कोरोना भाइरस : त्रास नफलाऔं, सावधानी अपनाऔं
काठमाडौं : सांसदहरूले कोरोना भाइरसबारे अनावश्यक त्रास फैलाउनुभन्दा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। त्रासका कारण बजारमा खाद्यान्न अभाव हुन थालेको, कालोबजारी बढेको, औषधि लुकाउन थालेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेस सांसद गगन थापाले कोरोनाविरुद्ध राष्ट्रिय संकल्पका साथ अघि बढ्नुपर्ने भनी प्रतिनिधिसभा बैठकमा आइतबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए। त्यसबारे छलफलमा सहभागी सांसदले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सम्भावित परिस्थितिको सामना गर्ने सामथ्र्यसहितको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गरे।
सांसद थापाले इरानमा जस्तो एकैपटक सयौंमा कोरोना संक्रमण देखिए के गर्ने भनी प्रश्न गरेका थिए। विश्व स्वास्थ्य संगठनले भौगोलिक बनावटका कारण मात्र नभई खुला सीमा, चेकजाँचको शैली र मुलुकको क्षमताका कारण नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको उनको भनाइ थियो। थापाले ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्नेजस्ता प्रश्नहरू सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकोले’ भन्ने प्रस्ताव पेस गरेका हुन्।
नेकपाका भीम रावलले अस्पताल र उपचार सेवाको पूर्ण प्रबन्ध गर्न, भीडभाड हुने क्षेत्र र विदेश आउजाउ हुने स्थानमा परीक्षणको राम्रो व्यवस्था मिलाउन सरकारसँग माग गरे। जनतामा मनोवैज्ञानिक आतंक मच्चिँदा बजारमा अत्यावश्यक वस्तुको अभाव देखिन थालेको उनको भनाइ थियो।
कांग्रेसका दिव्यमणि राजभण्डारीले औषधि, मास्कजस्ता अत्यावश्यक वस्तु लुकाउने र कालोबजारी गर्नेलाई जेल हाल्नुपर्ने बताए। यस्ता सामग्री उत्पादन गर्ने उद्योगलाई तत्कालै लाइसेन्स दिएर काम गर्न दिनुपर्ने उनको भनाइ थियो।
प्रस्तावको समर्थन गर्दै नेकपाका खगराज अधिकारीले कोरोनाबारे सतर्कता अपनाउनुपर्नेमा आतंक मच्चाइएको धारणा व्यक्त गरे। नाकामा कडाइ गर्ने र अस्पताललाई सुरक्षित बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो।
कांग्रेसका डा. नारायण खड्काले कोरोनाको भयावह रूप कल्पना गर्न सकिने स्थिति नभएको उल्लेख गर्दै उच्च सतर्कता अपनाउनुपर्ने बताए। कोरोना त्रासका कारण बजारमा सामानको मूल्य बढ्न थालेको, खाद्यान्न अभाव भइरहेकामा उनले सरकारको ध्यानाकर्षण गराए।
नेकपाका जीवनप्रेम श्रेष्ठले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गरी जनतालाई आश्वस्त बनाउन सरकारसँग माग गरे। नेकपाकी धर्मशिला चापागाईंले कृत्रिम अभाव देखाउनेलाई कारबाही गर्नुपर्ने बताइन्। कांग्रेसकी पुष्पा भुसालले कोरोना भाइरस भित्रिन नदिन सचेतना फैलाउनुपर्नेमा जोड दिइन्।
जवाफमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीनवटै तहबीच समन्वय गरेर कोरोना भाइरस भित्रिन नदिन आवश्यक पहल भइरहेको बताए। बजारमा भएको कृत्रिम अभाव अन्त्य गर्न र भाइरसलाई भित्रिन नदिन सरकारले प्राथमिकतासाथ काम गरिरहेको उनको भनाइ थियो।