सामाजिक सञ्‍जाल कि असामाजिक जञ्‍जाल ?

सामाजिक सञ्‍जाल कि असामाजिक जञ्‍जाल ?

कुरा गरेका १० जनामध्ये आठजना महिलाले परिचित वा अपरिचित व्यक्तिबाट द्विअर्थी तथा अश्लील ठट्यौली, तस्बिर तथा भिडियोहरू आउने गरेको बताए।


यही मंसिर पहिलो साता एउटा भोजको कार्यक्रममा थिएँ। अधिकांश दाजुभाइ खलक र आफन्त उपस्थित थिए। बिहेपछि गाउँमा त्यति नगएकाले पनि म श्रीमान्को गाउँतिरका प्रायशः चिन्दिनँ। सँगै गएकी दाइकी छोरीले धेरैजनासँग परिचय गराई। त्यसै क्रममा एकजनाले छोरीलाई ‘किन मलाई फेसबुकमा ब्लक गरेकी ? ’ भनेर सोधे।

‘छैन, झुक्किएर भयो कि ? ’ उसले हाँसेर उत्तर दिई।

‘ल आजै अनब्लक गर है’, उनले भने।

‘हस्’, छोरी बोली।

‘गरुलाँ त्यसलाई अनब्लक !’ ऊ जानेबित्तिकै छोरीले दाँत किटकिटाई।

‘के भयो र ? ’ म जिज्ञासु भएँ। ‘पछि भन्छु नि है’, सायद ऊ अनिच्छुक देखिई।

गत हप्ताको घमाइलो शनिबार हामी घरमा घाम तापेर बसिरहेका थियौं। भोजमा सँगै भएकी छोरी पनि थिई। बीस वर्षकी ऊ व्यवस्थापनमा स्नातक पढ्दै छे। खुलेर कुरा गर्ने ऊ पढाइका अतिरिक्त खेलकुद, नृत्य लगायतमा पनि चासो राख्छे र सहभागी हुन्छे। मलाई ऊ औसतभन्दा बढी नै चलाख र क्षमतावान् लाग्छ।

‘फ्य्रांक’ शब्दले खासमा के बुझाउँछ, आन्टी ? ’ उसको प्रश्न। उसले शाब्दिक अर्थ नबुझेर त पक्कै सोधेकी होइन भन्ने लागेर मैले उल्टै प्रतिप्रश्न गरेँ, ‘किन र ? ’ उसले भोजको दिन भएको ‘ब्लक अनब्लक’बारे कुरा निकाली। खासमा उसलाई किन ब्लक गरेकी भनेर सोध्ने छिमेकी दाइ रहेछन्। गाउँ एउटै, थर एउटै। तेह्रदिने दाजुभाइ भित्रका। विवाहित, उमेर त्यस्तै ३५ वर्ष। प्रत्यक्ष भेटमा खासै बोल्दैनन् रे। मेसेन्जरमा भने पटकपटक मेसेज पठाउँछन् रे। प्रायशः द्विअर्थी शब्द तथा वाक्यहरूबाट सुरु भएर यौनका कुरा, पूराका पूरा अश्लील भनिने शब्दहरू र कहिलेकाहीँ त नग्न फोटो तथा भिडियो पनि पठाउँछन् रे। कुनै प्रतिक्रिया नदिँदा वा यस्तो नपठाउनुस् भन्दा पनि उनमा कुनै परिवर्तन आएन अनि दिक्क भएर ‘ब्लक’ गरेको होे भनेर छोरीले सुनाई।

‘कोही कोही त्यस्तै खराब हुन्छन्, प्रहरीमा रिपोर्ट गर्नुपर्छ अनि ठीक ठाउँमा आउँछन्’, मेरो ढाडस। कति जनालाई प्रहरीमा रिपोर्ट गर्ने हो र ? कहिलेकाहीँ आफूलाई नभई नहुने सूचनाहरू छुट्छ कि भनेर मात्र हो नत्र यस्ता ‘सोसल साइट’ नै चलाउन छाडिदिन्थेँ। उसले क्याम्पसमा पढाउने सरदेखि गाउँतिरका छिमेकी दाजुभाइ, काकाहरूदेखि मामाका सानोबुवा ठूलोबुवाका छोराहरूसम्मका झन्डै उस्तै लाग्ने हर्कत सुनाई।

सीमा नाघ्ने अश्लील कुराहरू गर्छन् अनि ‘के कुरा गरेको यस्तो’ भन्यो भने ‘तिमी फ्य्रांक छौ भनेर’ रे।

ऊ अलि फ्य्रांक छ रे, त्यसैले सबै कुरा खुलस्त गरेको रे ? ‘सामाजिक सञ्जालमा अश्लील बोल्नु वा मन परोस् कि नपरोस्, यौनका कुरा गर्नु नै फ्य्रांक हुनु हो र ? ’ उसको तर्क। ‘अनि साथीहरू र खासै चिनजान नभएका तर यस्ता सामाजिक सञ्जालमा जोडिएकाहरूका यस्ता हर्कतबारे केही भनिनस् त ? ’ मेरो प्रश्न। ‘त्यस्तालाई त एक दुईपटकलाई चेतावनी दिने हो, फेरिफेरि पनि त्यस्तै गरे भने सीधै ब्लक, अनि टन्टै साफ’, उसको उत्तर।

‘यी आफन्तहरू पो पटकपटक भेट हुन्छन्, कहिलेकाहीँ कामै पर्छ, मन नलागे पनि बोल्नुपर्छ, उनीहरूकहाँ जानुपर्छ, केही नभएझैं नाटक गर्नुपर्छ र पो तनाव हुन्छ’, उसले थपी।

म आफूले पनि यस्तो धेरै झेलेकी छु। केही समयअघि एउटा सेमिनारमा मेरो कार्यपत्रको प्रशंसा गर्दै परिचय गरेका त्रिभुवन विश्वविद्यालयको कुनै आंगिक क्याम्पसका लेक्चररले यौनाग्रहपूर्ण मेसेज पठाएर हैरान भएपछि मैले ब्लक गरेको धेरैअघि लेखेकी थिएँ, प्रकाशित पनि भएको थियो। त्यस्तै बलात्कारसँग जोडिएका विषयमा एकाध लेख छापिएपछि ‘तपाईं त यौनमा उदार हुनुहुँदो रहेछ है’ भन्दै यौन प्रस्ताव पठाउनेहरू अहिले पनि बेलाबखतमा भेट हुन्छन्। मेसेन्जरमार्फत त्यस्तो प्रस्ताव पठाउनेहरू प्रत्यक्ष भेट हुँदा भने खासै केही नभए जस्तै गरी खुब भलादमी भएझैं व्यवहार गर्छन्। तीन वर्षअघि सुर्खेतमा परियोजना कार्यालय रहेको गैरसरकारी संस्थामा काम गर्दाको अनुभव पनि त्यस्तै छ। सुर्खेतमा गैससहरू प्रशस्त रहेका र एउटै कार्यक्षेत्रमा विविध परियोजना सञ्चालन भएकाले अन्य गैससका साथीहरूसँग पनि भेट भइरहन्थ्यो। दिउँसो कार्यक्रममा राम्रो बोल्ने शिष्ट देखिने व्यक्तिहरूमध्ये केहीले रात छिप्पिँदै गएपछि पठाउने मेसेजहरू साँच्चै दिक्कलाग्दा हुन्थे। प्रत्यक्ष भेट हुँदा अनुहार रातो पारेर बोल्नेहरू पनि भाइबर, ट्विटर (डीएम) वा म्यासेन्जर जस्ता माध्यमबाट कुरा गर्दा श्लीलताको सीमा पटकपटक अतिक्रमण गर्थे। कतिले त भिडियो कल गरौं भनेर हैरान पार्ने। त्यतिखेरको मेरो अनुभवले भिडियो कलको अन्तर्यमा ‘बिस्तारै आफू पनि नांगिने र अर्कोलाई नांगिन कर गर्ने’ पो रहेछ भन्ने बुझायो। अफिसका अन्य महिला साथीहरू पनि यस्तो प्रवृत्तिबाट आजित भएको सुनाउँथे, त्यतिखेर।

त्यसो त यस्तो हर्कत गर्ने पुरुषहरू मात्र छैनन्। झन्डै एक वर्षअघि बुटवलतिर घर हो र तपाईंको लेख पढ्ने गर्छु भन्ने एक महिलाले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन्। तस्बिरमा पहिरन हेर्दा आधुनिक देखिने उनको उमेर अन्दाजी तीस–पैंतीस वर्षको जस्तो लाग्थ्यो। साथी बन्ने उनको प्रस्ताव स्वीकारेँ। त्यसको भोलिपल्टै उनीबाट मेरो श्रीमान्लाई पनि फेसबुकमा मित्रता प्रस्ताव आएछ। त्यसको केही दिनमा उसले ती महिलाले पठाएका मेसेज देखायो, जसमा अश्लील भिडियोहरूसमेत थिए। सँगै लेखिएको थियो, ‘सरी अर्कैलाई पठाउन खोजेको, हजुरलाई परेछ।’ यसबारे केही बेर छलफल गर्‍यौं। भनिएजस्तै झुक्किएर आएको मेसेज होला कि, नियतवश पठाएको होला भन्ने विषयमा। सल्लाहमै प्रतिउत्तर पठाइयो, ‘ठीकै छ। अब अर्को पटकबाट राम्रोसँग चेक गरेर मात्र पठाउनुहोला।’ ‘ठीकै मात्र, आखिर यस्तो कसलाई पो मन पर्दैन र ? ’ जिब्रो निकालेको इमोजीसहितको मेसेज तत्कालै आयो। ‘फेक आईडी’ रहेछ कि भनेर फेसबुक प्रोफाइल सरसर्ती हेर्‍यौं। केही वर्ष अघिबाट टाइमलाइनमा अपलोड गरिएका तस्बिरहरू उनकै थिए, फरक फरक समयमा लिइएका जस्ता। यसले ‘फेक ह्यान्डल’ नहुन सक्ने संकेत गर्‍यो। मलाई पनि कहिलेकाहीँ मेसेज आउँथ्यो, खासगरी पत्रपत्रिकामा लेख प्रकाशित भएपछि त्यसको प्रतिक्रिया। तर उसलाई भने अझै पनि द्विअर्थी र अश्लील मेसेज पटकपटक आइरहन्छन्।

यस लेखको विषय यौनजस्तो देखिए पनि उठाउन खोजेको विषय भने अधिकांश हामीले चल्तीका सामाजिक सञ्जालहरूको प्रयोग कसरी गरिरहेका छौं भन्ने हो। सामाजिक सञ्जालहरू कतिपय व्यक्तिका कुण्ठा पोख्ने माध्यम बनेका छन्। यसै लेख लेख्ने सिलसिलामा मैले दस महिला र दस पुरुष गरी बीस जनासँग अनौपचारिक कुराकानी गरेकी थिएँ। कुरा गरेकामध्ये आठजना महिलाले परिचित वा अपरिचित व्यक्तिबाट द्विअर्थी तथा अश्लील ठट्यौली, तस्बिर तथा भिडियोहरू आउने गरेको बताए। तीमध्ये तीनजनाले त्यस्ता सामग्री चिनजानका घनिष्ठ साथीहरूलाई पठाउने गरेको पनि बताए भने बाँकीले त्यस्ता सन्देश नहेरीकन डिलिट गर्ने गरेको सुनाए। कुराकानी गरेका पुरुषहरू भने सबैजसोले त्यस्ता सन्देश पठाए पनि मिल्ने पुरुष साथीहरूलाई नै पठाउने गरेको र अपरिचित वा महिलालाई भने नपठाएको बताएका थिए। महिला वा पुरुष जो भए पनि अश्लील सामग्री सामाजिक सञ्जालमार्फत आदानप्रदान हुने गरेको थाहा हुन्छ। यसको भुक्तभोगी कतिपय हामी आफैं छौं। अनि ती साथीहरूसँग प्रत्यक्ष भेट हुँदा पनि यस्ता कुरा गर्नुहुन्छ (? ) भनेर उनीहरूसँग सोधेकी थिएँ।

प्रत्यक्ष भेटमा त त्यस्ता कुरा नहुने उनीहरूको जवाफ थियो। हाम्रो समाजमा अधिकांशले यस्ता सञ्जाललाई कुण्ठा पोख्ने माध्यम बनाएको देखिन्छ। यसै प्रसंगमा छोरीले सुनाई, ‘विद्यालयमा प्रजनन प्रणाली पढाउनु पर्दा आफैं पढ भनेर तर्किने सरले पनि मेसेन्जरमा सेक्सुअल कन्टेन्ट पठाउँछन्। यो इन्टरनेटले कस्तो जोस बढाएको हो कुन्नि ? ’ विषय यौनजन्य सामग्रीको मात्र होइन, अन्य घृणा र द्वेष फैलाउने सामग्रीहरूको पनि हो। राजनीतिक प्रतिशोध वा अन्य त्यस्तै नकारात्मक प्रभाव बढाउन पनि यस्ता सञ्जालको प्रयोग भएको देखिन्छ। नकारात्मक भावना बढाउने सन्देशहरूको व्यापकीकरणमा फेसबुक तथा ट्विटरको बढी दुरुपयोग भएका छन्। त्यसो त म सामाजिक सञ्जाल ट्विटरमा सक्रिय छैन। तर केहीलाई फलो गरेको छु र ट्विटहरू हेर्ने गर्छु। यस अर्थमा म ट्विटरको निष्क्रिय सदस्य हुँ। ट्विटरका अधिकांश नेपाली प्रयोगकर्तामा एकअर्कामा घोचपेच तथा हिलो छ्याप्ने प्रवृत्ति देखिन्छ। फेक ह्यान्डल भएका मात्र होइन सार्वजनिक क्षेत्रमा परिचित केही व्यक्तिका ट्विटहरू पनि असहिष्णु, गुटपरस्त र सामान्य मर्यादासम्म कायम नराखेका देखिन्छन्। त्यसो त कतिपयले ट्विटहरू व्यक्तिगत हुन् भने पनि सामाजिक सञ्जालमा राखेपछि त्यो सार्वजनिक विषय बन्छ र त्यसको सामाजिक प्रभावबारे ट्विट गर्ने व्यक्ति होसियार हुनैपर्छ, यो सचेत नागरिक दायित्व हुनुपर्ने हो। त्यसो त स्वस्थ समाजमा बहस स्वाभाविक हो। अझ लोकतान्त्रिक देश र समयको त झन् आवरणमा देखिने र महसुस गर्न सकिने चरित्र अभिव्यक्ति स्वतन्त्रता नै हो। तर अभिव्यक्ति स्वतन्त्रताको अधिकारले द्वेष तथा घृणा फैलाउने अभिव्यक्तिको भने अपेक्षा गर्दैन। कुनै समयमा ‘फरक विचार राख्ने तथा तार्किक विरोध गर्नेलाई घृणा गर’ भन्नेहरू पनि ‘राजनीतिमा स्थायी शत्रु हुँदैनन्’ भनेर एउटै थालमा खान थाले भने सामाजिक सञ्जालमा एकअर्काप्रति जिहाद छेड्ने प्रवृत्ति साँच्चै अनौठो लाग्छ। ट्विटरमा पोखिएको आक्रोशहरू देख्दा यस्तो लाग्छ, नेपाली समाजभित्र घृणाको ज्वालामुखी तयार हुँदैछ जुन मौका पाउनेबित्तिकै विस्फोट भइहाल्छ।

अन्य हरेक कुराको जस्तै सामाजिक सञ्जालका पनि सकारात्मक तथा नकारात्मक पक्षहरू हुनु स्वाभाविक हो। यसलाई कसरी उपयोग गर्ने भन्ने कुरा प्रयोगकर्ताको विवेकमा भर पर्ने कुरा हो। स्वच्छ बहस र सूचनामूलक जानकारीका लागि यी सञ्जालहरू गतिला मञ्च पनि हुन्। रचनात्मक कामका लागि गज्जबले उपयोग गर्न सकिने यस्ता मञ्चहरू पनि हामीले दुर्गन्धित बनाइरहेका छौं। यसमा हाम्रो चेतनास्तर र सामाजिक मनोविज्ञान दुवै जिम्मेवार छन्। भनिन्छ, सामाजिक सञ्जालहरू सादा क्यान्भास हुन्; जहाँ तपाईं चाहेजस्तो रङ भर्न सक्नुहुन्छ। र त्यो क्यानभासले तपाईंको मनोवृत्तिलाई, तपाईंको सक्कली अनुहारलाई प्रतिविम्बित गर्छ। हामीले उपयोग गरेका सामाजिक सञ्जालका सामग्रीहरू सरसर्ती केलाउने हो भने हाम्रो मनोविज्ञान आत्मकेन्द्रित, परपीडक र सधैं आपसमा सिंगौरी खेल्न तम्तयार जस्तो लाग्छ। नाम सामाजिक सञ्जाल भनिए पनि हाम्रो उपयोगले यो हाम्रो असामाजिक चरित्र प्रदर्शन गर्ने मञ्चजस्तो बनेको छ। व्यक्तिका प्रवृत्ति र व्यवहारहरू उनीहरू बाँचेका समयका भरपर्दा विम्ब हुन्। भर्चुअल पर्दामा अभिव्यक्त भावनाहरू व्यक्तिका ठोस चरित्रका प्रमाण हुन्।

राजनीतिक परिवर्तनसँगै राजनीतिकर्मी र आममानिसहरू सायद संक्रमणकालीन धङ्धङीमा अल्झिरहेका छन्। सरकार तथा प्रहरी प्रशासनमा परम्परागत शासकको मनोवृत्ति हावी हुनु तथा आममान्छेमा बँधुवा भैंसी बन्धनमुक्त हुँदा देखाउने गतिविधिजस्तो मनोवृत्ति यो परिदृश्यको सिर्जना स्रोत हो। यो मनोवृत्तिले शासक वा जनतालाई अधिकारकेन्द्रित तर दायित्वविमुख बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.