एटीआरका जहाज ल्याउन अध्ययन
जोमसोम : एटीआर कम्पनीको युरोपियन नयाँ जहाज ल्याउन मुस्ताङमा यसको प्रारम्भिक सम्भाव्यता अध्ययन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एअरका प्राविधिक र प्रतिनिधि टोलीले सयुक्त अध्ययन गरेका हुन्।
प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक देवेन्द्रप्रसाद श्रेष्ठ, बुद्ध एअरका अपरेसन डाइरेक्टर क्याप्टेन आरके शर्मा, बुद्ध एअरका अपरेसन म्यानेजर सुवर्ण खरेल, बुद्ध एअरका अपरेसन इन्जिनियर उदयकृष्ण श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका बरिष्ठ अधिकृत पुष्पराज न्यौपाने छन्।
अध्ययन टोलीले मुस्ताङको घरपझोङ-३ मा रहेको जोमसोम विमानस्थलको रनवे र ढुम्बा, स्याङ डाँडाको भौगोलिक अध्ययन गरेका छन्। यस्तै, जहाज यु टर्न गर्न सक्ने वा नसक्ने सम्भाव्यता अध्ययन गर्न टोलीले वारागुङ मुक्तिक्षेत्रको कागबेनी आसपासका क्षेत्रको निरीक्षण गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दिपक बिकले जानकारी दिए।
एटीआर कम्पनीले सन् २०२३ मा एटीआर ४2६०० स्टल मोडलको नयाँ जहाज बनाई लञ्च गर्ने जनाएको छ। यो जहाज युरोपको फ्रान्समा बन्ने भएको छ। एटीआरले उक्त जहाजका विषयमा यसअघि नेपालमा बुद्ध एअरलाई जानकारी गराएको थियो। यसपछि नयाँ प्रस्तावित जहाज उडानको मार्ग प्रशस्त गराउन सकिने वा नसकिनेबारे बुद्ध एअरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अवगत गराएको थियो। फ्रान्सेली नयाँ कम्पनीको जहाज ४७ सिट क्षमताको हुनेछ भने यसमा यात्रुलाई आवश्यक पर्ने सबै प्रकारका सुविधा उपलब्ध हुने बुद्ध एअरका प्रतिनिधिले जनाए।
करिब ६ अर्ब लागतमा बुद्ध एअरले यसप्रकारका ३ वटा ४७ सिट क्षमताका युरोपियन जहाज खरिद गर्ने योजना बनाएको हो। दुर्गमका मुस्ताङसहित हुम्ला, सिमिकोटलगायत ८ जिल्लामा यसको सम्भाव्यता अध्ययन गरिने भएको हो। मुस्ताङबाट यसको पहिलो प्रारम्भिक अध्ययन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक देवेन्द्रप्रसाद श्रेष्ठले बताए। यो जहाज ल्याएर सेवा प्रवाह गर्ने योजनासहित बुद्ध एअरले प्राधिकरणसँग सम्भाव्यता अध्ययनलगायत सहयोग मागेको हो। धावन मार्ग बिस्तार, जहाजको यु टर्न गर्ने र टेक अफ गर्न सक्ने वा नसक्ने अवस्थाको प्राविधिक अध्ययन भइरहेको उनले उल्लेख गरे। रनवे बिस्तार गरी भौगोलिक दृष्टिकोणले फिजियबल भएमा जहाज ल्याउन सक्ने सम्भावना देखिएको छ। मुस्ताङलगायत उच्चपहाडी क्षेत्रमा ४७ सिटे जहाज ल्याउन बुद्ध एअर इच्छुक देखिएको हो। बुद्ध एअरका अपरेसन डाइरेक्टर क्याप्टेन आरके शर्माले साविकभन्दा बढी सिट क्षमताको जहाज मुस्ताङ ल्याउन प्रारम्भिक अध्ययन भएको जानकारी दिए। उनले जहाजको पुरै टेक्निकल्ली डेटा उपलब्ध नभएको भए पनि जहाज अवतरण गर्ने सम्भावनाका विषयमा अध्ययन गरिएको बताए। ‘हामीले दर्गुमका ८ जिल्लामा यसको अध्ययन गर्ने छौं। यदी ८ स्थानमध्ये कम्तीमा ४ वटा विमानस्थलमा सम्भावना देखिए जहाज ल्याउन सम्भव छ’, उनले भने, ‘यसका लागि जहाज टर्न गर्न सक्ने, टेक अफ गर्ने र रनवे क्षेत्रफल बिस्तारको सम्भावना रहनु पर्ने हुन्छ, रनवे बिस्तार र भौगोलिक फिजियबल देखिए जहाज लञ्च भएपछि सेवा प्रवाह गर्छौं।’
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका बरिष्ठ अधिकृत पुष्पराज न्यौपानेले साविक क्षमता भन्दा बढीका जहाज ल्याउन सकिने वा नसकिनेबारे प्रारम्भिक अध्ययन भइरहेको जानकारी दिए। उनले विमानस्थल रनवे बिस्तार र भौगोलिक डेटाको प्रारम्भिक अध्ययन गरेर सबै कुराको टुंगो लाग्ने जनाए। उनले नयाँ जहाजका लागि कम्तीमा १२ सय मिटर रनवे हुनुपर्ने उल्लेख गरे।
जोमसोम विमानस्थलको क्षेत्रफल ८ सय १० मिटर छ। यदि जहाज ल्याउने सम्भावना रहे यसमा थप ४ सय मिटर बिस्तार गर्नुपर्ने देखिएको छ। यसका लागि जोमसोम नागरिक उड्डयन कार्यालयको समन्वय तथा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमको रोहबरमा स्थानीय जनप्रतिनिधि र स्थानीय सरोकारवालाबीच यसबारे प्रारम्भिक छलफल भएको छ। छलफलमा घरपझोङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, गाउँ मुखिया र स्थानीयबासीको सहभागीता थियो। स्थानीयले ठूलो जहाज यहाँ ल्याउनुपर्ने औचित्य र यसले स्थानीयलाई दिने सेवासुविधाबारे जिज्ञासा राखेका थिए। रनवे बिस्तार भए विमानस्थलको दक्षिणतर्फ करिब १५ घरधुरी बिस्थापित हुने देखिएको छ भने अन्य केही व्यक्तिको जग्गासमेत पर्ने भएकाले सरोकारवालाले रनवे बिस्तारप्रति असहमति जनाएका छन्। छलफलमा स्थानीय जनप्रतिनिधिले ठूलो क्षमताको जहाज ल्याउने योजना स्वागतयोग्य भएको तर अधिकरणमा परेका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गराइनुपर्ने अडान राखेका थिए। यता, नागरिक उड्डयन प्राधिकरण र बुद्ध एअरका टोलीले बढी सिट क्षमताको जहाज ल्याउने योजना सफल हुन स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको साथ र सहयोगबिना सम्भव नरहेको जनाएका छन्। उनीहरूले विमानस्थल अधिकरणमा पर्ने पीडित व्यक्तिलाई राज्यले उचित क्षतिपूर्ति उलब्ध गराउने जानकारी दिए।