उत्साहजनक उपस्थिति

उत्साहजनक उपस्थिति

पहिलो कृति नै यति गहकिलो भएपछि लेखकका लागि भने यो चुनौतीको विषय जरुर बनेको छ।


‘माया त जसलाई पनि गर्न सकिहालिन्छ नि। म मेरो ड्याडीलाई माया गर्छु, तर मन पराउँदिनँ। कुनै पनि सम्बन्ध दिगो हुन त मन पराइराख्नुपर्छ। मन पराउन छोडेपछि सम्बन्धहरू बाध्यताका, नाम मात्रका बन्छन्। मन पर्नु वा पराउनु चानचुने कुरा हैन के, अनुराधा।’ नयनताराले यसो भनिरहँदा साँच्चै नै जीवनमा विभिन्न कालखण्डमा जोडिएका सम्बन्धहरूको अर्थ खोज्न कर लाग्छ। के ती सम्बन्ध साँच्चै नै आफूले चाहेर जोडिएका थिए ? के ती सम्बन्धको कुनै अर्थ थियो त ? के ती सम्बन्धले आफूले चाहेको आफ्नो जीवनको अर्थ सिकाएका थिए त ? आदि इत्यादि।

माथिको हरफले नै हामीले गर्ने, अझभन्दा किशोरावस्थामा प्रवेश गर्दै गर्दा गरिने ‘माया’लाई दर्शाएको भान हुन्छ। किशोरावस्थामा प्रवेश गर्दा, हामी चाहे त्यो अभिमन्यु होस् चाहे लाइट बाल्ने केटो, जुनसुकै व्यक्तिलाई पनि सजिलै मन पराउन थाल्छौं। सजिलै उसको प्रेममा पर्छाैं। उसको मायालाई नै संसार हो भन्ने ठान्छौं। तर, यथार्थको धरातल फरक भइदिन्छ। लाइट बाल्ने केटो चोर भएर निस्किन्छ भने अभिमन्यु अनुराधाको स्वतन्त्रता हनन् गर्ने एउटा लोग्ने मान्छे भएर। ती सबै कुराले पात्रलाई मात्रै नभएर पाठकको पनि मनमा हलचल ल्याइदिन्छ।

कथाकार दुर्गा कार्कीले आफ्नो पहिलो कथा संग्रह ‘कुमारी प्रश्नहरू’ मार्फत समाजमा हरेक दिन आइपर्ने यस्तै समसामयिक यथार्थलाई आफ्नो कथा संग्रहमार्फत ल्याएकी छिन्। हरेक कथा पढ्दै जाँदा यो कथालाई त उपन्यास नै बनाएको भए पनि हुन्थ्यो जस्तो लाग्छ। कारण, ती कथामा कथाका पात्रले बोकेका यथार्थ, इमानदारी र ओजपूर्ण कुराहरू नै हुन् जसले थप कथानक निर्माणको चरित्र मनभरि निर्माण गरिदिन्छ।

सामान्य लाग्ने तर गहकिला अन्तर्यका छन् संग्रहका कथा। पढ्दै जाँदा विरक्ति नलाग्ने। बरु, त्यही पात्र मै पो हुँ कि ? लेखकलाई मेरो बारेमा कसरी थाहा भयो भन्दै टक्क अडिन मन लाग्ने। यही नै त हो लेखकको शक्ति, जो लेख्न मात्र होइन पाठकको मस्तिष्क चियाउन सक्ने गरी प्रस्तुत हुने सामथ्र्य राख्छन्। यी कथा पढ्दा आफ्नै विगत फर्केर, आफ्नै बालापन फर्केर मूच्र्छा परेर हाँस्न र कतै आँखाबाट खस्न ठिक्क परेका मोती दानालाई पन्छ्याउनका लागि भित्ता र सिलिङ चहार्नुपर्ने हुन्छ। दुर्गाको लेखनको शक्ति यहीँनिर छ।

कथाहरूमा नजानिँदो पाराबाट महत्वपूर्ण विषय उठान गरिएको छ। र, त्यसको अन्त्य पनि मीठो छ। कथा संग्रहको दसौं कथा ‘रगत’को कुरा गरौं। यो आफैंमा एउटा सशक्त कथा हो। यसले मानिसले महिलाको कुमारीत्वलाई लिएर गर्ने सबालदेखि महिनावारीको अवस्थालाई चित्रित गरेको छ। यस कथाकी पात्र शर्मिला महिनावारी भएको नाटक गर्दा र उसको लोग्नेसँगको पहिलो सहवासको समयमा भएको साँच्चैको महिनावारीको घटनाले साँच्चै नै हाम्रो समाज र समाजका ती पात्रहरूको चरित्रलाई वर्णन गरेको छ।

त्यस्तै, पाँच सेकेन्ड उत्तिकै सशक्त कथा हो। जसले किशोरावस्थाको प्रेमलाई दर्शाएको छ। किशोरावस्थाको प्रेम, जसले सही र गलत छुट्ट्याउन अन्दाज दिँदैन। यो बेलाले परिवारबाट स्वतन्त्रता र परिवारभन्दा बाहिर तेस्रो व्यक्तिको सामीप्य खोज्छ। आमाबुवाको कुराभन्दा प्रेमीप्रेमिकाको कुराको मूल्य बढी हुन्छ। जसले प्रेममा हरेक कुरा सत्य र सही हुन्छन् भन्ने मात्रै महसुस गर्छ। आँखा चिम्लेर गरिने प्रेमको नतिजा भोलि के हुन्छ भन्ने समेत हेक्का राख्दैन। अनि आफ्नो अमूल्य जीवनलाई सिद्ध पोखरीमा समाहित गर्न लालायित हुन्छ। पाँच सेकेन्डमा पात्रले आफ्नो प्रेमीलाई चिठी लेखिरहँदा लाग्छ, अब उसले साँच्चै नै आत्महत्या गर्छे। अनि, आफ्नो जीवन उसकै नाममा सधैँका लागि समर्पित गरिदिन्छे।

कथामा पात्रहरू प्रेममा परेका छन्। धोका खाएका छन्। जीवनबाट हारेका छन्। र, यही नै अहिलेको समाजको यथार्थको एउटा पाटो पनि हो। त्यो पनि बाल्यकाल पार गरेर किशोरावस्थामा प्रवेश गरेका नवयुवाहरूको।

हो ‘कुमारी प्रश्नहरू’ कथासंग्रहको ‘कुमारी प्रश्नहरू’ शीर्षकको कथामा भनिएजस्तै प्रेममा परेपछि मान्छे अर्कै हुँदो रहेछ। ससानो कुरामा पनि खुसी हुनुपर्ने, अनि छिनभर मै दुःखी पनि। स्थिर भएर बस्न, कुनै काम गर्न नसकिने कल्पनामा डुबिरहने। तर, यी त कथाका पात्र मात्रै हुन् यो त एउटा कथा मात्रै हो। तर, कथाले सिंगो जीवन र जगत् बोकेको छ। यो एउटा कथा मात्रै होइन। यो लेखकको कल्पना शक्ति मात्रै होइन। यो त यथार्थ चित्रण हो। समाजको यथार्थलाई जस्ताको त्यस्तै टपक्क टिपेर शब्दको माला बनाउने शिल्प सायदै मान्छेमा हुन्छ। तर, त्यही काम लेखक दुर्गा कार्कीले गरेकी छन् आफ्नो पहिलो कथा संग्रह कुमारी प्रश्नहरूमार्फत।

कथामा किशोरावस्थामा आउने उतारचढाव र प्रेमलाई मात्रै होइन एउटा सन्तानलाई आमाबुबाले गर्ने प्रेमलाई समेत उत्तिकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ। कथा ‘साथे’मा पार्वती एक आमा हो। उसको सन्तानप्रतिको प्रेम पाठकलाई भुतुक्कै बनाउने खालको छ। एउटा सन्तानका लागि आमा बुवाले के सम्म गर्छन् भन्ने कुराको उदाहरण हो यो कथा। घर छोडेर पढ्नका लागि आफ्नो सन्तान हिँड्दा आमाबुबाले भोग्नु परेको कहरलाई मिठो शैलीमा प्रस्तुत गरिएको छ। त्यस्तै यही कथाले अर्को विषयवस्तु पनि उठाएको छ। जसमा सहरको कोलाहल युक्त वातावरणमा एक्लो मानिसको जीवन कस्तो हुन्छ ? ऊ एक्लोपन हटाउन के गर्छ? छोराको खुसीको लागि गाउँ छोडेर सहर पसेको ६५ बर्से वृद्ध त्यही छोरालाई दुःख नहोस् भनेर गाउँ फर्किन्छ। उमेरले बूढो हुँदै जाँदा गाँजेको एक्लोपनका कारण करिब ४० बर्से कमलालाई बाँकी जीवनको साथे बनाउँछ।

कथा पढ्दै जाँदा त्यसले दिने भावलाई मज्जाले दृश्यमा कल्पना गर्न सकिन्छ। अझ ‘सँघार’ शीर्षकको कथा पढिसक्दा चलचित्र हेरेर हलबाहिर निस्किँदा जसरी चलचित्रको दृश्य एकपछि अर्को गर्दै आँखामा आउँछ त्यसरी नै यो अन्तिम कथा पढिसक्दा कथाका पात्रहरूको मात्रै नभएर सम्पूर्ण कथा नै चलचित्र जस्तो भएर आँखा वरिपरि नाचिरहन्छ।

कथाहरू औसतभन्दा माथिल्ला छन्। र, ती विषयले हरेक व्यक्ति त्यसमा पनि किशोर किशोरीलाई आफूलाई चिन्न झकझकाइरहन्छ। के म पनि मनमाया हुँ त? के म सुनिता जस्तै छु त ? हैन, कि म पार्वती जस्ती छु ? आफूले आफैंलाई प्रश्न गर्दै मैले यी कथा पढेँ।

कथा पढ्दै जाँदा लाइट बाल्ने केटो कथामा एउटा कुरा खड्केको थियो। लाइट बाल्ने केटा जब चोर भएर निस्किन्छ र उसकै घरमा चोरी गर्छ तब मरुन्जेल पिटाइ पाएको चोरले पछि चिया खुवाएर पैसा दिएर पठाएको कुरा पचाउन अलि गाह्रो पर्छ। त्यस्तै केही पृष्ठमा भाषिक र व्याकरिणक त्रुटिहरू छन्। ती फाटफुट भेटिएका हुन्। एउटै कथामा धेरै कुरा छन् तर कहीँ कतै पनि ती धेरै कुरा ‘धेरै भएका’ भन्ने लाग्दैन। किनकि, ती पात्रमा आफूलाई सहजै समाहित गर्न सकिन्छ। घटना पचाउन सकिन्छ। अनि कथा सकिँदै गर्दा पात्रको ह्याङओभर बाँकी नै रहन्छ। जसले फेरि नरोकिई अर्को कथा पढ्न प्रेरित गरिरहन्छ। भाषा शैली र शिल्प हेर्दा लाग्छ, नवलेखक दुर्गाले आफूलाई सशक्त लेखकको चिनारी यही संग्रहबाट दिइसकिन्। स्पष्ट छ यो किताबबाट दुर्गाको नेपाली साहित्यमा धमाकेदार इन्ट्री भइसक्यो।

यद्यपि, पहिलो कृति नै यति गहकिलो भएपछि लेखकका लागि भने यो चुनौतीको विषय जरुर बनेको छ। अबका कृतिमा यही होइन योभन्दा पनि बलियो र बेग्लै छाप छोड्न सक्नु झन् महत्वपूर्ण हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.