मन्त्रालयको निर्देशन अवज्ञा गर्दै विद्यालय
दोलखा : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनलाई एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले अवज्ञा गरेको छ।
चैत ५ गते परीक्षा सम्पन्न गर्ने सरकारी निर्देशन अवज्ञा गर्दै एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको हो। कक्षा ८ बाहेक दोलखा जिल्लामा निजी ताथा सामुदायिक विद्यालयको कक्षा १-९ को परीक्षा सञ्चालन गर्ने ३ वटा समिति भए पनि दुई वटा समितिले सरकारको निर्देशनको अवज्ञा गरेका हुन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका अध्यक्ष हीरा थोकरले सरकारको निर्देशनअनुसार परीक्षा सञ्चालन गर्न नसक्ने समितिले परीक्षा सारेको नाटक गर्नुको औचित्य नरहेको बताए। विश्वभर कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गइरहेको परिवेशमा आवश्यक सतर्कता अपनाउन जारी गरेको समयसीमाको निर्देशनलाई समितिले अवज्ञा गरेको हो।
तर, पूर्वी दोलखाको उस्तै हैसियतको जिरी नगरपालिकास्तरीय परीक्षा समितिले भने सरकारको निर्देशन पालना गर्दै फागुन २७ गतेबाट परीक्षा सञ्चालन गरी चैत ५ गते सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको छ। जिरी नगरपालिकास्तरीय परीक्षा समितिले यसअघि चैत ६ गतेबाट तय गरेको परीक्षा सारेर फागुन २७ गतेबाट सञ्चालन गर्ने तालिका सार्वजनिक प्राप्त भएको शिक्षक चन्द्रकुमार खड्काले जानकारी दिए।
चैत १० गतेबाट तय गरिएको परीक्षा तयारी नपुगेकाले चैत १ गते शनिबारबाट सञ्चालन गर्ने गरी सारिएको एकीकृत विद्यालयस्तरीय परीक्षा समितिका अध्यक्ष रामबहादुर शिवाकोटीले जानकारी दिए। अध्यक्ष शिवाकोटीले भने, ‘तयारी नै नपुगेपछि कसरी सञ्चालन गर्न सकिन्छ परीक्षा।’ निजी विद्यालयको छाता संगठन एनप्याब्सनले पनि सरकारको निर्देशन अवज्ञा गरेको छ। फागुन ३० गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको एनप्याब्सन दोलखाका संयोजक उपेन्द्र अधिकारीले जानकारी दिए।