पढेलेखेकै पनि पछौटे

पढेलेखेकै पनि पछौटे

आज पनि छोरी पाउनु हुँदैन, गर्भपतन गरौं भन्ने ताँती एकातिर छ। लिंग पहिचानपछि गर्भपतन गराउनु अपराध हो। तर आज पनि धेरैले गरिराखेका छन्।


मेरो जन्मथलो महोत्तरी जिल्लाको औरही नैनीगौरी हो। त्यहीँ हुर्किएँ। सात कक्षामा पढ्दा आमा बिरामी भएपछि हामी काठमाडौं आयौं। मधेसकी केटी भनेर यहाँ कुनै पनि विद्यालयले मलाई भर्ना लिन मानेका थिएनन्। त्यतिखेर खै किन त्यसो गरे यहाँका विद्यालयले, मैले बुझ्न सकिनँ।

भान्जीले पढ्न सकिन भने फर्काएर लैजान्छु भन्ने सर्तमा मामाले डिल्लीबजारस्थित पद्मकन्या स्कुलमा भर्ना गरिदिनुभयो। विद्यालयमा म सधैं पहिलो भएँ। एसएलसीमा पनि छात्रामध्येबाट उत्कृष्ट अंक ल्याएर स्वर्ण पदक पाएँ। विद्यालयले दिने कमला पुरस्कार पनि मैले हात पारेँ।

अमृत साइन्स कलेजबाट आईएस्सी गरेँ। एमबीबीएसका लागि छनोट भएर कलकत्ता पढ्न गएँ। उता एमबीबीएस सकिनेबित्तिकै यता आमाबुवाले केटा खोजेर राखिसक्नुभएको रहेछ। मैले विवाहपूर्व उहाँलाई कहिल्यै देखेको थिइनँ। कुराकानी पनि भएको थिएन। छोरीको विवाह समयमै गरिदिनुपर्छ भन्ने आमाको इच्छा थियो। त्यसैले पढाइ सकिएर नेपाल आएको दसौं दिनमै बुवाआमाले मेरो कन्यादान गरिदिनुभयो।

कलकत्तामा पढ्दा मेरा संगतका साथीहरू बंगाली थिए। उनीहरूको सामान्य जीवन तर उच्च विचार थियो। प्राध्यापकहरू पनि हेर्दा निकै साधारण तर ज्ञानका भण्डार थिए। त्यहाँ पढ्ने केहीले पढ्दापढ्दै एकआपसमा विवाह गरेका पनि थिए। तर हामीमा कहिल्यै त्यस्तो सोच आएन। त्यही कलेजमा नेपालबाट हामी चारजना गएका थियौं, दुईजना केटा र दुई केटी। हामी पढुन्जेल कहिल्यै त्यस्तो कुरा मनमा खेलेन। पढाइको चापले त्यस्ता विषयमा सोच्ने फुर्सद पनि भएन। मेरो श्रीमान् बालरोग विशेषज्ञ। उहाँले पब्लिक हेल्थमा पनि स्नातकोत्तर गर्नुभएको छ। त्यसैले डाक्टरलाई डाक्टर नै चाहियो भनेर बुवाआमाले खोजेर उहाँसँग विवाह गरिदिनुभएको थियो।

विवाहको करिब एक वर्षपछि म गर्भवती भएँ। गर्भमा रहेको बच्चा छोरा हो या छोरी। भ्रूणको लिंग पहिचान गर्ने सोच हामीमा कहिल्यै आएन। त्यति बेला मैले एमबीबीएस मात्र गरेको थिएँ। पढ्न अझै बाँकी थियो। ३२ हप्ताको गर्भवती हुँदा म बंगलादेशमा डिप्लोमा इन गाइनेकोलोजी एन्ड अब्सटेट्रिक्स (डीजीओ) गर्नका लागि छानिएँ। गर्भवती नभइदिएको भए पनि पोस्ट ग्य्राजुयसन गर्न गाह्रो थियो। तर गर्भवती हुँदा पनि छानिएँ। यस्तो ठूलो अवसर गुमाउन चाहिनँ। म पढ्न ढाका गएँ।

सुत्केरी हुनुभन्दा सात÷आठ दिनअगाडि मात्र काठमाडौं आएर बच्चा जन्माएँ। छोरी जन्मिएको करिब १५÷१६ दिनमै आमा र दिदीहरूलाई जिम्मा लगाएर फेरि पढ्न गएँ। मसँग पढ्न जाने मेरा साथीहरू डा. मीरा ओझा र डा. विमला मल्लले छोरीको नाम करिश्मा राखिदिए। हुन त अहिले सबैले छोरीको नाम हिरोइनको नाममा राख्यौ भन्छन् तर त्यसो होइन। गर्भावस्थामा पढ्न गई, आएर बच्चा पाई, पुनः पढेर पास गरी फर्केकाले तिमीले त जादु नै गर्‍यौ भन्दै उनीहरूले छोरीको नाम करिश्मा राखिदिएका थिए।

त्यसो गर्नु मेरा लागि ठूलो चुनौती थियो। तर नगरी उपाय पनि थिएन। आफ्नो सामाजिक र आर्थिक अवस्था पनि सुधार्नुपर्ने थियो। बच्चाकै भविष्यका लागि पनि त्यो जोखिम गाह्रोसँग उठाइयो। तर विश्वासको कारणले त्यसो गरियो। मलाई हेर्ने मान्छेहरूले मैलेभन्दा राम्रोसँग मेरी छोरी हुर्काउनुहुन्छ भन्ने लागेरै छोरी छाडेर गएँ।

करिअर हेर्ने कि परिवार ? धेरै महिलालाई जीवनमा यो सन्तुलन मिलाउन गाह्रो पर्छ। म त आफूलाई भाग्यमानी ठान्छु। मेरो परिवारले मलाई यति धेरै सहयोग गर्‍यो।

एक वर्षपछि फर्केर आउँदा उसले मलाई चिन्न निकै गाह्रो पर्‍यो। त्यसपछि मेरो पोस्टिङ भोजपुरमा भयोे। बच्चालाई पनि सँगै लिएर गयौं। बच्चा अलि कम बोल्ने स्वभावको थियो। त्यसैले पनि अर्को एउटा बच्चा पाउनुपर्छ भन्ने लाग्यो। त्यसपछि तीन वर्षको अन्तरालमा अर्को छोरी पनि पाएँ। परिवार पूर्ण भएजस्तो लाग्यो। दुईजना एकअर्काका लागि साथी भए। उनीहरू एकआपसमा बोल्ने, चल्ने, खेल्ने गर्न थाले। दोस्रो पालामा पनि छोरा हो या छोरी हेर्ने भन्ने दिमागमै आएन। जे भए पनि दुई सन्तानको चाह थियो, दुइटा पाइयो। त्यसैमा रमाइयो।

भाइटीकामा काठमाडौंमै रहँदा मेरी दिदीका छोराहरू मात्र भएकाले छोरीहरूले उनीहरूसँगै टीका लगाउँथे। भोजपुरपछि मेरो पोस्टिङ पोखरामा भयो। त्यहाँको क्वाटरमा बस्दा अरू क्वाटरहरूमा भाइटीका हुन्थ्यो। अनि मेरा दुई छोरीहरूले पनि चित्त दुखाउलान् भनेर म आफैं टीका लगाइदिन्थेँ। तिमीहरूका आमा पनि मै हुँ, दाजुभाइ पनि मै हुँ भन्थेँ।

दुवै छोरीको पालामा डा. भोला रिजाललाई देखाएँ। उहाँ शिक्षण अस्पताल महाराजगन्जमा हुनुहुन्थ्यो। त्यति बेला मेरो श्रीमान्को कान्तिमा पोस्टिङ थियो। हामी त्यहीँको क्वाटरमा बस्थ्यौं। अलिकति त आफैंलाई थाहा भइहाल्थ्यो। तैपनि शल्यक्रिया गर्नुपर्‍यो भने के गर्ने भनेर पारिवारिक चिनजानकै आधारमा डा. रिजाललाई देखाइयो। जेठी छोरीको पालामा शल्यक्रिया गर्न पाए चाँडै हुन्थ्यो, अनि म पढ्न जान पाउँथेँ भन्ने लाग्थ्यो। म होची पनि छु, मलाई सिजरियन गरिदिनुस् भनेको थिएँ। तर डा. रिजालले मान्नुभएन। दुवै बच्चाको पालामा नर्मल डेलिभरी भयो। दोस्रो पटकमा म भोजपुरमा थिएँ। काठमाडौं आएर एक दुईपटक उहाँलाई नै देखाएँ, अरू त सबै आफैंले गरेँ। पाउने बेलामा यहीँ आएर पाएँ। दुवै छोरी शिक्षण अस्पतालमै पाएँ।

घर र माइतीतिरका मान्छेले मात्र होइन, मेरी आमाले पनि एउटा छोरा पाउनुपर्छ भन्नुहुन्थ्यो। मेरी आमाले शिक्षामा सधैं जोड दिनुभयो। तर पनि एउटा छोरा चाहिन्छ भन्ने उहाँलाई लाग्थ्यो। तर मैले नै टेरिनँ। मेरो श्रीमान्ले पनि छोरा चाहिन्छ भनेर कहिल्यै भन्नुभएन। त्यस्तो भनेको भए त खटपट परिहाल्थ्यो होला नि !

हामीले छोरी र छोरामा कहिल्यै केही फरक गरेनौं। छोरीलाई दिनुपर्ने शिक्षा र हेरचाहमा कमी हुन दिएनौं। आफ्नो हैसियतअनुसारको उत्कृष्ट सुविधा र शिक्षा दिएकै हौं। फुर्सद नै नहुँदा पनि उनीहरूलाई स्कुल ल्याउने–पुर्‍याउने आफैं गथ्र्यौं। उनीहरूले पनि त्यसैअनुरूप मेहनत गर्दै गए। त्यसैले त आज ठूली छोरी करिश्मा र सानी चन्द्रिमा दुवै डाक्टर छन्। भोजपुरबाट पोखरा गएँ। त्यहाँ पाँच वर्ष बसेर काम गरेपछि धरान पोस्टिङ भयो। त्यति बेला तत्कालीन राजाको सवारी जहाँजहाँ हुन्थ्यो, हाम्रो सरुवा त्यहीँ हुन्थ्यो। धरानमा कोही मान्छे नभेटिएकाले त्यहाँ स्त्रीरोग विभाग स्थापना गर्न स्वास्थ्य मन्त्रालयले मलाई नै खटायो।

सासूससुरा र हामी प्रायः सँगै हुन्थ्यौं। बित्ने बेलामा पनि हामी सँगै थियौं। तर उहाँहरूको पनि सायद मनमा त थियो होला कि ? तर मुखले चाहिँ कहिल्यै पनि नाति चाहिन्छ भनेर भन्नुभएन। यिनीहरू पढेलखेको डाक्टर मान्छे भनेर पनि होला। मेरा तीनजना जेठाजु–जेठानी हुनुहुन्छ। हामी चार दिदीबहिनी र चार दाजुभाइ छौं। उहाँहरूबाट पनि कहिल्यै यसबारेमा केही सुनिएन।

एक्लै जन्मियो, एक्लै मरिन्छ। श्रीमान् श्रीमती पनि सँगै भइन्न। एउटा अगाडि अर्को पछाडि त भइहालिन्छ नि। त्यसैले विवाहपछि छोरीहरूले छाडेर जान्छन् कि भन्ने कहिल्यै मनमा आएन। नेपाली संस्कारमा छोराहरू सँगै बस्ने चलन छ। सके पनि नसके पनि। हेपे पनि गर्नैपर्छ भन्ने छ। तर आफू डाक्टर भएकाले केही परे अस्पतालमा आउँछु भन्ने लाग्छ। तर देशमा एउटा राम्रो ओल्ड होम भइदिए हुन्थ्यो भन्ने कहिलेकाहीँ लाग्छ। दुःख पाउने वृद्धवृद्धालाई त्यहाँ जान मिल्थ्यो नि। नत्र मान्छेको पुर्पुरोमा के लेखेको छ, त्यही हुने हो। बाँचुँन्जेल राम्रो स्वास्थ्य होस्। त्यति भए पुग्छ।

दुइटै छोरी मात्र होइन, दुवै ज्वाइँ पनि डाक्टर। ठूली छोरीले इमर्जेन्सी मेडिसिनमा मास्टर गरेकी छ। उसको परिवार अस्ट्रेलियामा छ। कति काम गरिरहेको, काम छाडेर यतै आउनुस् भनेर ठूलीले भन्छे। तर त्यसो भन्दैमा कामै छाडेर जान पनि मिलेन। सानी छोरी पनि स्त्रीरोग विशेषज्ञ नै हो। छुट्टी भएपछि दौडिएर आमाबुवाकहाँ आउँछे। हामी दुईमध्ये एक जना कतै गए पनि दौडिएर आउँछे। उनीहरूले गर्नुपर्ने हेरविचार त जहाँ बसे पनि गरिराखेकै छन्। तर सकुन्जेल हामी आफैं गर्छौं भन्छौं।

मैले काम गर्दाको क्रममा छोरा चाहियो भन्दै भ्रूण हत्या गर्न आउने धेरै थिए। मैले आफ्नै उदाहरण दिँदा उनीहरूले छोरी नै पाएका छन्। हालै मेडिकल कलेजमा एकजना महिलाले आएर तपाईंले जन्माइदिएको छोरी हो, यसलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिदिनु पर्‍योसमेत भनिन्। उनकी छोरीले कुमेड पास गरिसकेकी रहिछन्। यस्ता धेरैले मेरै परामर्शका कारण छोरी पाएर सुखी जीवन बिताइरहेका छन्।

महिलालाई छोरै पाउनुपर्छ भन्ने समाजको दबाब हिजो पनि थियो र आज पनि छ। अशिक्षितमा त परै जाओस्, पढेलेखेका र बुझ्नेहरूमा पनि यस्तो सोच अझै भेटिन्छ। पढाइन्जेल हुर्काउन्जेल छोराछोरीबीच कुनै भेदभाव महसुस हुँदैन। तर विवाह गर्दा सबै भार छोरीकै परिवारलाई पर्छ। यस्तो सामाजिक परिवेशले गर्दा पनि विभेदको कुरा आएको हो। त्यसैले हामीले यो जन्माऊ यो नजन्माऊ भनेर सम्झाउन गाह्रो छ। छोराछोरी बराबर र उनीहरूको जिम्मेवारी दुवै बाबुआमाप्रति हुन्छ भन्ने बोध गराउन सके यस्तो विभेद हट्दै जान्छ जस्तो लाग्छ।

आजसम्म आइपुग्दा अवस्था अलि मिश्रित छ। आज पनि छोरी पाउनु हुँदैन, गर्भपतन गरौं भन्ने ताँती एकातिर छ। लिंग पहिचानपछि गर्भपतन गराउनु अपराध हो। तर आज पनि धेरैले गरिराखेका छन्। यस्तालाई कारबाही गर्न सकिएको छैन।

अर्कोतर्फ डिभोर्स केसहरू पनि बढ्दै गएको छ। कतिपय महिलाले यसलाई पेसाझैं बनाएका छन्। विवाह गरेर डिभोर्स गर्दै सम्पत्ति हुत्याउने र अर्कोसँग विवाह गर्ने चलन बढेको छ। त्यसैले यी दुवैलाई सन्तुलित गर्दै कसरी अगाडि बढ्ने आजको चुनौती हो।

महिलालाई नबुझेर आजको मितिसम्म समाजले उनीहरूलाई हेपिरहेको छ। महिला घर, समाज, राष्ट्र वा विश्वको विकासको केन्द्र हुन्। जहिले जहिले विश्वमा आर्थिक वा राजनीतिक संकट पर्छ, महिलाकै योजनाले त्यो समाधान हुन्छ। मानिसले बुझेर पनि बुझ पचाइरहेका छन्। खालि शारीरिक बलकै भरमा मूल्यांकन गरिरहेका छन्। आफ्नो कर्मभूमिमा बसेर उनीहरूले के गरिरहेका छन्, राज्यले त्यसको पहिचान गर्नुपर्छ।

एउटी महिला शिक्षित भए घर, समाज, देश र विश्वकै विकास हुन्छ। एक जना राष्ट्रपति भएर देश हाँकिन्छ भन्ने होइन नि। यहाँ गर्न सक्ने महिला धेरै छन्। देशमा कुनै निकाय गठन भए पुरुषको लडाइँ पर्छ। त्यो लडाइँमा महिला जान पनि चाहँदैनन्। एउटा सिस्टमबाट भयो भने पो महिलाले पनि उत्तिकै अवसर पाउँछन्।

(प्रसूति एवं स्त्रीरोग विशेषज्ञ डा. कार्कीसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित। डा. कार्की काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका प्राचार्य पनि हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.