‘खण्डित स्वप्न’को सकस
महिलाहरूले जब ‘छोरा त जन्माउनै पर्छ’ भन्थे। म सोच्थेँ— ‘महिलाका शत्रु महिला’ नै हुन्छन्। तर भ्रम भंग भएपछि थाहा भयो महिलाका शत्रु महिला हुँदैन।
दुई दशकभन्दा अलि अघिको कुरा हो, आफ्नो बिहेपछिको पहिलो दसैं मान्न म नयाँ घर झापा, शनिश्चरे पुगेकी थिएँ। घरमा बुवा (ससुरा)को क्लिनिक थियो जहाँ बिहानदेखि बेलुकासम्म बिरामीको घुइँचो हुन्थ्यो। उपचारका लागि बिरामी र स्वास्थ्य परीक्षण तथा बच्चा जन्माउन त्यहाँ गर्भवती महिला पनि आउँथे। बच्चा जन्मिएको केही घण्टामा नवजात शिशुलाई काखमा बोकेर सुत्केरीहरू रिक्सा वा बयलगाडामा बसेर आफ्नो घर फर्केको देख्दा अचम्म लाग्थ्यो। गाउँघरको रहनसहन, तौरतरिका मेरा लागि एकदम नौलो र रोचक थियो।
एक दिन यस्तो घटनाको प्रत्यक्षदर्शी हुन पुगेँ, जसले मलाई आजको दिनसम्म नमीठो अनुभूति गराउँछ। नजिकै गाउँको एउटा हुनेखाने घरकी बुहारीलाई सुत्केरी व्यथा लागेर क्लिनिकमा ल्याएको देखेँ। एक हूल परिवारका सदस्य पनि उनीसँग आएका थिए। प्रसव पीडाले रुँदै गरेकी गर्भवतीलाई बिस्तारै गोरुगाडाबाट ओरालेर क्लिनिकको कोठाभित्र लिएर जाँदा उसका परिवारजन बाहिर चौरमा बसेर बच्चा जन्मेको खबर सुन्न व्यग्र थिए। ती बाहिर बसेका परिवारका महिला र पुरुष देख्दा लाग्यो ‘बुहारीलाई कति माया गर्दा रहेछन्।’
निकै समयपछि कोठाबाहिर निस्केर बुवाले छोरी जन्मेको समाचार दिँदै भन्नुभयो, ‘सालनाल बेरिएको रहेछ। एकछिन ढिलो भएको भए बच्ची बाँच्दिन थिई। सुत्केरी कमजोर छ, दूध ल्याएर खुवाउनुस्।’ त्यसपछि बुवा अन्य बिरामीको उपचारमा लाग्नुभयो। छोरी जन्मेको समाचार सुन्नासाथ चौरमा रुवाबासी सुरु भयो। डाक्टर अक्षम रहेको आरोप लगाउँदै एउटा वृद्ध पुरुष जंगिन थाल्नुभयो, ‘यो डाक्टरले पहिला पनि छोरी नै जन्मायो। अहिलेको पालि पनि छोरी नै जन्मायो ? सिलिगुडी लगेका भा, त्याँका डाक्टरले छोरा जन्माउँथ्यो।’
उहाँ जंगिएको देखेर उनका परिवारका महिलाहरू डाँको हालेर रुन थाले। एकैछिनमा त्यहाँ भीड जम्मा भयो। ‘हामी डिलिभरीको पैसा दिन्नौं। हामीलाई यो छोरी र बुहारी पनि चाहिएन’ भन्दै नवजात छोरीको अनुहारसम्म नहेरी, सुत्केरीको खोजखबर नगरी उनीहरू गोरुगाडामा बसेर हिँडे।
मेरो लागि त्यो घटना अकल्पनीय थियो। ती अपरिचित सुत्केरीप्रति गरेका उनका परिवारको अमानवीय हर्कत मेरो लागि असह्य र घृणित थियो। भर्खर आँखा खोलेकी शिशुले जन्मिनेबित्तिकै लिंग विभेदको सामना गर्नु पर्यो। नौ महिनासम्म गर्भमा हुर्काएको भ्रूण छोरीको रूपमा जन्मिँदा आमा र छोरीको के दोष ? धेरै दिनसम्म त्यस घटनाले उद्वेलित बनायो। ती सुत्केरीको मनस्थिति कस्तो रह्यो होला— रिस, डर, त्रास, अपमान, आक्रोश, असहाय, कमजोर, सारहीन ! ती सबै सम्झिँदा म आक्रोशित हुन्थेँ भने बुवाले त्यसलाई सामान्य रूपमा लिएको देख्दा एकदम आश्चर्य पनि लागेको थियो। सायद क्लिनिकमा यस्ता घटना सामान्य थिए।
त्यस दिन हाम्रै घरबाट उनको लागि खानाको व्यवस्था गरियो र उनका माइती परिवारलाई खबर गरियो। उनकी आमा आएर उपचारमा लागेको खर्च तिरिन् र छोरी र नातिनीलाई रिक्सामा हालेर माइत लिएर गइन्। उपन्यासहरू र हिन्दी फिल्ममा छोरा जन्मेको उल्लासलाई ‘बधाई हो, बेटा हुआ है’ देखि लिएर छिमेकमा मिठाई बाँडेका, बन्दुक पड्काएर खुसी जाहेर गरेका जस्ता वर्णन थुप्रै चोटि पढेकी र देखेकी थिएँ। तर छोरी जन्मेपछि यो स्तरको अवहेलना प्रत्यक्ष देखेको पहिलो चोटि थियो। सुनेकी थिएँ, छोरी जन्मायो भने गाउँघरमा बुहारीलाई भरपेट खाना पनि दिन्नन्, तर सुनेका ती सबै कुरा काल्पनिक लाग्थे। अझै पनि त्यो अपरिचित सुत्केरीलाई सम्झिँदा थुप्रै प्रश्न मनमा खेल्न थाल्छन्। के उनको परिवारले पछि उनलाई स्वीकार्यो होला ? त्यो छोरी बाँची होली ? आफू जन्मेको दिन परिवारले उनलाई छाडेर गएको कुरा सुन्दा त्यो छोरीको मनमा कस्ता कुरा खेल्छन् होला ?
काठमाडौंको एउटा क्लिनिकमा जब मेरी जेठी छोरीको जन्म भयो, छोरीका बुवा र सानीआमाले उसलाई काखमा बोक्न तँछाडमछाड गरेको देख्दा झापामा देखेकी ती अपरिचित सुत्केरीको दाँजोमा मैले आफूलाई ‘भाग्यमानी’ ठानेँ। छोरी जन्मेको दोस्रो दिन बुवा (ससुरा) बैंककबाट फर्किनुभएको थियो। घर फर्किंदा उहाँ अचानक घरमा नातिनी हेर्दा अचम्म हुनुहुन्छ सोचेर हामीले उहाँलाई छोरी जन्मेको खबर सुनाएका थिएनौं। तर बुवालाई सरप्राइज दिने सोचेका हामी आफैं नराम्रोसँग सरप्राइज भएका थियौं जब सुटकेस खोलेर बुवाले नातिनीका लागि दुइटा फ्रक निकाल्नुभयो। उहाँले सपनामा नातिनीसित निकै गफ गरेको सपना देखेर फ्रक किन्न गएको कुरा निकै पछिसम्म सुनाउनु हुन्थ्यो।
छोरीको जन्मले घरमा जति उत्साह र उमंग भित्रिएको थियो, छोरी र मलाई भेट्न आउने केही आफन्तका सान्त्वनाका शब्द त्यति नै मुटु कोपर्ने खालका थिए। ‘यसपालि घरमा लक्ष्मी आइन्। पीर नगर्नु, अर्को पालि छोरा नै हुन्छ।’
कुलीन परिवारकी सुसंस्कृत बुहारीको अभिनयकी बन्दी भएको बेला मुखभरिको जवाफ आए पनि जवाफ दिन सक्ने आँटको कमीले गर्दा नक्कली हाँसोले टार्थे। काठमाडौंमा सुनिएका छोरीद्वेषी शब्दआडम्बरका विपरीत झापाका आत्मीय महिलाहरू ठाडै भन्थे, ‘विचरा, डाक्टरसाबको एउटै सन्तान छोरा छ। वंश चलाउन नाति त चाहिने हो।’
‘अर्को वर्ष त छोरा नै पाउन पर्छ।’
‘इन्डिया गएर फलानो डाक्टरलाई जँचाउनु। उसले छोरा र छोरी हेरेर पहिला नै भन्छ।’
केही वर्षपछि जब कान्छी छोरीको जन्म भयो, त्यसपछि टाढाका आफन्तले सहानुभूतिको भारी बोकाउन थाले। ‘छोरा नभई हुँदैन’ भन्ने फैसला बहुमतले पास गरे। प्रायःजसो झापा जाँदा दुइटा छोरीलाई घर बाहिरको चौरमा खेलेको देख्ने बित्तिक्कै सार्वजनिक अपराध गरेको अपराधीसरह जसले पनि प्रश्न सोध्न थाले।
‘कतिजना छर्छरी ? ’
‘लौन, दोईवटी छोरी ? ’
‘छोरा किन नपाको ? ’
‘डाक्टरको पनि एउटै सन्तान। डाक्टरको वंश त अब नचल्ने भो।’
‘हाम्रा पालाँ छोरी छोरी जन्माउँदा त कान्छी भित्र्याउँथे।’
‘छोरीको जन्म, हारेको कर्म।’
‘माइतीपट्टि दाजुभाइ छैनन् ? छोरीछोरी घरका छोरी ब्याहुँदा छोरी नै जन्माउँछन् !’
छोरी जन्माएको अभियोग छोरीको बुवालाई भन्दा आमालाई बढी लगाइन्छ। काठमाडौंका चाडपर्व, बिहे र भोजको अवसरमा कानेखुसी गरेर ‘छोरा पाउनैपर्छ’ भनिन्थ्यो भने गाउँ जाँदा त हाक्काहाक्की नै भनिन्थ्यो। प्रायः सासू उमेरका महिलाका ‘नातिको अनुहार’ हेर्ने लालसाको अभिव्यक्तिको अघि मेरा तर्कहरू अर्थहीन हुन्थे। पुत्रमोहको अभिव्यक्तिले एकातिर छोरीको अस्तित्व नकार्छ भने अर्कातिर त्यही सुन्दा सुन्दा छोरीहरूको मनमा हीन भावना पनि जगाउन सक्छ। त्यसैले छोरीहरूले यस्ता कुरा सुन्न नपरोस् भन्नेमा सञ्जीवजी र म सजग थियौं तर उनीहरूलाई ती कुराबाट जोगाउन सम्भव थिएन।
लिंग विभेदको व्यवहार म आफू छोरी हुँदा भोगेकाले म छोरीहरूको भावनाप्रति बढी संवेदनशील थिएँ। दाजुभाइको माझमा हुर्केकेले मलाई समाजमा रहेको छोराप्रतिको अनुराग बुझ्न नारीवादका ठेली पढ्नुपर्ने आवश्यकता थिएन। अपेक्षाकृत खुकुलो पारिवारिक ‘स्पेस’मा हुर्केको अनुभव रहे पनि वयस्क हुँदा जब मैले आफ्नो खुम्चिँदै गरेको ‘स्पेस’का लागि आवाज उठाएँ, लाग्यो घरभित्रको विभेद निराकरण गर्न सकियो भने घरबाहिरको संसारमा स्वतन्त्र उडान भर्न सजिलो हुन्छ। तर छोरीलाई तिरस्कार गर्ने अभ्यास घर, परिवार, टोल, समुदाय र राज्यका कुन्ना कन्दरासम्म फिँजिएको छ भन्ने कुरा कहाँ थाहा थियो र ? विशेष गरेर महिलाहरूले जब ‘छोरा त जन्माउनै पर्छ’ भन्थे, म सोच्थेँ— महिलाका शत्रु महिला नै हुन्छन्। तर भ्रम भंग भएपछि थाहा भयो— महिलाका शत्रु महिला हुँदैनन्। महिला त पितृसत्तात्मक व्यवस्थालाई दिगो राख्न चालिएका गोटी मात्र हुन्।
पितृसत्तात्मक संरचनामा बाँचेका महिलाहरूले बुझेका छन्— हाम्रो समाज छोरीहरूका लागि अनुदार छ। ‘हामी छोरीलाई माया गर्छौं’ भनेर तर्क गर्नेहरू बिर्सन्छन्, छोरीलाई आफ्नो जीवनबारे स्वनिर्णयको अवसर छैन। आत्मस्वावलम्बी हुने अवसरको कमी छ। यौनचाहना अभिव्यक्तिमा प्रतिबन्ध छ। उनीहरूका लागि घरबाहिर र घरभित्रको वातावरण हिंसारहित र भयमुक्त छैन। आफ्नो चौतर्फी विकास गर्ने वातावरण छैन। यस्तो स्थितिमा छोरीको जन्म परिवारको खुसीको कारण कसरी बन्न सक्ला !
देशका धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सोचअनुसार आज जन्मेकी छोरी भोलिकी जैविक प्रजननकर्ता मात्र हो। ऊ एउटा अपूरो र निरीह अस्तित्व मात्र हो। किनकि धर्मग्रन्थको व्याख्याअनुसार मृत्युसँग सम्बन्धित कर्मकाण्ड पूरा गर्न र वैकुण्ठमा ठाउँ रिजर्भ गराउन छोरा आवश्यक छ। इतिहासका पानाहरू पुरुषका पुरुषार्थगानले भरिएका छन्। वीर पुरुष आफ्नो कर्ममा विफल भयो भने कारण महिला देखाइएको छ। राष्ट्रवादी भाष्यमा मातृभूमि र मातृभाषा जस्ता शब्दको (दुरु)प्रयोग पितृसत्ताको वैधताका लागि गरिएको छ। किनकि (स)पूत नभई मातृभूमिको रक्षा हुन सक्दैन। राष्ट्रवादी व्याख्यानुसार आमाको रक्षा गर्न पुत्र सहिद हुन पनि पछि पर्दैन। जहाँ मातृभूमिको रक्षाका लागि छोराको जन्म आवश्यक छ, त्यही छोरी अपूर्णता र विफलताको प्रतीक मानिन्छ। राष्ट्रवादी भाष्यमा नै पुत्रमोहले ओतप्रोत छ भने त्यसको दाँजोमा केही महिलाले गरेका छोरीद्वेषी टिप्पणीलाई कम घातक मान्न पर्छ। किनकि देशको राजनीतिले नै यस्ता विचारलाई प्र श्रय दिएको छ। उदाहरणका लागि राजनीतिलाई नेतृत्व गर्न, देशहरूबीच दौत्य सम्बन्ध बनाउन, सन्धि गर्न, शान्तिवार्ता गर्न, युद्धको घोषणा गर्न, नियमकानुन बनाउन, उद्योग र वाणिज्यलाई नेतृत्व गर्न, बौद्धिक बहसमा भाग लिन, शीर्षस्थ पदको गरिमा बढाउन जस्ता काममा पुरुष नै चाहिन्छ भन्ने भ्रम छ। किनकि महिलाको नाम प्रस्तावित हुने बित्तिक्कै उसको क्षमतामा प्रश्न उठ्छ। ‘अक्षमता’को ट्यागलाई सत्य मानेका महिलाहरूका लागि छोरीको जन्म पनि विफलताको प्रतीक बन्न पुग्छ। किनकि उनीहरूले बाँचेको, भोगेको र देखेको समाज नै शिश्नमोहले ग्रसित छ। आमाको नामबाट दिइने नागरिकताको आधार नै त्यही मानसिकताको परिणाम हो।
छोरा जन्माएकी सुत्केरी र छोरी जन्माएकी सुत्केरीका अनुभव, आवाज, एजेन्सी, सब्जेक्टिभिटी, परिवारले गरेको हेरचार र स्याहार सम्भार (जनजाति र आदिवासी अपवादबाहेक)का हरस्टोरी’ र सामूहिक दृष्टान्तमा केही समानता र केही विरोधाभास होलान्। तर, छोराकी आमा हुनु, छोरा र छोरीकी आमा हुनु र छोरी छोरीकी आमा हुनुको मातृत्व अनुभव हायार्की र जेन्डरको राजनीतिबाट मुक्त नहोला। किनकि राष्ट्रवादी आचार र विचारले नै शिश्न श्रेष्ठतामा आधारित छ भने छोरीको जन्मलाई ‘हारेको कर्म’ मान्ने जमात देखेर के आश्चर्य ! नातिनी जन्मेको खबर सुनेर सुत्केरीलाई क्लिनिकमा छाडेका परिवारको त्यो घटना पनि त राष्ट्रवादी विचारधाराबाट अछूतो होइन। बहुसंख्यक महिलामा रहेको पुत्रलालसा प्राकृतिक नभएर लिंग उपासनाबाट निर्मित सोचको परिणाम हो। किनकि जहाँ महिलाको एजेन्सी अमान्य हुन्छ, त्यहाँ आमा हुने वा नहुने रोजाइ महिलाको हुँदैन। र पितृसत्तात्मक व्यवस्थामा मातृत्व अनुभवभन्दा पनि छोरा जन्माउने संस्थाका रूपमा स्थापित भएको हुनाले छोराको जन्मको उत्सव हुन्छ। छोरा जन्मिँदा मातृत्व सार्थक मानिन्छ।
आफ्नो पुस्तक नेसलिज्म, जेन्डर एन्ड द न्यारेटिभ अफ आइडेन्टिटिमा आर राधाकृष्णनन् लेख्छन्— राष्ट्रवादी भाष्यमा जब महिलासित सम्बन्धित मुद्दा शान्ति र विकासका बेला ‘डिपोलिटिसाइज’ हुन्छन्, र चुनाव र संघर्षका बेला ‘रिपोलिटिसाइज’ हुन्छन् भने त्यस्ता राष्ट्रवादी आडम्बरमा नारी परिचय खण्डित स्वप्नभन्दा बढी हुँदैन। एउटा आदर्श समाजमा नारी परिचय पूर्ण परिचय होला र नारी शरीर छोरा जन्माउने भाँडो हुँदैन होला। त्यहाँ मातृत्व विषय नारीको स्वनिर्णय र स्वरोजाइले निर्देशित हुन्छन् होला ! तर जबसम्म महिला स्वयंले सत्वमीमांसा (अन्टोलजिकल) र ज्ञानमीमांसा (इपिस्टोमोलजिकल)का ग्रन्थहरू लेख्दैनन्; आफ्नो इतिहास, आफ्नो अनुभव, आफ्नो सत्य र आफ्नो पूर्ण अस्तित्वको दाबी गर्दैनन्, लेख्दैनन्, बोल्दैनन्, तब छोरीहरू ‘खण्डित स्वप्न’मा खुम्चिन बाध्य हुन्छन्। जबसम्म राज्यव्यवस्थामा महिलाका मुद्दाले प्राथमिकतामा पाउँदैनन्, महिलालाई समान दर्जाको नागरिक मानिँदैन, भयमुक्त र हिंसामुक्त वातावरण बनाउन पहल हुँदैन, राजनीतिमा सम्मानपूर्ण सहभागिता हुँदैन, तबसम्म छोरीको जन्मलाई, ‘हारेको कर्म’ भन्नेहरूको मानसिकता परिवर्तन हुँदैन।