‘अब सकभर प्रधानमन्त्री ओलीको मिर्गौलाले दुःख दिँदैन’

‘अब सकभर प्रधानमन्त्री ओलीको मिर्गौलाले दुःख दिँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको निजि चिकित्सक तथा प्रमुख, नेफ्रोलोजी विभाग, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. दिव्यासिंह शाहसँग अन्नपूर्णले गरेको कुराकानी ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?
उहाँको स्वास्थ्यमा अपेक्षाअनुसारै क्रमिक सुधार भइरहेको छ। उहाँलाई आज ( शुक्रबार)देखि त बिस्तारै हिँडडुल गराउन थालेका छौं। ठोस आहार खान पनि दिएका छौं।

उहाँले आगामी दिनमा के कुरामा सावधानी अपनाउनुपर्ला ?
तुरुन्तै केही समस्या छैन। मिर्गौलाले राम्रोसँग काम गर्न थालेको छ। समस्या हुने सम्भावना न्यून छ। संक्रमणबाट बच्नुपर्छ।

डिस्चार्जपछि उहाँले के-के गर्नुपर्ने हुन्छ ?
एक महिनासम्म त गम्भीरतापूर्वक फलोअप गर्नुपर्ने हुन्छ। त्यसपछि उहाँले खानपान र शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। त्यसबाहेक संक्रमण भएका व्यक्तिसँग नजिक बस्नुहुँदैन। अन्य काम पनि सावधानी अपनाएर गर्न सक्नुहुन्छ।

सहज रूपमा दैनिकी चलाउन के कुरामा ध्यान दिनुपर्छ ?
उहाँले दिनचर्यालाई अलि अनुशासित बनाउनुपर्छ। समयमा खानुपर्छ, सुत्नुपर्छ। औषधि नियमित सेवन गर्नुपर्छ। क्लिनिकल परीक्षण गर्नुपर्ने हुन्छ। यी कुरामा विशेष सावधानी अपनाउनुपर्छ। उहाँले पहिलादेखि गरिरहेको कुरा भएकाले त्यति समस्या नहोला। थप सावधानी अपनाउनुपर्ने अवस्था छैन।

प्रधानमन्त्रीले स्वदेशमै प्रत्यारोपण गर्नुको कारण के होला ?
उहाँका शुभेच्छुकले मिर्गौला प्रत्यारोपण नेपालमा गर्ने कि बाहिर (विदेश) भनेर सोध्नुहुन्थ्यो। बाहिर रहनुभएका महामहिम राजदूतहरूले पनि समन्वय गर्छौं भनिरहेको अवस्था थियो। उहाँको परिवारको इच्छा भने नेपालमै प्रत्यारोपण गर्ने भन्ने थियो। प्रधानमन्त्रीज्यूले निर्णय गर्न बाँकी थियो। बाहिर र यहाँ प्रत्यारोपण गर्दाका फाइदाबारे मैले पनि सल्लाह दिएकी थिएँ। जहाँ गर्दा पनि हुन्छ, राम्रो हुनुपर्‍यो भन्ने थियो। एकपटकको अप्रेसन मात्र नभएर हामीले नियमित रूपमा मनिटर गर्नुपर्ने हुन्छ।

नेपालमै प्रत्यारोपण गर्ने कि बाहिर भन्ने निर्णय गर्नुपर्ने थियो। यहाँ पनि प्रत्यारोपण गरेको लामो अनुभव छ। ६ सयभन्दा बढीको प्रत्यारोपण गरिसकेको र सफल भएकाले त्रिवि शिक्षण अस्पतालमै प्रत्यारोपण गर्दा राम्रो हुन्छ भनेर मैले सुझाव दिएकी हुँ। निर्णयचाहिँ प्रधानमन्त्रीज्यूलाई नै छाडेकी थिएँ। अन्य विकल्पसमेत दिएकी थिएँ। अन्त्यमा नेपालमै प्रत्यारोपण गर्ने तय भयो।

मिर्गौला दाता समीक्षा संग्रौलाको अवस्था कस्तो छ ?
मामालाई कस्तो छ भनेर सोधिरहनुहुन्छ। बेहोसीमै पनि मामाको स्वास्थ्य कस्तो छ भनेर सोध्नुहुन्थ्यो।

मुलुकको कार्यकारी प्रमुखको प्रत्यारोपण स्वदेशमै गराउन सफल हुनुभयो। यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?
ठूलो चुनौती थियो। नेपालका चिकित्सकले प्रत्यारोपण गरिरहे पनि अझ बढी सावधानी अपनाउनुपर्ने थियो। प्रधानमन्त्रीज्यूको पहिलो प्रत्यारोपण गरेका चिकित्सकलाई बोलाउनुपर्ने आवश्यकता थियो। त्यो बेलाको अवस्था जानकारी लिन महत्‍वपुर्ण थियो। त्यो बेला जटिलता भएको थियो कि थिएन? कस्ता औषधि दिइएको थियो भन्ने पनि जान्नु थियो। यसबारे छलफल गरेका थियौं। त्यहीअनुसारले शल्यचिकित्सक र नेफ्रोलोजिस्ट बोलाउने निर्णय गरेका हौं। उहाँहरूको सहयोगमा नेपाली चिकित्सकले प्रत्यारोपण गर्नुभयो।

आगामी चुनौती के छ ?
एउटा चुनौतीपूर्ण कार्य सफल भएको छ। आगामी दिन पनि चुनौतीपूर्ण छन्। हामीले गर्न नसक्ने भन्ने छैन। हामीले सावधानी अपनायौं भने धेरै जटिलता आउँदैन होला। नेपालमै प्रत्यारोपण गरेका कारण नजिकबाट मनिटरिङ गर्न सक्छौं। स्वदेशै रोज्दा एकदमै राम्रो सन्देश गएको छ। नेपालमा मिर्गौला सम्बन्धमा राम्रो उपचार हुन्छ। उपचारकै लागि विदेश जानुपर्दैन भन्ने सन्देश दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.