नेताहरूलाई किताब सिफारिस गर्नु बेकार छ
नत्र म पनि आरक्षणलाई ‘गरिबी निवारण कार्यक्रम’ नै सोच्ने गर्थें। ‘हिमाल पहाड तराई, कोही छैन पराई’ सिद्धान्तमै बाँच्ने गर्थें। मान्छेहरूले अर्धमूदित आँखा र मधुर आवाजमा दिने ‘सकारात्मक ऊर्जा’का गफसँग मोहित हुन्थेँ।
नारीवादी विश्लेषक सावित्री गौतमसितको पठन–वार्ता :
कत्तिको फुर्सदमा हुनुहुन्छ ?
एकल परिवारमा बसेर बच्चा हुर्काउँदै जीवनयापन गरिरहिएको छ। बच्चाहरूको समय तालिकाअनुसार आफ्नो समय तालिका मिलाउँदा खासै धैरै फुर्सद हुँदैन। घरको सम्पूर्ण काम म र मेरो श्रीमान् भएर गर्ने हो। उहाँ विद्यावारिधि गर्दै हुनुहुन्छ र म बेलाबेला पत्रिकामा लेख्छु। हामी दुवै लेखपढपछिको फुर्सदमा घरभित्र–बाहिरको काम र कामपछिको फुर्सदमा लेखपढ गर्छौं।
अलिकति हुने फुर्सदमा के गर्नुहुन्छ नि ?
पैदलयात्रा मेरो रुचि हो। अतिरिक्त फुर्सद भएको बेला एकदिने हाइकिङ वा दसैं वा लामो छुट्टीमा दुई–तीन दिनका छोटा रुटमा ट्रेकिङ जाने गर्थें। घुँडाको लिगामेन्ट च्यातिएका कारण दुई वर्षयता त्यो बन्द भएको छ। अब त दिनभरिमा लगातार छ सात घण्टा हिँड्ने गरी कतै जान सक्दिनँ होला जस्तो लाग्छ। कतै कार्यक्रममा जाने वा आउने बहानामा पैंतालीस मिनेट वा बढीमा एक घण्टासम्म हिँड्न सक्नेचाहिँ भएको छु।
पछिल्लोपटक कुन किताब पढ्नुभयो ?
बेट्टी फ्रिडनको ‘द फेमिनिन मिस्टिक’।
मन पर्यो ?
गजब छ। यो किताब सेकेन्ड वेभ अफ फेमिनिज्मको झिल्को बाल्ने किताब थियो भनेर एकजना सिनियर फेमिनिस्टले रचनागर्भसहित बताउनुभएको थियो। त्यो सुनेपछि घर आएर डाउनलोड गरेर पढेँ। अमेरिकामा त्यति बेला घर कसरी सजाउने, लोग्नेलाई कसरी रिझाउने जस्ता टिप्स दिइएका म्यागेजिन प्रकाशित हुन सुरु भएका रहेछन्। हामी त आजसम्म त्यस्तो टिप्स युगको सुरुआतमै छौं भन्ने सोचेर हाँसो लाग्यो। यस्ता कतिपय प्रसंग छोरीलाई पनि पढेर सुनाएँ।
तपाईंको सिरानीमा किताब ?
सुत्ने बेला कुनै न कुनै किताब नभई नहुने पहिल्यैदेखिको बानी थियो। त्योबाहेक मेरो पढ्ने लेख्ने ठाउँ नै ओछ्यान हो। लेख्ने क्रममा कैयौं किताबका प्रसंग दोहोर्याएर पनि पढ्नुपर्ने भएकाले नजिकै राख्नुपर्छ। १८ वर्षअगाडि पलङ बनाइदिने दाइलाई किताब राख्न मिल्ने तख्ताजस्तो पनि बनाइदिन भनेँ। कम्तीमा तीसवटा जति किताब सधैं सिरानीमै हुन्छन्। १५ वटा जति छोरीका किताब पनि छन,् बालसाहित्यका। उसले कतिपय आफैंले पढ्छे, कतिपय मलाई पढेर सुनाउन लगाउँछे।
हातमा भएको किताब ?
नेल्सन मन्डेलाको आत्मकथा ‘लङ वाक टु फ्रिडम’।
थाती राखेको किताब ?
पढ्नै परेर पढेको किताब थाती राख्दिनँ, ढिलो वा चाँडो सक्छु नै। कुनै कुनै रमाइलोकै लागि पढेको किताबले पनि तानेपछि थाती राख्दिनँ। झ्याउ लाग्यो भने जस्तोसुकै बहुचर्चित किताब पनि दुई–तीन पेज पढेर छोडिदिन्छु।
धेरैपल्ट पढेको किताब ?
म सानो हुँदा छरछिमेकी जम्मा भएर धार्मिक पुस्तकहरू पढ्ने–सुन्ने चलन थियो। बुवापछि घरको मुख्य वाचक म थिएँ। बुवा व्यापारको सिलसिलामा घरबाहिर गइरहने। बुवा नहुँदा पसलमा बसेर वरिपरि झुरुप्प जम्मा भएका ठूला मान्छेलाई महाभारत पढेर सुनाउने, पद्यमा पढेर गद्यमा अर्थसमेत लगाउँथेँँ। कतिपटक फुपूले पनि मलाई महाभारत पढ्न झिकाउनुभएको छ। तेह्र चौध वर्ष पुगुन्जेल नै कतिपटक महाभारत दोहोर्याएर पढियो याद पनि छैन। सबैभन्दा धेरैपल्ट पढेको किताब त्यही नै होला। आफ्नो सोखले भन्दा पनि घरमा धार्मिक पुस्तक पढ्ने प्रचलन भएको कारणले।
पहिलो (बच्चाको) किताब ?
पाँच वर्षमै स्कुल भर्ना भइसकेकी थिएँ। बुवाआमाले घरमा पढिने धार्मिक किताब पनि त्यति बेलैदेखि पढ्न लगाइसक्नुभएको थियो। बालसाहित्य चिन्दाचाहिँ म चार कक्षामा पढ्थेँ। हामी नारायणगढको ‘ठूलो बालकुमारी’ स्कुलमा पढ्थ्यौं। एक दिन दाइले बाटोमा बीस रुपैयाँ भेट्नुभयो। चारवटा कथाका किताब किन्नुभयो, पाँच रुपैयाँमा एउटाको दरले। चिल्ला कभर भएका रंगीविरंगी ती किताबमध्ये एउटा सुनकेस्राको कथा थियो।
अरू किताबको नाम याद छैन तर एउटा किताबका दुई मुख्य पात्रको नाम रिजिंगला र नामाग्याल भन्ने आजसम्म पनि याद छ। त्यति बेला हामीलाई ती किताबका रंगीविरंगी पाना र चित्रकथा एकदमै लोभलाग्दा लागेका थिए। सात कक्षामा पढ्ने दाइ र दाइका साथीहरूले पनि ती किताब पढेका थिए। म त्यो यादबारे विश्लेषण गर्छु। बालबालिकाले पढ्ने किताबको साजसज्जा, चित्र आदि कति महत्वपूर्ण हुँदोरहेछ र उनीहरूले बाटोमा भेटेको पैसाले बजारका खानेकुरा किनेर नखाई किताब किन्दा रहेछन् भनेर सोच्छु।
धेरैपल्ट उपहार दिएको किताब ?
हर्क गुरुङको ‘मैले देखेको नेपाल’ र जोन उडको ‘लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड’ र यसको नेपाली अनुवाद।
धेरैपल्ट उपहार पाएको किताब ?
उपहारमा धेरै किताब पाएको छु। एकपटकमा दसवटा भन्दा बढी पनि। तर धेरैपल्ट एउटै किताब उपहार पाएको छैन।
पढ्न मन लागेर नपाएको किताब ?
त्यस्तो कुनै किताब छैन। पढ्न मन लागेको किताब जहाँबाट पनि मगाएको छु। आजकालको जस्तो सजिलै अनलाइनमा किन्न नमिल्ने बेलामा मेरी स्कुलकी साथी आरती घलेले अस्ट्रेलियाको मेलबर्नमा एक वर्ष खोजेपछि बल्ल मैले भनेको किताब भेटिछ। स्कुलकै अर्को साथी टीकारामले लन्डनमा मेरा लागि किताब किनिदिएर राखिरह्यो, आफू नेपाल आएको बेला दियो। भाइ चण्डीगढमा एमडी गर्दै थियो, उसले पनि मैले भनेका दुइटा किताब खोजेर ल्याइदियो, दसैंमा घर जाँदा लिएँ। आजकल त यो किताब पढ्न मन थियो भनेपछि कतिपय साथीहरूले ई बुक पनि पठाइदिन्छन्।
पुस्तक प्रायः कहाँ कसरी किन्नुहुन्छ ?
जहाँसुकै पनि किन्छु। २०६९ सालमा मुम्बईमा केही महिना बस्दा त्यहाँको हिल रोडको फुटपाथमा मैले फातिमा भुट्टोको ‘संग्स अफ ब्लड एन्ड स्वर्ड’, अब्दुल कलाम आजादको आत्मकथाका सिरिज जस्ता किताब किनेको छु। छोरीका लागि बालकथाका किताब भने त्यहीँका बडेमानका पसलबाट किनेको थिएँ। आफू बस्ने सहरमा भए नियमित जाने किताब पसलमा नै किन्छु। अर्को सहरमा छु भने सहरका नामी किताब पसलमा पनि पसेको छु वा नजिकै भएका ससाना पसलमा पनि कुनै किताब रुचिकर होलाजस्तो लागे भने किन्ने गर्छु।
कुन समय धेरै किताब पढ्नुभयो ?
एसएलसी दिएको खाली समयदेखि एमए पढुन्जेल।
मन परेको पुस्तकालय ?
धेरैवटा पुस्तकालय गएको छैन। घरको छेउछाउ वा बसेकै सहरमा एक त सार्वजनिक पुस्तकालय नै धेरै छैनन्, दोस्रो दैनिक पत्रिकाबाहेक अरू पढ्न पाइने र काम लाग्ने सामग्री खासै नहुने भएकाले कसरी मन पर्नु ? भारतको मुम्बईमा मैले एउटा कोर्स गरेको संस्था ‘नेसनल रिसोर्स सेन्टर अफ इन्क्लुजन’को पुस्तकालय धेरै ठूलो त थिएन तर निकै चिटिक्क परेको र पढ्नका लागि सुविधाजनक थियो। त्यहाँ हुँदा खासगरी अपांगता अधिकार र समावेशी शिक्षासम्बन्धी धेरै किताब पढेँ मैले। अपांगता र समावेशी शिक्षासम्बन्धी अध्ययन गर्न त्यो दक्षिण एसियाकै सबैभन्दा समृद्ध पुस्तकालय हो भनेर मलाई त्यहीँकी लाइब्रेरियन साथी सुजाताले एक दिन भनेकी थिई। उसका दुईजना दिदीलाई सेरेब्रल पल्सी नामक अपांगता थियो र ऊ अध्ययन–अनुसन्धान गर्न पाइन्छ भन्ने लोभकै कारण लन्डनदेखि मुम्बई आएर होस्टेलमा बसेर लाइब्रेरियनको जागिर खाइरहेकी थिई।
पढिसकेपछि राम्रो लागेको किताबबारे भन्न खसखस लाग्दैन ? के गर्नुहुन्छ ?
एकदमै धेरै साथीहरूलाई भन्छु। कहिलेकाहीँ उनीहरू ‘हो र !’ भन्छन्। घरमा भएको त्यही किताब लग्दिन्छन्। ठीकै छ राम्रो किताब लगी–लग्यो, पढोस् भन्यो, फेरि किनेर ल्याएर राख्यो। अर्कोपटक अर्कोलाई त्यही कुरा भन्यो अनि अर्कोले पनि लगिदिन्छ। आफूले हाइलाइट, अन्डरलाइन गरेर राखेका पेजसहितका किताब पनि जाने हुनाले आजकाल पेज नम्बरसहित किताबको प्रसंग कापीमा टिपेर नराखी हुँदैन।
समीक्षा पढ्दा कस्तो लाग्छ ?
समीक्षा म निरपेक्ष भावले पढ्छु। किताब लेखिसकेपछि लेखक मर्छ भन्ने उद्धरण सुनेको छु। मलाई लेखक मर्छ नै जस्तो त लाग्दैन तर कुनै पनि कृति बाहिर आइसकेपछि त्यो सार्वजनिक वस्तु हो भन्ने कुरामा सर्जक खुला हुनुपर्छ भन्ने लाग्छ।
आजकल त किताबबारे समीक्षा, टिप्पणी गर्ने मान्छेलाई लेखकमात्र होइन, उनीहरूका साथीसँगी, सेनामेनाले समेत लेख लेखेरै थर्काउने, सामाजिक सञ्जालमा कटाक्ष गर्ने गरेको देख्छु। आलोचनाप्रति यतिविधि अनुदार हामी नै फेरि आलोचनात्मक संस्कारको जोडदार पैरवी गर्छौं, अचम्म लाग्छ। पत्रिकाको रिपोर्टबारे टिप्पणी गर्नुपरे पत्रकारै हुनुपर्ने, फिल्मबारे बोल्नुपरे फिल्म नै बनाउनुपर्ने वा किताबबारे टिप्पणी गर्न किताब लेखेकै हुनुपर्ने भन्ने खालको व्याख्या भइरहेको देखेर नरमाइलो लाग्छ। लोकतान्त्रिक देशका सार्वभौम नागरिकको हैसियतमा हामीसँग सार्वजनिक खपतका लागि उत्पादन भएको जुनसुकै चीजमाथि निर्मम आलोचना गर्ने अधिकार सुरक्षित हुन्छ। तर आलोचनाप्रति हामी अनुदार हुँदै गएको कारण सार्वजनिक बहसको दायरा पनि साँघुरो हुँदै गएको छ जस्तो लाग्छ।
पढ्दै गर्दा मन परे–नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने बानी छ कि ?
लेख्न सुरु गर्नुअघि केरमेट गर्ने बानी थिएन। किताबलाई सकेसम्म छिटो पढिसक्ने, नयाँ जस्तै गरेर थन्क्याइहाल्छु भन्ने लाग्थ्यो खोइ किन हो। बुक मार्क नभेटेको खण्डमा किताबका पन्नामाथि वा तलपट्टिबाट थोरै दोबार्छु। बिहेको निम्तो कार्ड, खुद्रा नोट वा कपडाका ट्याग आदिलाई पनि बुकमार्कका रूपमा प्रयोग गर्छु।
दशक हुन लाग्यो, किताब समय लगाएर पढ्छु। मसँग किताबसँगै सिसाकलम वा हाइलाइटर अनिवार्य साथमा हुन्छ। मैले सिसाकलम हराउँदै–माग्दै गरेको देखेर छोरी पनि भनिराख्छे, एकपटक दिएपछि नहराउनुस् न भनेर। घरमा छु भने डायरी र कलम पनि लिएर बस्छु। सन्दर्भका रूपमा प्रयोग गर्नुपर्ने सम्भावना भएका हरफ वा मन परे–नपरेका कुरा हाइलाइट, अन्डरलाइन मात्र होइन टिपेरै पनि राख्छु। एक महिनाअघि पढेको एउटा किताबको चालीस पेज नपुग्दै मैले आफूलाई चित्त नबुझेका कुरा एक पेज लेखिसकेको थिएँ। किताब नै जम्मा १६२ पेजको छ त्यो। घरबाहिर गएको बेला किताब लगेको छु तर हाइलाइटर वा सिसाकलम छुटेको रैछ भने बाहिर पढेको कतिपय हाइलाइट गर्नुपर्ने प्रसंग बिर्सिन्छन् भनेर घर आएर दोहोर्याउँछु र हाइलाइट गर्छु।
अनि किताबमा गाता हाल्ने बानी नि ?
स्कुल पढ्दा बुवाले ‘चीन सचित्र’ नामको पत्रिकाले गाता हाल्दिनुहुन्थ्यो। हिन्दी भाषामा लेखिने तर चीनबारे जानकारी भएको त्यो म्यागेजिन निकै चिल्लो र आकर्षक चित्रसहितको हुन्थ्यो। बुवाले गाता हाल्न सुरु नगर्दै म त्यो पत्रिका कनिकुथी पढेर सकिदिन्थेँ। कलेज पढ्ने भएपछि भने कोर्सका किताबमा गाता हालिनँ। तर साथीहरूसँग मागेर ल्याएको वा पुस्तकालयको किताब छ भने पहिल्यैदेखि आजसम्म पनि अस्थायी गाता हाल्छु। फिर्ता दिँदा दाग लागेको दिन नपरोस् भनेर।
नयाँ किताब हात परेपछि सुँघ्नुहुन्छ पनि कि ?
सुँघ्दिनँ। किताबको बास्नाले भने मलाई त्यस्तो लोभ्याएन।
पाना पल्टाउँदा औंलामा थुक लगाउने बानी छ कि ?
छ, किन नहुनु !
यात्रामा किताब पढ्नुहुन्छ ?
यात्रामा पढ्ने वा संगीत सुन्ने बानी छैन। हवाई यात्रामा चाहिँ तल हेर्न डर लाग्ने भएकाले जहाजमै भएका पत्रिका अल्छी मानीमानी पल्टाउने वा त्यहीँ उपलब्ध भिडियो हेर्ने गर्छु। बसमा यात्रा गरिरहेका मान्छेहरूको यात्रामार्फत हाम्रो सार्वजनिक यात्राको स्थिति कस्तो छ भनेर नियाल्छु। यात्रुहरूसँग गफ गर्छु। बसका स्टाफ कस्ता परे भनेर याद गर्छु। सार्वजनिक यातायातमार्फत नागरिकको जनजीवन नियाल्नु भनेको मेरो लागि स्वतन्त्र अनुसन्धानको महत्वपूर्ण अवसर हो। बस यात्रामा पढ्न चाहनेका लागि पनि सहज वातावरण छैन। भीडभाड, हल्ला मात्र होइन बसका स्टाफ र यात्रुको झगडा पनि नियमित कुरा हो।
कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
जहाँ र जुनसुकै बेला पनि पढ्छु। मेरो घरमा छुट्टै अध्ययन कक्ष छैन। भान्सामा काम गर्दै कुर्सीमा बसेर किताब पढ्दै गर्थें। ढाडको समस्याका कारण छोडेँ। सोफा वा ओछ्यानमा पल्टेर पढ्छु। राति तीन बजेसम्म पनि पढ्छु। तर केटाकेटी स्कुलबाट आएर खाजा खाएपछिको र खाना पकाउने समय नभइसकेको साँझ ५ देखि ७ बजेको समयमा चाहिँ धेरै पढ्छु कि जस्तो लाग्छ। कतै कसैलाई भेट्न गएको छु र कुर्नुपर्ने भयो भने त्यहीँ पढ्छु। बजारका घरका पेटी, चौतारा वा रेस्टुरेन्ट जहाँ पनि।
तपाईंको पठनमा प्रविधिको प्रयोग कस्तो छ ?
पढ्न जरुरी भएका र आफू बसेको सहरमा नपाएका किताब, प्राज्ञिक लेख इन्टरनेटमा खोज्छु। डाउनलोड गर्न मिल्ने जति गर्छु। नमिल्ने जति साथीहरूसँग ईमेलमा मगाउँछु। अनि तिनै किताब–लेखलाई कम्प्युटरमा पढ्छु। किन्डल वा कोबोजस्ता साधन भने छैनन्।
यहाँसँग भएको दुर्लभ पुस्तक ?
त्यस्तो दुर्लभ पुस्तक मसँग छैन। अलिकति कोसिस गरे पाइहालिने नै खालका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन–कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
पश्चिमाले सिकाएर नेपाली महिलाले चाहिनेभन्दा धेरै अधिकार खोजे, एनजीओको भाउँतोमा लागेर ट्याउँट्याउँ गरे, धेरै पढेर बहुलाए आदि भन्दै मान्छेको चेतनालाई बारम्बार लज्जित गर्ने महानुभावहरूलाई म कसरी किताब सिफारिस गर्ने दुस्साहस गर्न सक्दो हुँ ! त्यस्तै, ज्ञान विश्वव्यापी हुन्छ र ज्ञान उत्पादनको माध्यम किताब हो, जुन आधारभूत आवश्यकता हो भन्ने कुरालाई डब्बामा बन्द गरेर चर्को कर लगाएको सत्तापक्षको कदमको विरोधमा चुइँक्क बोल्न नसक्ने प्रतिपक्षका नेतालाई पनि मैले किताब सिफारिस गर्नु बेकार छ।
किनेको सबैभन्दा महँगो किताब ?
दुई हजार रुपैयाँभन्दा बढी परेको किताब छैन।
पठन रोजाइमा कुन विधा ?
गैरआख्यान। अधिकारवादी कोणबाट लेखिएका गैरआख्यान पहिलो प्राथमिकतामा। महिला, दलित, भूमिहीन, सीमान्तीकृत, अल्पसंख्यक आदिको हेराइबाट लेखिएका विश्वभरिका कृति। यस्ता केही लामा लेख र किताबले ममा रहेको भ्रम चिर्न धेरै सघाए। समावेशी समाज र शासनव्यवस्था कस्तो हुन्छ भनेर मलाई धेरै बुझाए। नत्र म पनि आरक्षणलाई ‘गरिबी निवारण कार्यक्रम’ नै सोच्ने गर्थें। ‘हिमाल पहाड तराई, कोही छैन पराई’ सिद्धान्तमै बाँच्ने गर्थें। मान्छेहरूले अर्धमूदित आँखा र मधुर आवाजमा दिने ‘सकारात्मक ऊर्जा’का गफसँग मोहित हुन्थेँ (हाहाहाहा !)
पढ्न नपरे हुन्थ्यो भन्ने पनि छ कि ?
स्कुल कलेज सकेपछि त त्यस्तो भएको छैन। किनभने धेरैजसो किताब चाहिने किताब हुन् भन्ने लागेपछि संकलन गर्छु। आफ्ना सिनियर वा साथीहरूले ‘पढ्नैपर्ने किताब हो’ भनेपछि पनि पढ्ने गर्छु। मन नपरेर होइन, पढ्न गाह्रो लाग्ने भएकाले तथ्यांकीय जानकारी भएका च्याप्टरबाट भाग्दिनँ भन्दाभन्दा पनि अलिकति पढेपछि भागिहाल्ने रैछु। तीन महिना लगाएर पढिसकेको ‘द सेकेन्ड सेक्स’को एउटा च्याप्टर जुन तथ्यांकीय जानकारीले भरिपूर्ण छ, त्यो थाती छ। त्यो एउटा च्याप्टर नसकुन्जेल मलाई मैले ‘द सेकेन्ड सेक्स’बारे गफ गर्न सुहाउँदैन जस्तो लाग्छ। अब छिटै त्यो च्याप्टर जसरी पनि सक्ने विचार छ।
कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
छैन।
पढिसकेका किताब कसरी व्यवस्थापन गर्नुहुन्छ ?
चाहिने भनेर किनिएका किताब नै हुन्छन्, बारम्बार हेरिरहनुपर्ने। त्यसैले ‘व्यवस्थापन’ गर्नुपर्ने स्थिति आउँदैन। मेरो संकलनमा हजारौं प्रिन्टेड किताब पनि छैनन्। कलेज क्वार्टरमा बस्ने भएकाले प्रशस्त ठाउँ पनि छैन। माटोको गाह्रो भएकाले मुसा पनि धेरै लाग्छन्, भएकालाई नै पनि कसरी जोगाउने भन्ने चिन्ता छ। नियमित किताब उपहार दिने मान्छे हुँ। तर त्यो व्यवस्थापनका लागि नभई साथी वा आफन्तको रुचि वा आवश्यकता हेरेर किनेर वा घरमा भएका पनि दिन्छु। पोहोर एकजना साथीले मार्टिन चौतारीका किताब कति कोसिस गर्दा पनि पाइएन भनेर ट्विटरमा लेखेको देखेँ। सुर्खेतमा सार्वजनिक पुस्तकालय चलाएर गज्जबको काम गरिरहनुभएको छ, उहाँ र उहाँको टिमले। उहाँ पोखरा आएको समयमा मसँग भएका चौतारीका पाँचवटा किताब उपहार दिएँ, जसका अतिरिक्त प्रति मसँग थिएनन्। मेरा किताबको व्यवस्थापनका लागि होइन कि उहाँहरूको कामको कदरस्वरूप उपहार दिएको। पछि मार्टिन चौतारीका निर्देशक प्रत्यूष वन्तलाई उहाँहरू चौतारीका किताब खोजिरहनुभएको रहेछ भन्दिएँ। त्यसपछि चौतारीले पनि उहाँहरूलाई केही कार्टुन किताब उपहार पठाइदिएछ।
प्रायः पढ्नुहुन्छ कि सस्वर ?
मेरो त मनमनै पढ्ने बानी छ। कहिलेकाहीँ कुनै किताबमा काम लाग्ने जस्ता प्रसंग आए भने छोराछोरीलाई सस्वर पढेर सुनाउँछु। पढ्दा मनमनै पढे पनि हाँस्दा चर्को हाँस्ने भएकाले पढ्दै हाँस्दै गरेको देखेपछि छोराछोरी किन हाँस्नुभएको भनेर सोध्छन्। त्यस्तोमा हाँसेको प्रसंग पढेर सुनाउँछु। मेरो छोरा जम्मा आठ वर्षको थियो। बुद्धिसागरको ‘कर्नाली ब्लुज’का ‘सन्तोषी बा’ लगायतका प्रसंगमा हाँस्दै थिएँ। छोराले सोध्यो, पढेर सुनाएँ। त्यसपछि उसले आफैंले सिंगै किताब पढ्यो।
कुन लेखक भेट्न चाहनुहुन्छ ?
सिमोन दी बुभुआ र मेरी वुल्स्टनक्राफ्टका किताब मैले विश्वविद्यालय शिक्षा सकेको निकै धेरै समयपछि पढेँ। विश्वविद्यालयको कोर्समा लगभग महामानवकै रूपमा पढिएका धेरै पश्चिमा पुरुष दार्शनिक र लेखकहरूले महिलाबारे के–के लेखेका छन् भनेर सिमोन र मेरीले उद्धरणसहित उल्लेख गरेको देखेपछि चकित परेँ। उनीहरूले ती ‘महापुरुष’हरूप्रतिको मेरो धारणा नै बदल्दिए, त्यो पनि प्रमाणसहित। उनीहरूलाई पहिला त आभार प्रकट गर्थें होला र यति गहिरो अनुसन्धान गरेर कसरी लेख्ने भनेर सोध्थेँ पनि होला। मेरी वुल्स्टनक्राफ्टलाई त उनकै समकालीन नारीवादीहरूले समेत ‘हाइना इन पेटिकोट’ भन्थे रे। आफ्नै कथित सहयोद्धाहरूबाट त्यतिविधि बहिष्कार सहेर पनि कसरी रचनात्मक ऊर्जालाई कायम राख्न सकिन् भनेर सोध्थेँ होला। सम्भव त छैन तर कल्पना गर्छु।
तपाईंले लेख्न चाहिरहेको पुस्तक ?
नेपाली समाजको एक महिलाको रूपमा आफूले हेरेको, महसुस गरेको सामाजिक–राजनीतिक व्यवस्थाबारे गैरआख्यानको किताब लेख्न चाहेको धेरै भयो।
बढी होहल्ला भएको औसत किताब ?
औसत किताब कस्तोलाई भन्ने भन्ने कुनै मापदण्ड हुँदैन। मलाई औसत लागेका धेरै किताब अरूलाई राम्रा लाग्न सक्छन्। अनि होहल्ला बढी भो भनेर हल्ला गर्ने काम पनि बेकार लाग्छ मलाई त। नेपालकी कुनै अभिनेत्री वा खेलाडीले किताब लेखिन् भने त्यसले स्वाभाविक रूपमा मैले लेख्ने किताबभन्दा बढी हल्ला गर्छ।
कम होहल्ला भएको राम्रो किताब ?
म गैरआख्यानका र अनुसन्धानात्मक किताब धेरै पढ्छु। मेरो पढाइको टेस्टअनुसार त मैले पढ्ने सबैजसो किताब कम होहल्ला भएका राम्रा किताबको श्रेणीमै पर्छन्।
आफूलाई मन परेका पाँच पुस्तक सिफारिस गर्न सक्नुहुन्छ ?
सिमोन दी बुभुआको ‘द सेकेन्ड सेक्स’, सिरिन एबादीको ‘इरान अवेकनिङ’, अड्रे लर्डको ‘योर साइलेन्स विल नट प्रोटेक्ट यु’, हर्क गुरुङको ‘मैले देखेको नेपाल’ र मार्टिन चौतारीद्वारा प्रकाशित ‘समावेशी मिडिया’।
किताबबारे कुनै एउटा रोचक घटना ?
भनिहालेँ, सानोमा महाभारत वाचक म। पद्यमा पढेर गद्यमा अर्थ लगाउने भए पनि आखिर नौ–दस वर्षकी बच्ची न थिएँ। अभिमन्यू वध र नल–दमयन्तीका दारुण प्रसंग पढ्यो, अर्थ लगायो। सुनिरहेका छिमेकी आन्टीहरू सुँक्कसुँक्क गर्थे। छातीमा भक्कानो फुटे पनि वाचकले त ह्वाँ ह्वाँ रुन भएन। एक्लै भएको बेला ती प्रसंग मनमनै पढ्थेँ र धीत मर्ने गरी रुन्थेँ। तर मैले धीत मर्ने गरी रुन पाइयोस् भनेर ती प्रसंग पढेको हुँदैनथेँ। अब अर्कोपटक पढ्दा ती दुःखद प्रसंग अलि कम दुःखद लाग्लान् र रुन्चे स्वरमा छातीमा भक्कानो राखीराखी पढ्न र अथ्र्याउन नपर्ला भन्ने सोचेर पढ्थेँ। अहिले सम्झेर हाँसो लाग्छ।