, जबसम्म तिनको हातले मेरो ढाडमा छोएको थिएन। सुरुमा त लाग्यो, समाउने ठाउँ नभेटेर मेरो ढाडमा छोइन पुगेको पो हो कि !

तैपनि पछाडि फर्कें र मिलेर उभिन आग्रह गरेँ। तर त्यसको केही बेरपछि पनि उही सिलसिला दोहोरियो। उनको हात मेरो ढाडबाट कम्मरतिर सरिसकेको थियो। त्यसपछि भने रिसाउँदै पछाडि फर्केर गाली गरेँ।

मेरो गालीमा बसमै सवार एकजना आन्टीले पनि सहमति जनाउनुभयो। उहाँलाई पनि त्यो व्यक्तिले असजिलो हुने गरी छोइरहेको रहेछ। हामी दुवै मिलेर ती व्यक्तिले गरेको दुर्व्यवहारविरुद्ध गाली गर्‍यौं। तैपनि, उनी आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा भने थिएनन्। बरु, उल्टै हामीलाई नै दोषी देखाउन खोजे।

तर, हाम्रो विवाद नियालिरहेका एकजना दाइको गालीले भने काम गर्‍यो। उनले ती व्यक्तिलाई गाली गरेर पछाडि धकेल्दै अबदेखि यसो गरेमा पुलिसको जिम्मा लगाउने चेतावनी दिए। त्यसपछि भने त्यो मान्छे बल्ल हच्कियो। तर त्यो घटनाले तर्सिएको मेरो मन अहिले पनि भीडभाड देख्दा, सार्वजनिक सवारीको प्रयोग गर्दा तर्सी नै रहन्छ।

उसो त, आफैंले सवारी साधन चलाउँदा पनि यस्ता दुर्व्यवहारबाट अछूतो भने भइनँ। आफैले सवारी चलाउँदा भोगेका दुर्व्यवहारले दुर्घटनाको जोखिमसम्म पुर्‍याएका थुप्रै तीता अनुभव छन्। सुन्दा दुर्व्यवहार जस्ता नसुनिने त्यस्ता अप्ठेरा व्यवहारहरू कहिले हर्नको माध्यमबाट त कहिले सिट्ठीको माध्यमबाट भोग्नुपर्ने बाध्यता छ। त्यसमाथि, तीव्र गतिमा सवारी हाँकेर बत्ताउँदै नजिकै आई विभिन्न शब्द र अपशब्दले जिस्क्याउने र दुर्व्यवहार गर्नेहरूको अर्कै भीड छ।

झिसमिसे बिहानमा होस् वा अँध्यारो रातमा, एकान्तमा होस् वा भीडभाडमा, परिवारमा बस्दा होस् वा आफन्तसँग हुँदा, स्कुल पढ्दा होस् वा कलेज पढ्दा, जागिर खाँदा होस् वा रेस्टुराँमा बसेर खाजा खाँदा, एक्लै सवारी चलाउँदा होस् वा सार्वजनिक सवारी प्रयोग गर्दा— हरेक प्रकारका समय र स्थानमा मैले र मजस्ता प्रतिनिधि पात्रले भोगेका यस्ता अनगन्ती दुर्व्यवहारका चाङले गिजोलिरहन्छ। अनि स्वतन्त्र भएर बाँच्न पाउने नैसर्गिक अधिकारले पनि गिज्याइरहन्छ।

तर पनि यो सिलसिलाको सामना कहिलेसम्म गर्नुपर्ने हो, त्यसको निक्र्योल भने गर्न सकेको छैन। जबजब यो सिलसिलाको जालमा जेलिन्छु, अनि मनमा दुईवटा मात्रै प्रश्न उब्जिन्छ— आखिर कहिलेसम्म हामीले यस्ता दुर्व्यवहारको सामना गर्ने ? कहिले मैले म सुरक्षित छु भनेर अनुभूति गर्न पाउने ?

कहिलेकाहीँ त लाग्छ, सायद यी अनुत्तरित प्रश्न हुन्। यी प्रश्नको गतिलो जवाफ खोज्ने चेष्टा गर्नु नै दुर्व्यवहार भोग्नेहरूको भूल हो। तर, उत्तर नखोजेर पनि त हुँदैन। किनकि, दुर्व्यवहारमा परेर पनि, ममाथि दुर्व्यव्यवहार भइरहेको छ भन्ने थाहा नपाउँदाको उमेरदेखि आजसम्म भोगेका, सुनेका दुर्व्यवहारका थुप्रै घटनाले कत्तिपटक त आत्मविश्वास नै डगमगाएका छन्, धर्मराएका छन्।

यस्तै अनगन्ती दुर्व्यवहारको सिलसिला मैले त्यति बेला पनि भोगेँ, जति बेला मलाई दुर्व्यवहार भनेको के हो भन्ने थाहा हुनु त परको कुरा, दुर्व्यवहार शब्दबारे नै समेत अञ्जान थिएँ। दुर्व्यवहारबारे थाहा नहुँदैको उमेरमा, लुकामारी खेल्दा भोगेको अर्को एउटा दुर्व्यवहारको घाउले मलाई अहिले पनि दुखाइरहन्छ।

त्यो दिन, हामी गाउँका केही केटाकेटी मिलेर सधैंको जस्तो लुकामारी खेल्ने योजना बनायौं। लुकेकालाई पत्ता लगाउने जिम्मा अर्कैको भागमा पर्‍यो। त्यसैले म लुक्न गएँ। कसैले नदेख्ने ठाउँमा लुकेर पछि ढ्याप लगाउनुपर्छ भन्दै हामीसँगै लुकामारी खेलेका एकजना गाउँले दाइले मलाई उनीसँगै लुक्न आग्रह गरे।

ढ्याप लाउन पाउने कुराले उत्साहित हुँदै म पनि उनको पछिपछि लागेँ। तर लुकाउने बहानामा एउटा कुनामा लगेका उनले जब पछाडिबाट आफ्ना दुई हातले मेरो शरीरको त्यस्ता संवेदनशील अंगमा निमोठे, त्यसको दुःखाइले रन्थनिएको मनको घाउ आजसम्म पनि आलै छ।

भलै शरीरको दुःखाइ भने केही दिनपछि कम हुँदै गयो तर त्यो लुकामारी खेलसँगै लुकेका बाल्यकालका कैंयन् खुसी आजसम्म पनि भेट्टाउनै नसकिने गरी लुकिरहेका छन्। ती खुसीहरू बाल्यकालसँगै बढ्न पाएका भए, ती खुसीहरूले दुर्व्यवहारको परिभाषा नबुझ्दै दुर्व्यवहार भोग्नु नपरेको भए, सायद मेरो बाल्यकाल पनि साँच्चैको बाल्यकाल हुन्थ्यो कि, मात्र उमंग र उत्साहले भरिपूर्ण। तर अहँ, त्यो घटनाले मेरो बाल मनस्थितिमा उमंगको रंग भर्नै सिकाएन। मलाई उत्साहका साथ बाँच्नै सिकाएन।

सिकायो त केवल, आफ्नाहरूसँग डराउन, उमेरसँगै लजाउन अनि चुपचाप दुर्व्यवहार सहन। र यी सबै सिक्नलाई सहयोग गर्‍यो, ‘माफीलाई स्वीकार गर’ भन्ने सिकाइले। मलाई माफी स्वीकार गर्न सिकाउनुको सट्टा दुर्व्यवहारका र यसका प्रकारका बारेमा बुझाइएको भए, यसविरुद्ध बोल्न सिकाइएको भए, म त्यो घटनाले रन्थनिएर भुइँमा पछारिँदा, ङिच्च मुख देखाएर ‘सरी’ भन्दै ढ्याप लगाउन दौडेको उसलाई, गालामा थप्पड हानेर गतिलो सबक नै सिकाउन सक्थेँ कि !

तर सकिनँ। उमेरको एउटा बिन्दुमा मभित्रको आत्मविश्वासको टुसा पलाउन नपाउँदै ओइलायो। समयक्रमसँगै बढ्दै र पढ्दै जाँदा जब मैले आत्मविश्वासको मूल्य थाहा पाएँ, त्यो मुर्झाएको आत्मविश्वास हुर्काउन त्यत्तिकै धेरै समय खर्चिनु पर्‍यो। तर, फक्रिरहेको त्यो आत्मविश्वास पनि हिजोआजका कैंयन् बालबालिकाले भोग्ने गरेका दुर्व्यवहारका घटनाले कमजोर बनाएको अनूभूति हुन्छ। अहिले पनि जब म बालबालिकाको कलिलो आत्मविश्वासमा दुर्व्यवहारको एसिड छ्याप्ने शृंखला बढिरहेको देख्छु, त्यहाँ म वर्षौंअघिको आफूलाई नै पाउँछु।

समय फेरियो, दुर्व्यवहारका स्वरूप पनि फेरिए तर सिलसिला भने रोकिएको छैन। त्यसैले पनि आफ्ना हुर्किंदै गरेका छोराछोरीसँग एकछिन भए पनि दुर्व्यवहारबारे स्वस्थ छलफल गरौं। को कोले हामीलाई दुर्व्यवहार गर्न सक्छन्, दुर्व्यवहारका स्वरूप कस्तो हुन्छ भनेर उनीहरूलाई थाहा दिने प्रयत्न गरौं। सही छुवाइ र गलत छुवाइका भिन्नताबारे जानकार बनाऊँ। दुर्व्यवहार सहनभन्दा पनि त्यसको प्रतिकार गर्न हौसला दिऊँ। अनि सबैप्रति सम्मान गर्न सिकाऊँ। तब मात्र निम्छरो बन्दै जान्छ, बढ्दो दुर्व्यवहारको सिलसिला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.